२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीमा बाढीले कृषि क्षेत्रमा बढी क्षति



अ+ अ-

इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गर्नुभएको थियो । उहाँले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब रु ४० हजार खर्च गर्नुभएको थियो ।

केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले उहाँसँगै जिल्लाका अधिकांश किसानका धानखेतीमा क्षति पुर्‍याएको समाजसेवी राजकिशोर मेहताले बताउनुभयो । प्रतिबिघा रु ४० हजार लगानी गरेर खेती गर्नु आमकिसानका लागि समान्य कुरा नभएको उहाँको भनाइ छ ।

देवनारायणले खेतीमा लगानी गर्दा चिन्ता लिनुभएको थिएन् तर अहिले बाढीबाट क्षति भएपछि वर्षभरि के खाने भन्ने चिन्तामा उहाँ हुनुहुन्छ । उहाँले करिब दुई बिघामा धानखेती गर्नुभएको थियो । देवनारायणले खेतीको बिमा नगरेकाले पनि थप चिन्ता थपेको समाजसेवी मेहताले बताउनुभयो ।

देवनारायणले घुटराज जातको धान लगाउनुभएको थियो । पाकेर भित्र्याउने बेला आएको पानीले खेतीसँगै किसानको लाखौँको लगानीमा क्षति भएको स्थानीय किसान रामवृक्ष मेहताले उल्लेख गर्नुभयो । भोक्राहा नरसिंहसहित जिल्लाका विभिन्न स्थानमा घुटराज धान लगाउने किसान अहिलेको वर्षाबाट बढी प्रभावित भएका उहाँले बताउनुभयो ।

भोक्राहा नरसिंह गाउँपालिकामा मात्र घुटराज धान रोपाइँ गर्नेमा देवनारायणसहित जमाहर मेहता, श्यामदेव मेहता, जोगिन्दर मेहतालगायत छन् । यहाँ करिब ४० बिघा जमिनमा यो धान रोपाइँ भएको स्थानीय जमाहर मेहताले जानकारी दिनुभयो । लगातारको वर्षाले धान खेतमा खसेको र पानी नसुकेपछि खेतमै उम्रिने उहाँले बताउनुभयो ।

किसानले वार्षिक रुपमा मजदुकारको अभावका साथै आर्थिक सङ्कट, मल तथा बिउ अभावका बीच पनि खेती गर्दै आएका जमाहरले बताउनुभयो । “सिँचाइका लागि पानी आवश्यक भएका बेला नपर्ने, अहिले धान काटेर भित्राउने बेला परेको पानीले खेती सबै नष्ट गरेको छ”, उहाँले भन्नुभयो ।

यसैबीच लगातार वर्षासँगै आएको बाढीबाट विस्थापित भएकाहरु घर फर्किन थालेका छन् । जिल्लाको विभिन्न स्थानीय तहमा बाढीबाट विस्थापित भई सार्वजनिक स्थानमा बसेकाहरु फर्किन थालेका सशस्त्र प्रहरी बल ४ नं गण सुनसरीका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले राससलाई जानकारी दिनुभयो । कोशी–४ मा बाढीबाट डुबानमा परेका ४० परिवार घर फर्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिनुभयो ।

हरिनगर गाउँपालिकामा केही बाढीपीडित अहिले पनि सार्वजनिक स्थानमा रहेको भन्दै पालिकाले अस्थायी बासस्थान र खानाको व्यवस्थापन मिलाएको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताउनुभयो ।

सुनसरी खोला र मरिया खोलाको बाढीले गाउँपालिकाका कतिपय स्थान आंशिक डुबानमा परेका भन्दै वडा नं २ र ४ का पीडित घर फर्किन थालेका छन्भने वडा नं ५ र ७ का पीडित अहिले पनि सार्वजनिक स्थानमा बसिरहेका उहाँले जानकारी दिनुभयो ।

बाढीले गाउँपालिकाको करिब एक सय बिघामा पाकेको धानखेती तथा एक सय बिघा तरकारी खेतीमा क्षति गर्नुका साथै दुई किलोमिटर सडक कालोपत्र भत्काएको अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।

खेती गर्ने बेलामा मजदुर, मल, पानी अभाव भए पनि गरिएको तरकारी, धान र सनपाटको खेती भित्र्याउने बेलामा आएको बाढीले नष्ट गरिदिएको किसान चन्दन मेहताले बताउनुभयो । दसैँ नजिकिएसँगै बिक्रीका लागि तयार पारिएको कोपी, वैगुन, परबल, भिण्डी, करेला, लौका, फर्सी, घिरौँला, काक्रालगायत तरकारी बालीमा बाढीले क्षति पुर्‍याएको उहाँको भनाइ छ ।

बाढीले विभिन्न ठाउँमा भत्काएको सडकको सम्बन्धित स्थानीय तहले मर्मतसम्भार गर्न सुरु गरिसकेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीबाट जिल्लामा भएको क्षतिको यकिन विवरण आउनेक्रम जारी रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । रासस