३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध



अ+ अ-

तनहुँ । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रुपमा रहेको बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि एक दर्जनबढी स्थानमा पहिरो खस्दा उक्त मार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

गण्डकी प्रदेश सरकारले पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा यसलाई विकास गर्न प्रक्रिया अघि बढाइसकेको छ । पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउनेसम्म पुग्न बुद्धसिं मार्गबाट करिब २५ किलोमिटर दूरी कम पर्ने बुद्धसिं मार्ग सरोकार समितिका संयोजक सिद्धान्त गर्जामगरले जानकारी दिनुभयो ।

पहिरोका कारण सुडे, बेलबास निउरोघारी, मास्दी, नाल्दी, खानीखोला ढाप, बरखोला, साराङघाट, तल्लो साराङघाट, प्यूघरलगायत १२ स्थानमा पहिरो खस्दा मार्ग अवरोध भएको उहाँले बताउनुभयो ।

पहिराका कारण साराङघाट, मास्दीघाट क्षेत्रका बासिन्दाको जनजीवन बढी प्रभावित बनेको संयोजक गर्जामगरले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा कोही बिरामी भएमा बन्दीपुर हुँदै राजमार्ग भएर दमौली पुर्‍याउनुपर्ने अवस्था छ ।

गर्जामगरले भन्नुभयो, “यथाशीघ्र मार्ग सञ्चालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ, आशा छ छिट्टै पहलकदमी हुनेछ ।” पहिराले सेतीगङ्गा आधारभूत विद्यालयका आइसिटी र विज्ञान प्रयोगशालाका कक्षाकोठा पूर्ण रुपमा क्षति भएका विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका उहाँले बताउनुभयो ।

“पहिरोले स्थानीय मङ्गलबहादुर गुरुङको घर पूर्ण रुपमा क्षति हुनुका साथै बर्जबहादुर गुरुङ र डुलबहादुर गुरुङको घरमा आंशिक क्षति भएको छ”, उहाँले भन्नुभयो, “माथिबाट आएको पहिरोले करिब तीस रोपनी खेतबारी पूर्ण रुपमा नोक्सान भएको छ ।”

तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीमा निर्माण कम्पनीले करिब १० किमी खण्डमा ‘आक्सफाल्ट प्रविधि’ बाट कालोपत्र गर्न थालेको थियो ।

पूर्वाधार विकास कार्यालयले मैनाचुली–सफल जेभी काठमाडौँसँग विसं २०८२ जेठ ३० गतेसम्म गर्नेगरी विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता भएको पूर्वाधार विकास कार्यालयकी सूचना अधिकारी एवं इञ्जिनियर धनमाया मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश सरकारले सो मार्गलाई प्राथमिकतामा राखेर गत आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन गरेको थियो । चितवनको घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँको सीमानामा पुगेर फर्कन बाध्य छन् ।