२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो



अ+ अ-

बागमती । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोमा परी मृत्यु भएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका छजना विद्यार्थीमध्ये तीनजनाको शव हेटौँडा ल्याइएको छ ।

काठमाडौँस्थित शिक्षण अस्पतालमा शवपरीक्षणपश्चात् मृतकमध्ये अनुमप घलान, साइमन योञ्जन र बाराका बिकल रेग्मीको शव आज बिहान हेलिकप्टरमार्फत हेटौँडा ल्याइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो ।

यहाँ जिल्ला खेलकुद विकास समितिले श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ । हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित मैदानमा आयोजित श्रद्धाञ्जलीसभामा मृतकका आफन्त, खेलाडी, खेलप्रेमी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो । प्रजिअ चिलुवालले शव अन्त्यष्टिका लागि परिवारजनलाई बुझाइएको बताउनुभयो ।

होस्टेलमा बसेर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ टेकरस्थित वत्सला माध्यमिक विद्यालयमा अध्ययन गर्ने र एन्फा क्याम्पमा फुटबल प्रशिक्षण लिने ४० जना विद्यार्थीमध्ये हेटौँडाका घलान, योञ्जन, बाराको निजगढका रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौँका रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकीको पहिरोमा परी शनिबार मृत्यु भएको थियो ।

बागमती प्रदेशका १० जिल्लामा ११६ को शव फेला

यही असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या बागमती प्रदेशका १० जिल्लामा ११६ पुगेको छ । प्रदेशका १० जिल्लामा मृत्यु हुनेमध्ये काभ्रेमा थप १२ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । यससँगै बागमती प्रदेशअन्तर्गत काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या हालसम्म ११६ पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

काभ्रेमा हालसम्म बाढी पहिरोबाट मृत्यु भएकामध्ये ५० जनाको शव फेला पारेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । यस्तै, धादिङ जिल्लामा बाढीपहिरोबाट मृत्यु भएका ३९ जनाको शव फेला परेको छ । बाढीपहिरोमा परी सिन्धुपाल्चोकमा १०, मकवानपुरमा सात, दोलखामा सात, सिन्धुलीमा दुई र रामेछापमा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ।

बाढीपहिरोजन्य विपद्बाट काभ्रेमा नौ र सिन्धुपाल्चोमा दुई गरी ११ जना अझै बेपत्ता रहेका प्रहरीले जनाएको छ । बेपत्ताको खोजी कार्य तथा उद्धार गर्न प्रदेशभर चार हजार ११९ प्रहरी परिचालन गरिएको थियो । प्रहरीले विभिन्न जिल्लाका २४७ परिवारका ३१७ जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।