१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायी भन्छन्: ‘दशैं आयो तर व्यापार छैन’



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको लागि विगतको तुलनामा किनमेल गर्ने ग्राहक २५ प्रतिशत पनि नआएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

दशैँ लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजार असन,न्युरोड,महाबौद्ध,भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको भीड हुने भएपनि अहिले बजार सुनसान छ । विगतका वर्षहरुमा जस्तो यस वर्ष पनि आर्थिक मन्दीको कारण व्यापारमा उत्साह नदेखिएको व्यापारीहरुले बताए । उनीहरुले दशैँ नजिक अविरल वर्षाको कारण मुलुकभर आएको बाढी पहिरो जस्ता विपत्तिले व्यापार व्यवसायीमा थप संकट ल्याएको बताएका छन् । दशैँ लागेसँगै बजारमा ग्राहकको भीडभाड बढ्ने र व्यापार वृद्धि हुने व्यवसायीहरुको आशा निरासामा परिणत भएको छ । दशैँ लागेसँगै बजारमा ग्राहकहरु बढ्ने र व्यापारीहरुलाई केही राहत मिल्ने आशा भएपनि बाढी पहिरोका कारण बजार थप प्रभावित भएको गुनासो गरे ।

व्यापारीहरुले विगतका वर्षहरुमा सोही समयमा हुने सतप्रतिशत व्यापारको अहिले २५ प्रतिशत पनि व्यापार हुन नसकेको भन्दै व्यापार व्यवसाय दयनीय अवस्थामा पुगेको उल्लेख गरे । बजारमा आर्थिक मन्दीको प्रभाव तथा ग्राहकहरुको क्रय शक्ति कमजोर र सक्रिय उपभोक्ता विदेश पलायन भएकाले पनि विगतको तुलनामा व्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ छ । उनीहरुले दशैँ लागेसँगै व्यापार बढ्ने केही आश भएपनि बाढी पहिरो जस्ता विपत्तिको कारण बजारमा ३० प्रतिशत भन्दा बढी व्यापार नहुने आँकलन रहेको बताए । सरकारको नीति ,बैंकको ब्याज,घरभाडा वृद्धि तथा सरकारले लगाउने करमा वृद्धि भएकाले बजारमा सामानको मूल्य पनि विगतको तुलना वृद्धि भएको बताए । उनीहरुले आर्थिक मन्दीले ग्राहकहरुको क्रयशक्तिमा कमी आएको अवस्थामा सामानको मूल्य वृद्धि हुँदा पनि सामान बोच्न व्यवसायीहरुलाई समस्या भएको बताए ।

नेपाल राष्ट्रिय व्यापार महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले यस वर्षको दशैँ व्यवसायी र आम नागरिकको लागि दशाको रुपमा देखापरेको बताउनु भयो । उहाँले अहिले मुलुक नै व्यापार व्यवसाय भन्दा पनि बाढी पहिरो र प्राकृतिक प्रकोपको चपेटामा परेकाले यस वर्षको दशैँमा रौनक नभएको बताउनु भयो । उहाँले विगतको तुलनामा ७५ प्रतिशत व्यापारमा कमी आएर २५ प्रतिशत पनि व्यापार नभएको अवस्थामा बाढी पहिरोको कारण शिथिल बनाएको बताउनु भयो । उहाँले मुलुकका सक्रिय युवाहरु विदेश पलायन भएकाले पनि बजारमा व्यापारमा कमी आएको बताउनु भयो । उहाँले बाढी पहिरोको कारण काठमाडौं उपत्यकाबाट देशभर जाने सडक मार्गहरु बन्द भएकाले होलसेल व्यवसायीहरुलाई थप समस्या भएको बताउनु भयो ।

