१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता

विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता
अ अ+ अ-

ललितपुर । गोदावारी नगरपालिका–१० को चापागाउँको राधा घिमिरेका लागि अत्यासलाग्दो विपद् टरे पनि खानेपानी धारामा नआउँदाको पीडाले सताएको छ । उहाँ भन्नुहुन्छ, “विपद्बाट त जोगियो, तर चार दिनदेखि धारामा पानी आएको छैन । कसरी गुजारा चलाउने रु” धारामा पानी आइहाल्छ कि भनेर आधा रातमै उठेर हेर्नुहुन्छ, पानी नआएपछि निरास हुनुहुन्छ उहाँ । ट्याङ्कीमा जम्मा भएको पानी पनि सकियो । “कहिलेसम्म नआउने हो रु तनावै गरायो,” उहाँ भन्नुहुन्छ ।

गोदावारी–१० प्याङ्गाउँकै रीता अर्याललाई पनि धारामा पानी नआउँदाको छटपटी उस्तै छ । पानी आउला कि भन्ने आशामा बसेको चार दिन बितिसक्यो । “खानेपानी नहुँदा गुजारा टार्नै गाह्रो हुने भयो, विपद् पीडितहरुको हालत अझै कस्तो होला रु” अर्याल भन्नुहुन्छ । खुमुलटार बस्ने मनमाया गुरुङ उमेरले ७० पुग्नै लाग्नुभयो । छोराबुहारी विदेश छन् । श्रीमान् पनि ७५ वर्ष टेक्नुभयो । बुढ्यौली शरीर । घरमा पानी छैन । बोकेर ल्याउन पनि सक्नुहुन्न । “जारकै पानीले गुजारा चलाएका छौँ, जारको पानी चलाएर कहिलेसम्म पुग्छ र रु”, उहाँ भन्नुहुन्छ ।

हालैको वर्षामा गोटीखेल बाढी, पहिरोका कारण तहसनहस बनेको छ यतिबेला । हराभरा क्षेत्र एक्कासि बगरमा परिणत भयो । यसले गर्दा खानेपानीको स्रोत पनि पुरिएको र समस्या उत्पन्न भएको बताउनुहुन्छ महाङ्ककाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट । “यहाँ हिजोसम्म टेलिफोन सम्पर्क नै भएको थिएन, खानेपानीको पनि उस्तै समस्या छ, न त कतै गएर पानी ल्याउन सक्ने सम्भावना छ, बाटो पनि छैन,” उहाँले भन्नुभयो, “विशेषगरी पहिरोले खानेपानीको स्रोत पुरिँदा चन्दनपुर, मानीखेल, टण्डनपुरवासीलाई समस्या भएको छ ।”

रामेछाप घर भई हाल जडीबुटी बस्दै आउनुभएकी प्रभा श्रेष्ठको धारामा पानी त आएको छ । तर धमिलो छ । “पानी धमिलो छ, छुन समेत घिन लाग्छ कसरी खानु ? पिउनका लागि जारकै पानी प्रयोग गरे पनि कपडा धुन, भाँडा सफा गर्न, नुहाउन पानीको समस्या छ”, उहाँ भन्नुहुन्छ ।

काठमाडौँ थापाथलीस्थित सुकुम्वासी टोलमा बस्ने बलबहादुर मोक्ताङको कहानी पनि उस्तै छ । पिउनसम्म त जारको पानी नै प्रयोग गर्नुहुन्छ तर सबै प्रयोजनका लागि जारको पानी प्रयोग गर्न गाह्रो भएपछि उहाँ धमिलै भए पनि बागमती नदीको पानी प्रयोग गर्नुहुन्छ । “खानका लागि जारको पानी प्रयोग गरेका छौँ तर लुगा धुन, भाँडा सफा गर्नलगायतका अन्य प्रयोजनका लागि बागमतीको पानी ल्याएर गुजारा गरेका छौँ,” उहाँ भन्नुहुन्छ ।

उहाँहरु त केही प्रतिनिधि पात्र मात्रै हुनुहन्छ । बाढी, पहिरोजस्ता विपद्ले थपिएको पीडा त छँदैछ । त्यसमाथि खानेपानी नपाउँदा जीवन गुजारा गर्न धौधौ हुने यस्ता थुप्रै पात्र हुनुहुन्छ । पानीको मुहान पुरिएको छ । पाइपलाइन क्षतविक्षत भएको छ । कतै मूल खोज्दै जाने बाटोसमेत छैन ।

