१ मंसिर २०८१, शनिबार
,
Latest
कार्वन व्यापारलाई थप प्रभावकारी बनाउन आवश्यक: वनमन्त्री शाही कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ नेपालको सिमानाको इतिहास तथा यसको विवेचना विचार गोष्ठी सम्पन्न स्थानीय तह उपनिर्वाचन: कीर्तिपुर र काठमाडौं-१६ मा माओवादी र एस बिच सहकार्य लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल एकहजार १६९ उपभोक्ता रहेको चांगाथली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा बस्नेत प्रधानमन्त्रीले ‘चिनियाँ कार्ड’ प्रयोग गर्न खोजेको भन्ने प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति मञ्चमा फर्किए मह जोडी भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै



अ+ अ-

काभ्रेपलाञ्चोक । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिको सीमास्थल चौकीडाँडामा शनिबार करिब दुई सय मिटर सडक रोशी खोलाको बाढीले बगायो । सडक सम्पर्क टुटेपछि यात्रु बाटोमै अलपत्र परेका थिए । अलपत्र परेका यात्रुको आइतबारदेखि हेलिकप्टरबाट उद्धार गर्न थालिएको छ ।

राजधानीसँग मध्यपहाडी क्षेत्रहुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दुरीको उक्त राजमार्ग शनिबार बिहानदेखि ठप्प छ । नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ को सीमास्थल उक्त स्थानमा रोशी खोलाको बाढीले कटान गर्दै करिब दुई सय मिटर सडक बगाएको हो । माथि ठूलो भीर भएको र रोशी खोलाको बहावका कारण आइतबारसम्म कुनैपनि स्थानबाट पैदलसमेत आवतजावत गर्न सकिएको थिएन । पानीको बहाव घट्दै गएपछि आज भने रोशी क्षेत्रमा अलपत्र यात्रु हिँडेरै गन्तव्यतर्फ जान थालेका छन् ।

बाढीबाट सबैभन्दा बढी रोशी गाउँपालिका प्रभावित भएको छ । सडक सम्पर्क टुटेपछि खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ । आज दिउँसोसम्म रोशी क्षेत्रलगायत स्थानमा फसेका चार सय यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताउनुभयो । आइतबार तीनवटा हेलिकप्टरमार्फत रोशी गाउँपालिका, कोशीपूर्वस्थित भुम्लु, तेमाल गाउँपालिका र पनौतीको रोशी क्षेत्रबाट घाइते, बिरामीलगायतलाई उद्धार गरिएको उहाँले बताउनुभयो ।

“आज पनि बिहानैदेखि हेलिकप्टरमार्फत यात्रुको उद्धारकार्य जारी छ । हेलिकप्टरले उद्धार गर्न जाँदा राहत सामग्री बोकेर जाने र आउँदा विभिन्न स्थानमा अलपत्र परेका यात्रुलाई उद्धार गरिरहेको छ”, सहायक प्रजिअ पौडेलले भन्नुभयो ।

रोशी खोलाको बाढीले सडक मात्रै बगाएन, स्थानीयको करिब तीन सय रोपनी खेतसमेत कटान गरेको छ । स्थानीय गोविन्द गौतमले बाढीले बस्ती नजिकको झोलुङगे पुलसमेत बगाएको बताउनुभयो । “हामी दैनिक कामको सिलसिलामा नमोबुद्धको भकुण्डे बजार र सदरमुकाम जानुपथ्र्यो, सडक नै बगाएपछि कतैबाट पनि जान सकिने अवस्था छैन”, उहाँले भन्नुभयो । शनिबार बिहानैदेखि उर्लेको रोशी खोलाको बाढीले कटान गर्दै उक्त सडक बगाउँदा नजिकका बस्तीका बासिन्दा त्रासमा रहेको उहाँले बताउनुभयो ।

राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ रोशीको माम्तीका भ्याकुरे खोलाको बाढीले ह्युमपाइपसहित बगाएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताउनुभयो । उहाँका अनुसार उक्त स्थानबाट पूर्वतर्फ जाने यात्रुको हेलिकप्टरबाटै उद्धार गर्नुपरेको छ । राजमार्गको मङ्गलटार क्षेत्रमा एक सय मिटर सडक पुरिएको छ भने राजमार्गकै नार्के बजारमा रोशी खोलाको बाढीले कटान गरी १२ घर बगाएको छ । रोशीमा बाढीका कारण ११ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोले बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको छ । उक्त क्षेत्रको विभिन्न स्थानमा सडक कटान गरेको छ भने सडक पुरिएको अवस्थामा रहेको स्थानीय रत्न लामाले बताउनुभयो । “सडक ठप्प छ, विद्यालय बन्द छन्”, उहाँले भन्नुभयो । पहाडी क्षेत्र भएकाले पहिरो त्रास रहेको लामाले सुनाउनुभयो ।

चौकीडाँडामा सडक भत्केपछि पैदलयत्रासमेत गर्न कठिन भएको स्थानीय राजेन्द्र श्रेष्ठले बताउनुभयो । “सदरमुकामसँगको सम्पर्क टुटेको छ, गाउँमा बिजुली छैन, टेलिफोन गर्नसमेत समस्या छ”, उहाँले भन्नुभयो । श्रेष्ठका अनुसार बगेको सडक पुन:निर्माण गर्न समय लाग्ने देखिएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा हालको बाढीपहिरोबाट ५७ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । आज दिउँसोसम्म तीन हजार दुई सय ७४ जनाको उद्धार गरिएको छ । चार जना अझै बेपत्ता रहेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्य जारी राखिएको छ । रासस