संस्थापक अध्यक्ष कटुवालले बजारमा बैंकिङ समस्या र सरकारको कर नीति लगायतको कारण दशैँमा बजार चलायमान हुने अवस्था नदेखिएको बताउनु भयो । उहाँले व्यापार व्यवसाय विगतको तुलनामा रौनक नदेखिएको भन्दै व्यवसायीहरुमा दैनिक निराशा छाएको बताउनु भयो । उहाँले भन्सार दरदेखि स्थानीय कर,घरभाडा,ढुवानी समेत बढेको हुँदा बजार मूल्य पनि बढेर उपभोक्ताको हैसियत भन्दा माथि बजार मूल्य पुगेको पनि बताउनु भयो । उहाँले उद्योगी व्यवसायीहरु पनि विदेश पलायन हुनुपर्ने सोचमा पुगेको बताउनु भयो । क्रयशक्ति कम भएकाले दशैँमा मानिसहरुको विगतको जस्तो किनमेलमा उत्साह नदेखिएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,‘दशैंँमा बजार चलायमान हुने देखिएको छैन । बजारमा बैंकिङ समस्या र सरकारको कर नीति लगायतको कारण बजार चलायमान हुन सकेको छैन । दशैँमा बजारमा विगतको जस्तो रौनक छैन । व्यापार व्यवसाय विगतको तुलनामा रौनक देखिएको छैन । कोभिड भन्दा अघिको बजार र अहिले धेरै फरक भएको छ । व्यवसायीहरुमा दैनिक निरासा छाएको छ । लगानी सुरक्षित गर्ने अवस्था पनि छैन । भन्सार दरदेखि स्थानीय कर,घरभाडा,ढुवानी समेत बढेको हुँदा बजार मूल्य पनि बढेर उपभोक्ताको हैसियतअनुसार बजार मूल्य छैन । केही वृद्धि भएको छ । मुलुकमा युवाहरु सबै विदेश पलायन भएकाले पनि बजारमा मानिसहरु छैनन् । उद्योगी व्यवसायीहरु पनि विदेश पलायन हुनु पर्ने सोचमा पुगेका छन् । बजार विगतको तुलनामा २५ प्रतिशतमा सिमित भएको छ । २५ प्रतिशतको व्यापारले सबै कुराहरु धान्दैन । बाढी पहिरोबाट भएको सडक पूर्वाधार सरकारले तत्काल बनाउँदै यात्राको लागि सहज वातावरण बनाउन जरुरी छ ।’

राष्ट्रिय व्यापार संघका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठले दैनिक ७ हजार मानिसहरु विदेश गइरहेकाले नेपालमा कसलाई सामान विक्री गर्ने भन्ने अवस्था आएको बताउनु भयो । उहाँले उपभोग गर्ने युवाहरु श्रम तथा अध्ययनको लागि विदेश जाने क्रमले पनि बजारमा माग बढ्न नसकेको भन्दै बजार २० देखि २५ प्रतिशत मात्रै व्यापार रहेको बताउनु भयो । उहाँले कोभिडपछि शुरु भएको आर्थिक मन्दी यस वर्षको दशैँमा आएर चरम उत्कर्षमा पुगेको देखिएको बताउनु भयो । उहाँले व्यापार नभएर निरासा रहेको व्यवसायीहरुलाई बाढी पहिरोको कारण थप निराशा थपेको बताउनु भयो । पछिल्लो दुई वर्षदेखि निरन्तर रुपमा चाडपर्वमा व्यापार व्यवसायीमा कमी हुँदै आएको भन्दै विगतको तुलनामा यस वर्ष शुन्य अवस्थामा आएको बताउनु भयो । उहाँले यस वर्षको देशैँमा २० प्रतिशत भन्दा बढी व्यापार हुने अवस्था देखिएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘मुलुक नै मन्दीमा छ । कोभिडपछि क्रमश: मन्दी शुरु भएर अहिले चरम बिन्दुमा गएको अवस्था छ । लामो समयदेखि व्यापार चलायमान हुन सकेको छैन । उपभोक्ताको कमीको कारणले पनि बजार चलायमान हुन सकेको छैन । बजारमा उपभोग वृद्धि गर्ने युवा जनशक्ति विदेश पलायन भएको कारण पनि व्यापारमा कमी भएको हो । मानिसहरुको क्रय शक्ति घटेको छ । काठमाडौं बाहिरको व्यापारको अवस्था पनि उस्तै छ । बाढी पहिरोको कारण काठमाडौं नाकाबन्दीको अवस्थामा छ ।’