गत शुक्रबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण राज्यले ठूलो धनजनको क्षति बेहोर्नुपरेको छ । नेपालीको महान् चाड दसँै नजिकिँदै गर्दा यो प्राकृतिक विपद्को घटनाले दुई सयभन्दा बढीले कालमै ज्यान गुमाउनुपर्‍यो भने कतिको घर भत्किने, पुरिने हुँदा अब कसरी गुजारा चलाउने भन्ने चिन्ताले सताएको छ । विपद् प्रभावित क्षेत्रहरुका बासिन्दाले भोग्नुपरेको चरम खानेपानीको समस्या तत्काल समाधान गर्नुपर्ने दायित्व सरकारलाई थपिएको छ । पीडितले पानीविनाको जीवन कसरी कटाएका होलान् रु पानी नै पाए पनि कतै ढलसहित मिसिएको छ रु कतै धमिलो खोला छिरेको छ रु प्रभावित क्षेत्रका जनतालाई यतिबेला सफा खानेपानीको पहुँच अत्यन्त जरुरी छ ।

पहिरोका कारण अधिकांश स्थानमा खानेपानीको मुहान नै पुरिएकाले समस्या भएको बताउनुहुन्छ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाशकुमार राई । “वर्षाका कारण फर्पिङ हेल्थपोष्टदेखि फर्पिङ पम्पहाउससम्म आउने पेनस्टक पाइप र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइपमा ठूलो क्षति पुगेका कारण ललितपुरका अधिकांश स्थानमा पानीको समस्या भएको छ,” उहाँले भन्नुभयो, “धेरै ठाउँमा खानेपानीको स्रोत नै पुरिएको छ, मर्मतका लागि जाने बाटो पनि छैन ।”

उहाँका अनुसार खुमालटार क्षेत्रमा भने सुन्दरीजलको पानी ल्याएर वितरण गर्ने योजना छ । राईले गुणस्तरीय पानी उपलब्ध गराउन केयुकेएलले पानी प्रशोधनको प्रक्रिया अपनाएर वितरण गरेको भए पनि बीचमा पाइपलाइन बिग्रिएर फोहोर पानी छिरेको हुनसक्ने हुँदा पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न अनुरोध गर्नुभयो । अधिकांश स्थानमा बाटो बिग्रिएको, हिलो जमेकाले गर्दा क्षतिको अवस्थाबारे अवलोकन गर्न र सुधारका लागि आवश्यक प्रक्रिया अपनाउन समेत गाह्रो भएको उहाँको भनाइ छ । “अहिले नै कति क्षति भयो भन्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “चाँडोभन्दा चाँडो मर्मत गर्ने छौँ ।”

वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले अब सरकारले नागरिकको मौलिक हक प्रत्याभूतिका लागि पहल गर्नुपर्ने बताउनुभएको छ । “नेपालको संविधान २०७२ ले नागरिकको बाँच्न पाउने अधिकार प्रमुख हकका रुपमा राखेको छ,” उहाँले भन्नुभयो, “स्वच्छ खानेपानी पाउनु र स्वास्थ्यसम्बन्धी नागरिकको हक उपलब्ध गराएर उनीहरुलाई बचाउन राज्यलाई स्रोत साधन छैन भन्ने छुट अब हुन्न ।” उहाँले फोहोर पानीका कारण महामारी फैलने सक्ने खतरा भएकाले समयमा नै पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राहतमा खानेपानी वितरण गर्न माग 

खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले बाढी पहिरोको कारण खानेपानीको चरम समस्या भोग्नेहरुलाई राज्यले खानेपानीको राहत वितरण गर्नुपर्ने बताउनुभएको छ । तत्कालका लागि खानेपानीको व्यवस्थापनमा समस्या रहेका स्थानहरुमा चाँडोभन्दा चाँडो खानेपानी राहत वितरण गर्न नसके सर्वसाधारणमा अर्को समस्या आइपर्ने उहाँको भनाइ छ ।

“बाढी पहिरोको जस्ता प्राकृतिक विपद् आएमा खानेपानी तथा सरसफाइको वैकल्पिक पूर्वतयारी हुन सकेन, अब विपद्पछि पनि समस्या पहिचान गरेर समयमा नै राहत उपलब्ध गराउन आवश्य छ,” अर्यालले भन्नुभयो, “समस्या भएको क्षेत्रमा चाँडोभन्दा चाँडोे काम गर्नका लागि हामीले पनि सरकारदेखि दातृ निकायसँग पनि कुरा गरिरहेका छौँ ।” बाढीका कारण धेरै उपभोक्ताहरुले प्रदूषित खानेपानी पिउनुपरेको भन्दै उहाँले स्वच्छ खानेपानी उपलब्ध गराउनका लागि पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रदूषित पानीले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्नसक्ने 

