१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

२० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि

२० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि
अ अ+ अ-

गण्डकी । झरी थामिएपछि आज घमाइलो बिहानमा मनहरि भण्डारी गोठबाट गाई दुहेर घर फर्कदैँ हुनुहुन्थ्यो । यत्तिकैमा हामीले उहाँलाई सोध्यौँ, “गाईले कति दूध दिन्छ बुबा ?”

६० वर्षीय भण्डारीले भन्नुभयो, “एक साँधमा चार लिटर, दिनको १२ माना जति हुन्छ ।” यति भनिसक्दा बाल्टीको दूध कुँडेमा खनाएर उहाँ अगेनातिर जानुभयो ।

फलामको कराइमा रैथाने बोकाको पाकिरहेको मासु विस्तारै चलाउँदै भण्डारीले सुनाउनुभयो, “यो चुलोमा खाना पकाउन लागेको २० वर्ष भयो, सबै खानेकुरा दाउराको आगोमा पकाउँछौँ ।”

भान्छाको काम छिमल्दै उहाँले केहीबेर हामीसँग कुराकानी गर्नुभयो । “पुरानो घरमा किराना र कपडा पसल थियो, पछि खाजाघर सञ्चालन गर्ने सोच आयो, यहाँ आएपछि चिनारी र सफलता दुवै मिल्यो ।”

मध्यपहाडी राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नागडाँडाका भण्डारीले २२ वर्षअघि यो घर किन्दा वरिपरि वनपाखा मात्र देखिन्थ्यो । पक्की घर बनिसकेका थिएनन् । धवलागिरि क्षेत्र जोड्ने उक्त राजमार्ग भएकाले सो क्षेत्र हुँदै यात्रुको आवातजावत भने बाक्लै हुन्थ्यो । नजिकैको पर्यटकीय सहर पोखराबाट घुमफिरका लागि पनि मनिस नागडाँडासम्म पुग्थे ।

पुख्र्यौली थलो नजिकै राजमार्गछेउ घर किन्नुभएका भण्डारीले राजमार्गका यात्रु र अन्य पाहुनालाई लक्षित गाउँले प्रकृतिको खाजाघर सञ्चालन गर्नुभयो । ‘हाम्रो भण्डारी खाजाघर’का नाममा रहेको उक्त खाजाघरलाई कतिपयले ‘भण्डारी बा’को खाजाघर पनि भन्छन् । पाको उमेरमा खाजाघरमा गाउँले स्वाद पस्किरहनुभएका उहाँले २० वर्षदेखि राजमार्गका पाहुनाको मन जितिरहनुभएको छ ।

राजमार्गमा यात्रुको चापसँगै पर्यटकीय गतिविधि बढेपछि खाजाघरको क्षमता विस्तार गर्दै लगेको उहाँले बताउनुभयो । यात्रुदेखि अन्य पाहुना त्यहाँको रैथाने जातको बोका र कुखुराका परिकारमा बढी लोभिने गर्छन् । खानादेखि खाजाका सबै परिकार दाउराको आगोमा पकाएर पस्कने गरेको भण्डारीले बताउनुभयो । जैविक र गाउँले स्वादका कारण उक्त खाजाघर ग्राहकको रोजाइमा परेको हो । “स्थानीय खानाका परिकार पाहुनालाई टकार्छौँ”, उहाँले भन्नुभयो, “भात पनि रैथाने जेठोबुढो, पहेँलेलगायत चामलको पकाउँछौँ ।”

खाजाघरमा पाइने तातो दूधले पनि पाहुनालाई लोभ्याउने गरेको छ । स्थानीय किसानकहाँबाट ल्याइने भैँसी र गाईको दूध पाहुनाले स्वाद मानेर खान्छन् । खाजाघरमै बसेर दूध पिउनेदेखि किनेर घरमा लैजानेसम्मको सुविधा रहेको उहाँको भनाइ छ । मासु, तरकारी लाई चाहिने मरमसला पनि सिलौटौमा पिन्ने गरेको उहाँले सुनाउनुभयो । लसुन, प्याज पनि गाउँघरकै प्रयोग गर्ने गरिएको भण्डारीले सुनाउनुभयो । यामअनुसार गाउँमा उब्जेकोतरकारी पनि उहाँले बिक्रीमा राख्दै आउनुभएको छ । लेकाली निगुरो, काँक्रो, घिरौँलालगायत हरियो तरकारी अहिले पनि बेचिरहेको भण्डारीले बताउनुभयो ।

“बजारबाट हामीले धेरै सामान किन्दैनौँ, भान्छामा अधिकांश थानीय उत्पादनको प्रयोग हुन्छ”, उहाँले भन्नुभयो, “ग्राहकले हाम्रो खाना र आतिथ्यता संस्कारलाई मन पराइदिनुभएको छ, यसमै हामी खुसी छौँ, व्यवसायबाट हाम्रो परिवार सन्तुष्ट छ ।”

खाजाघरमा मासुभातको रु चार सय ५० र मासु चिउराको रु दुई सय ५० मूल्य तोकिएको छ । पाहुनाको माग हुँदा अन्य हलुका चियाखाजा पनि उपलब्ध गराउने गरेको भण्डारीले बताउनुभयो ।

भण्डारीलाई व्यवसायमा श्रीमती चन्द्रकला, छोरा सुदर्शन, सुनिल र बुहारी बिमलाले सघाउँदै आउनुभएको छ । दैनिक एक सयभन्दा बढी पाहुनालाई खाजाघरले सेवा पुर्‍याउँदै आएको छ ।

“धेरैजसो यहाँ खाजाका लागि आउनुहुन्छ, खाना खानेको सङ्ख्या केही कम छ”, भण्डारीका छोरा सुनिलले भन्नुभयो, “विशेष गरी दाउराको चुलोमा पाक्ने स्थानीय जातको बोका र कुखुराका परिकार पाहुनाको रोजाइमा पर्ने गरेको छ ।”

इञ्जिनियर विषयको पढाइ पूरा गरिसक्नुभएका सुनिल पनि अहिले बुबासँगै सोही व्यवसायमा जोडिनुभएको छ । दसवर्ष विदेश बसेर फर्कनुभएका भण्डारीका जेठा छोरा सुदर्शन पनि अहिले घरमै बसेर सोही व्यवसायमा हातेमालो गरिरहनुभएको छ ।

“घरपरिवारको राम्रो साथ र सहयोग छ”, भण्डारीले भन्नुभयो, “भान्छामा म आफै पकाउँछु, मैले नभ्याउँदा श्रीमतीले सघाउँछिन्, छोराछोरी पनि काममा उत्तिकै खटिन्छन् ।” ६० वर्षको उमेरमा पनि उहाँले व्यवसायप्रति देखाएको लगाव र परिश्रमलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । उहाँको प्रेरणाबाट सो क्षेत्रमा अन्य व्यवसायीलले पनि खाजाघर सञ्चालनमा ल्याएका छन् । ती खाजाघरले पनि मौलिक ढङ्गबाट व्यवसाय प्रवद्र्धन गरिरहेका छन् ।

“हामीले सुरुमा खाजाघर सञ्चालन गर्दा यहाँ यतिधेरै घर पनि बनेका थिएनन्, अहिले खाजाघर पनि थपिएका छन्, यस क्षेत्रको व्यवसाय विस्तार हुँदै गएको छ”, भण्डारीले भन्नुभयो । रासस