२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिनादेखि बागलुङका अधिकांश ग्रामीण सडक ठप्प



अ+ अ-

ढोरपाटन । बागलुङका अधिकांश ग्रामीण सडक तीन महिनादेखि अवरुद्ध छन् । वर्षात्का कारण ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका सडक वर्षा नरोकिँदा स्थानीय तहले खुलाउन सकिरहेका छैनन् ।

चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा अधिकांश बस्तीसम्म सडक पुगे पनि हिउँदको समयमा यातायात सञ्चालन हुन्छन्, बर्खाको करिब चार महिना ठप्प हुन्छन् । बर्खामा सबैभन्दा कम तमानखोला गाउँपालिकामा सवारीसाधन सञ्चालन हुने गरेका स्थानीय बताउँछन् ।

तमानखोलामा गाउँपालिकाको केन्द्र बोङ्गा दोभान बजारबाट वडा नं १ को स्याउला, पहिरागाउँ, वडा नं ३ को तमान, ४ को हिले लाम्मेला, वडा नं ५ को खुङ्खानीथास्पुरी र वडा नं ६ को नर्जाखानी, भित्रिवनपात्लेलगायत गाउँमा पुग्ने सडक ठप्प भएका तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिनुभयो । जिल्लाका ग्रामीण सडकमा स्थानीय खोलामा पानीको बहाव नघट्दासम्म सञ्चालनमा आउनसक्ने स्थिति नरहेको उहाँले बताउनुभयो ।

असोजको अन्तिम सातासम्म खोलामा पानीको बहाव घट्ने र पहिरोले अवरुद्ध भएको सडक खुलाएपछि सवारीसाधन सञ्चालनमा आउने बुढामगरले बताउनुभयो । “तीन वर्ष अगाडिसम्म बुर्तिबाङ बजारबाट पालिकाको केन्द्र बोङ्गा दोभानसम्म पुग्न दुई स्थानमा गाडी परिवर्तन गर्नुपथ्र्यो । ढोरपाटन नगरपालिका–४ हुन्द्राफेँदी र भालिबाङ खोलामा दुई मोटरेबल पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेका छन्”, उहाँले भन्नुभयो ।

अहिले पालिकाको केन्द्रबाट वडा नं २ को खोलेस्बाङबाहेक अन्य सबै वडामा बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन । वडा नं ३ को तमान गाउँ पुग्नका लागि बुर्तिबाङबाट खुङ्गा हुँदै सिधा यातायात सञ्चालन भए पनि पालिकाको केन्द्रबाट भने हुन सक्दैन । सबैभन्दा टाढाको गाउँ नर्जाखानी, पात्ले र भित्रीवन पुग्न पाँच वटा मोटरेबल पुलको आवश्यकता पर्ने तमानखोला गाउँपालिकाका अध्यक्ष बुढामगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं ५ को खुङ्खानी पुग्न तीन, पहिरा पुग्न तीन, स्याउला र हिजा पुग्न एउटा पुल आवश्यक छ । अहिलेसम्म एक स्थानमा पुल बने पनि अरु स्थानमा पुल नबन्दा स्थानीय मर्कामा परेका अध्यक्ष बुढामगरले बताउनुभयो ।

“तमान खोलामा छरिएर रहेका गाउँ र बस्ती पनि छरिएका छन्, सबैतिर सडकको पहुँच पुगे पनि स्रोतसाधनको अभावले खोलामा पुल बनाउन सकिएको छैन । यहाँ करिब एक दर्जन पुल निर्माण हुनुपर्ने हो, सबै पुल बनाउन पालिकासँग बजेट छैन”, अध्यक्ष बुढामगरले भन्नुभयो, “प्रदेश र केन्द्र सरकारसँग माग गरिरहेका छौँ, बर्खाको करिब तीन महिना गाउँमा गाडी नचल्दा स्थानीयले समस्या भोग्नुपरेको छ ।”

जिल्लाको बडिगाड गाउँपालिकामा यस वर्ष पहिराले सडकमा ठूलो क्षति पुर्‍याएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । यस वर्षको वर्षाले ग्रामीण सडक भत्किँदा करिब रु १५ करोडको क्षति भएको उहाँले बताउनुभयो ।

पालिकाले बर्खाले बिगारेको सडक मर्मतका लागि रु ६० लाख विनियोजन गरे पनि उक्त बजेटले केही ठाउँमा मात्रै सडक सञ्चालनमा ल्याउन सकिने अध्यक्ष अधिकारीले बताउनुभयो । गाउँपालिकाभित्र रहेका दर्लिङ, नयाँ गाउँ, मालारानी, आरुपाटा, निगल पानी पुग्ने सडक पूर्ण रुपमा ठप्प भएका उहाँले जानकारी दिनुभयो ।

“यो वर्ष बडिगाडमा बाढीपहिरोले सडकमा ठूलो क्षति पुर्‍याएको छ, चाडवाड नजिक आइरहेका छन् । वर्षा नरोकिँदा सडक मर्मतमा समस्या भइरहेको छ । दुई साता अघि पानी पर्न कम भएपछि अवरुद्ध सडक खुलाउने तयारी गरे पनि अहिले पुन: वर्षा भएर सम्भव भएन्”, अध्यक्ष अधिकारीले भन्नुभयो, “असारको दोस्रो हप्तादेखि बडिगाडका ग्रामीण सडक बन्द छन् । चाडबाड दैनिक उपभोग्य वस्तु ढुवानी गर्न कठिन भएको छ, हामी सडक सञ्चालन गर्न प्रयासरत छौँ ।”

जिल्लाको तमानखोला, निसीखोला, काठेखोला, ताराखोला र बरेङ गाउँपालिका तथा बागलुङ, गलकोट, जैमिनी र ढोरपाटन नगरपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । तीन महिनादेखि गाउँमा आउने सडक पूर्ण रुपमा बन्द हुँदा सामान ढुवानी गर्न समस्या भएको तमानखोला गाउँपालिका–६ का पूर्णबहादुर छन्त्यालले बताउनुभयो । हिउँदको समयमा जसोतसो गाडी सञ्चालन भए पनि बर्खामा ठप्पै हुने बताउँदै दशक अगाडि गाउँमा सडक नपुग्दा पैदल हिँडेरै बजार पुगेर सामान ल्याउने गरेको उहाँले स्मरण गर्नुभयो ।

छन्त्यालले भन्नुभयो, “दसैँ आयो, बर्खा नलाग्दै बजारबाट ल्याएको सामान सबै सकिन थाल्यो । पानी निरन्तर परिरहेकाले खोलाको पानी घटेको सम्भावना अझै छैन, बर्खामा स्थानीयले धेरै समस्या भोग्नुपरेको छ ।” सडक मर्मत गरी आवागमन सहज बनाउन उहाँले सरोकार भएका निकायलाई आग्रह गर्नुभयो ।




भर्खरै