जनस्वास्थ्यविद् डा समीर अधिकारीले विपद्को बेलामा स्वच्छ खानेपानी र सरसफाइको अभावका कारण सर्वसाधारणमा झाडापखालाजस्ता रोग लाग्नसक्ने बताउनुभएको छ । “बाढी, पहिरो, ढुबानपछि जनस्वस्थाका ठूला समस्या आउन सक्छ, फोहोर पानी पिउँदा पखला, टाइफाइड, छालारोग तथा अन्य दीर्घकालीन रोगसमेत लाग्न सक्छ,” उहाँले भन्नुभयो, “विपद्पछि पानीको स्रोत सफा गर्नुपर्छ, पानी उमालेर मात्रै प्रयोग गर्नुपर्छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनहितका लागि जारी गरेको सूचनामा विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने र यस्तो समयमा विभिन्न किसिमका रोगहरूको सङ्क्रमण हुने सम्भावना अधिक रहने उल्लेख छ । “दूषित पानीबाट सर्ने रोग, लामखुट्टेको टोकाइबाट सर्ने रोगलगायत रोगहरूको सङ्क्रमण हुनेगर्छ । मन्त्रालयका अनुसार सडेगलेका, बासी र झिँगा भन्केका खानेकुराहरू नखाने, काँक्रो, गाजर, फलफूलजस्ता काँचै खान मिल्ने खानेकुरा सधँै सफा पानीले धोएर खाने, खाना पकाउनुअघि, खाना खानुअघि, बालबालिकालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि र बालबालिकाको दिसा धोएपछि साबुनपानीले मिचीमिची हात धुन लगाउनुपर्छ ।

चर्पीमा मात्र दिसापिसाब गर्ने गरौँ र बालबालिकाको दिसालाई पनि चर्पीमा नै विसर्जन गर्ने,  फोहरलाई सधैँ निश्चित ठाउँमा सही तरिकाले व्यवस्थापन गर्ने, खोक्दा, हाच्छिउँ गर्दा सफा कपडाले नाकमुख छोप्ने गर्ने, झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघाखोकी तथा टाइफाइडका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने मन्त्रालयका भनाइ छ । लामखुट्टेबाट रोग सर्ने सम्भावना अधिक हुने भएकाले वर्षाका कारण आसपासमा भरिएका पानीलाई हटाउने वा बगाइदिने, वर्षाका कारण भाडाहरुमा पानी भरिएका छन्भने त्यसलाई बगाइदिनुपर्ने मन्त्रालयले जानकारी गराएको छ ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा जोड 

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ को प्रभावकारी रुपमा कार्यान्वयनमा आउनुपर्नेमा जोड दिनुभएको छ । खानेपानी तथा सरसफाइ विषयगत क्षेत्रको बैठक आयोजना गरी बाढी, पहिरो एवं पानीजन्य विपद् जोखिमको नक्साङ्कन गर्नुपर्ने उहाँको भनाइ छ । कार्ययोजनामा उल्लेख भएअनुसार सरसफाइ र शुद्ध पानी पिउनका लागि जनचेतना अभिवृद्धि गर्ने, बाढी र पहिरोको जोखिमबाट ‘ल्यान्डफिल्ड साइट’ सुरक्षित गर्न आवश्यक तयारी गर्ने बाढी र पहिरोको जोखिमबाट क्षतिग्रस्त हुने सम्भावनालाई दृष्टिगत गरी वैकल्पिक ‘ल्यान्डफिल्ड साइट’ पहिचान गर्नुपर्ने अर्याल बताउनुहुन्छ ।

‘खानेपानीका लागि अत्यावश्यक पाइपलगायत निर्माण सामग्रीको पर्याप्त मौज्दात राख्ने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सम्बद्ध क्षेत्रसँग समन्वय गरी कार्य गरिनेछ,’ कार्ययोजनामा उल्लेख छ, ‘शुद्ध खानेपानी तथा सरसफाइसम्बन्धी जनचेतनामूलक सामग्रीको प्रचारप्रसारमा वृद्धि गर्ने, बाढी, डुबान र पहिरो जोखिमयुक्त बस्तीहरूमा चुन छर्कने र नि:सङ्क्रमित गर्ने व्यवस्था मिलाइनेछ ।’

सरसफाइ, खानेपानी, चर्पी र हात धुने व्यवस्था मिलाउने, खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई चुस्त राख्न आवश्यक मर्मतसम्भार गर्ने कार्ययोजनामा उल्लेख छ । बाढी, पहिरो प्रभावित क्षेत्रमा पानी शुद्धीकरण गर्न क्लोरिन वितरण गर्ने, डुबानको बेला पानीलाई कसरी पिउनयोग्य बनाउने भन्ने सीप विकासमा जोड दिने पनि कार्ययोजनामा व्यवस्था गरिएको छ । खानेपानी तथा सरसफाइका अवरुद्ध संरचनाहरूलाई अद्यावधिक राख्न आवश्यक सामग्रीहरूको सुनिश्चित गर्ने, प्रदेश सरकारसँग समन्वय गरी प्रत्येक प्रदेश राजधानी तथा जिल्लाहरूमा पर्याप्त मात्रामा खानेपानीका पाइपहरुको मौज्दात राख्नुपर्नेलगायत व्यवस्था गरिएको छ ।  रासस