रञ्जना व्यापार संघका अध्यक्ष हरिप्रसाद पाण्डेले पनि बजार व्यापार २० देखि २५ प्रतिशतमा झरेको भन्दै ७० प्रतिशतले गिरावट आएको बताउनु भयो । उहाँले ७० प्रतिशत व्यापारमा आएको गिरावटले व्यवसायीहरु ठूलो मारमा परेको भन्दै व्यापार व्यवसायीहरुलाई सुरक्षा दिने सम्बन्धमा सरकारले ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले व्यापारको लागि दशैँमा घटस्थापनाका दिनदेखि फूलपातीको दिनसम्म पिक समय मानिने भएपनि अहिले त्यस्तो नरहेको बताउनु भयो । दशैँ लाग्ने दुई हप्ता अघि बजार भिडभाड हुने गरे पनि यो वर्ष सुनसान रहेको बताउनु भयो । उहाँले बाढी पहिरोको कारण मुलुक अस्तव्यस्ता भएकाले थप व्यापारमा जटिलता थपिएको बताउनु भयो । उहाँले दशैँमा बजार चलायमान भएर लगानी उठ्ने सम्भावना नभएको बताउनु भयो । उहाँले भन्सारका दरहरु सरकारले हरेक वर्ष बढाएर आयातलाई सरकारको आम्दानीको रुपमा लिएकाले सामानको मूल्य पनि बढेर आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मुलुक आर्थिक मन्दीको चपेटामा थियो । अहिले थप अविरल वर्षाको कारण दशैँ व्यवसायीहरु लगायत आम नागरिकलाई दशाको रुपमा आएको छ । अहिले आर्थिक चलायमान र व्यापार व्यवसाय सुस्ताएर गएको छ । अहिले बाढीको कारण मुलुक रोकमा छ । काठमाडौंका प्रत्येक नाकाहरु बन्द भएको अवस्था छ । अहिले बजार व्यापार २० देखि २५ प्रतिशतमा झरेको छ । ७० प्रतिशतले गिरावट आएको देखिन्छ । यसले व्यवसायीहरु ठूलो मारमा परेका छन् । व्यापार व्यवसायीहरुलाई सुरक्षा दिने सम्बन्धमा ध्यान दिनुपर्छ ।’

नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले पनि दशैँको समयमा व्यापारमा रमाउनु पर्ने व्यवसायीहरु बाढी पहिरोको कारण समस्यामा परेको बताउनु भयो । उहाँले बाढी पहिरोको कारण तातोपानी र केरुङ नाका जोड्ने सडक बाढीले बगाउँदा धेरै व्यवसायीहरुको सामान नाका र बाटोमा अड्किएर बसेको बताउनु भयो । उहाँले व्यापार गरेर दशैँमा राम्र्रै खाने र राम्रो लगाउने योजना बनाए पनि यो वर्ष खासै उत्साह नभएको बताउनु भयो । उहाँले बाढी पहिरोका कारण व्यापार समेत ठप्प भएकाले राज्यले सहजिकरण तत्काल गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘दशैँको समयमा व्यापारमा रमाउनु पर्ने व्यवसायीहरु बाढी पहिरोको कारण समस्यामा छन् । बाढी पहिरोको कारण तातोपानी र केरुङ नाका जोड्ने सडक बाढीले बगाउँदा त्यहाँबाट सामान आउन ठप्प भएको छ । व्यापार गरेर दशैँमा राम्र्रै खाने र राम्रो लगाउने योजना बनाउने बेला हो । तर बाढी पहिरोका कारण व्यापार समेत ठप्प छ । यस्तो बेला राज्यले सहजिकरण तत्काल गर्न आवश्यक छ ।’

सिभिल व्यापार संघ अध्यक्ष रत्नबहादुर घिमिरेले बजारमा दशैँ अहिलेसम्म नलागेको भन्दै बजार सुनशान रहेको बताउनु भयो । उहाँले आजसम्म बजारमा दशैको चहलपहल नदेखिएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले सिभिल महलका व्यवसायीहरु गेम र टिकटक हेरेर बस्न बाध्य रहेको बताउनु भयो । उहाँले घटस्थापनाका दिनदेखि केही ग्राहक आउने पर्खाइमा रहेको बताउनु भयो । उहाँले दशैँमा केही व्यापारमा सुधार हुने व्यवसायीमा अपेक्षा भएपनि आशातित हुन नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘विगतमा बजारमा भनेको जस्तो समान उपलब्ध हुन नसक्दा समस्या भएको हो । भन्सारका कारण पनि बजारमा समान आउन सकेन । मूल्यवृद्धि हुँदा पनि बजार माग बढ्न नसकेको अवस्था छ । सरकारले भन्सार दर बढाएको कारण २५ प्रतिशतसम्म बजार मूल्य बढेको छ ।’

एकता व्यापार संघका अध्यक्ष तेज आचार्यले पनि विगतका दशैँको तुलनामा यस वर्षको दशैँमा विभिन्न समस्याको कारण १० प्रतिशत पनि व्यापार नहुने अवस्था देखिएको बताउनु भयो । उहाँले ९० प्रतिशत बजार प्रभावित हुने अवस्था बाढी पहिरोका कारणले अनुमान गर्नसक्ने अवस्था आएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले दशैं लाग्नु भन्दा अघिका १० देखि १२ दिनको व्यापारले लगानी उठाउने र ऋण तिर्ने आशा रहे पनि आशा मर्दै गएको बताउनु भयो । उहाँले बजारमा भीड हुने बेला भएपनि कुनैपनि पसलहरुमा ग्राहक नभएको बताउनु भयो । उहाँले अहिलेको अवस्थामा राज्यले सडक पूर्वाधार तत्काल बनाउने र नीतिगत व्यवस्थालाई बलियो बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले व्यापार व्यवसाय नाजुक र दयनीय अवस्था रहेको भन्दै दशैँ नजिकिएसँगै केही व्यापार वृद्धि हुने अपेक्षा हुँदाहुँदै बाढी पहिरोका कारण थप समस्या बनाएको बताउनु भयो ।

न्युरोडका कपडा व्यापारी गणेशप्रसाद दुवाडीले पनि दशैँको मुखमा आएर मुलुकमा बाढी पहिरोको विपद् आएकाले थप बजारमा समस्या आएको बताउनु भयो । उहाँले आर्थिक कारोबार पनि कम भइरहेकाले दशैँ लागे पनि व्यापार व्यवसाय नाजुक अवस्थामा रहेको बताउनु भयो । उहाँले कोभिडको समयलाई हेर्दा पनि त्यसको तुलनामा २० देखि २५ प्रतिशत पनि व्यापारमा कमी आएको बताउनु भयो । उहाँले व्यवसायीहरुले सामान ऋण गरेर आयात गरेको सामान समेत पसलसम्म आउन नसकेर बाटोमा फसेको बताउनु भयो । अर्का व्यापारी रञ्जना महलमा स्टार जिन्सका सञ्चालक संयोग श्रेष्ठले पनि विगतको भन्दा व्यापार स्लो रहेको बताउनु भयो । उहाँले विगतमा १०० प्रतिशत हुने व्यापारमा अहिले २० प्रतिशत पनि व्यापार नभएको बताउनु भयो । उहाँले दशैँको माहोल लाग्ने तरखरमा बाढी पहिरोका कारण बाहिर जिल्लाका व्यवसायीहरु समेत आउन नसक्दा बजार सुनसान देखिएको बताउनु भयो । यता अर्का महाबौद्धका व्यापारी रमेशकुमार अधिकारीले पनि दशैँ नजिकिए पनि व्यापार शुन्य अवस्थामा रहेको बताउनु भयो । उहाँले नयाँ वर्ष लागेसँगै व्यापारमा आएको कमी दशैँसम्म आउँदा ७५ प्रतिशतले कमी आएको बताउनु भयो ।

दशैँमा व्यापार होला भनेर ऋण गरेर समान हालियो तर विगतको तुलनामा ८० प्रतिशत व्यापारमा कमी आएको व्यापारीहरुको गुनासो छ । बजारमा प्रशस्त सामान भएपनि पसलमा आउने ग्राहक नभएको उनीहरुको भनाई छ । व्यापार गरेर बैंकको ब्याज,राज्यलाई कर, काठा भाडा समेत तिर्न नसकिको बताए ।

अनिष मिजार/न्युज एजेन्सी नेपाल