१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह

प्रचण्डले  बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा रहँदा सुशासन र भ्रष्टाचारविरुद्ध कडा कदम चालेका कारण देशव्यापी रुपमा पार्टीप्रति जनआकर्षण बढेको दाबी गर्नुभएको छ ।

पार्टी सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को आजदेखि सुरु भएको २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पार्टीप्रति बढेको आकर्षणलाई संस्थागत गर्दै आगामी निर्वाचनमा पहिलो पार्टी बन्नेगरी लाग्नुपर्ने बताउनुभयो ।

सरकारको नेतृत्व गर्दा ठूलाठूला भ्रष्टाचार र अनियमितताका विरुद्ध जेहाद नै छेडेको दाबी गर्दै उहाँले बाँसबारी जग्गा प्रकरण, बालुवाटार जग्गा फिर्तालगायत विषयमा लडाईं लडिएको उल्लेख गर्नुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासमै सरकारकोतर्फबाट ठूलो कारबाही गरिएको जानकारी दिँदै उहाँले विचौलिया र दलालविरुद्ध उभिँदा सरकारबाट बाहिर पठाइएको जिकिर गर्नुभयो ।

सरकारबाट बाहिरिँदा विजयी भावमा जनताकासामु जाने अवसर प्राप्त भएको जानकारी दिँदै अध्यक्ष दाहालले नेपाली जनतालाई विश्वासमा लिएर आगामी निर्वाचनमा २०६४ कै जस्तो अवस्थामा पुर्‍याउनुपर्ने धारणा राख्नुभयो ।

विद्यार्थी सङ्गठन अखिल(क्रान्तिकारी)लाई बाघ सङ्गठनको सङ्ज्ञा दिँदै उहाँले भन्नुभयो, “हामीलाई अहिले सङ्ख्याको बलमा सरकारबाट हटाइएको छ । तपाईहरुको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौँ । हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु । दुई तिहाइलाई रक्षात्मक पोजिसनमा धकेलेका छौँ । हामी जीतका पक्षमा छौँ ।” उहाँले भ्रष्टाचारविरुद्ध अभियान चलाएपछि सरकारबाट हटाइएको भए पनि जनताको तागतले लड्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “जनयुद्धमा पनि हामीलाई घेरा हालेर सखाप पार्ने षड्यन्त्र भएको थियो । हामीले घेरा तोड्ने र प्रतिवाद गर्ने रणनीति जनयुद्धमा पनि लियौँ । अहिले शान्ति प्रक्रियामा आएपछि पनि हामीलाई कहीँ न कहीँ घेरा हाल्ने माओवादी आन्दोलनलाई सखाप पार्ने षड्यन्त्र हुँदै आएको छ । हामीले त्यसको घेरा तोड्दै आएका छौँ ।”

प्रतिनिधिसभामा दुई ठूला दल मिलेर जनताको बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने प्रयास भइरहेको आरोप लगाउँदै उहाँले सडकबाट प्रतिक्रियावादी शक्तिलाई झुकाउन सकिने उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले आफ्नो नेतृत्वको पहिलो सरकारले मध्यपहाडी राजमार्ग, उत्तरु दक्षिण करिडोर र मदन भण्डारी राजमार्गजस्ता पूर्वाधार विकासका क्षेत्रमा महत्त्वपूर्ण निर्णय लिएको जानकारी दिँदै तीमध्ये केही आयोजना सफलताको नजिक पुगेको बताउनुभयो ।

दोस्रो प्रधानमन्त्रीत्वकालमा इतिहासमै पहिलो पटक विद्युत्भार कटौती अन्त्य गरेको र नेपाली नागरिकलाई उज्यालो प्रदान गरेको तथा तेस्रो कार्यकालमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायका क्षेत्रमा महत्वपूर्ण काम गरेको तथ्यलाई नेपाली जनताकामाझ लैजान उहाँले विद्यार्थी सङ्गठनलाई आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाउने दाबी गर्नुभयो । उहाँले आगामी केन्द्रीय समितिको बैठकले नयाँ इतिहास कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मुलुकमा देखापरेको राजनीतिक जटिलता हल गर्नेगरी सो बैठकले निर्णय गर्ने भन्दै अखिल (क्रान्तिकारी) को सम्मेलनले ठूलो अर्थ राख्नेसमेत स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले यसपटक विद्यार्थी सङ्गठनले पार्टीको नीति, विधि र प्रक्रियाभित्र रहेर स्वच्छ स्वयत्तताको अभ्यास गर्न आग्रह गर्नुभयो । जिल्ला, प्रदेश सम्मेलनमा कतै निर्वाचन एवं कतै सहमतिका आधारमा नेतृत्व चयन भएको जानकारी आफूले प्राप्त गरेको उल्लेख गर्दै उहाँले सकेसम्म सहमति नभए निर्वाचनको प्रक्रियाबाट नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।

आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतहासिक भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नुपर्नेसम्मको अवस्था आएको बताउनुभयो ।

“हामीले भ्रष्टाचारका विरुद्ध महाअभियान छेडेकै हो, नेपालको इतिहासमा राजनीतिक र प्रशासनिक हाइप्रोफाइल व्यक्ति कारबाहीमा परेको पहिलोपटक हो”, उहाँले भन्नुभयो, “सामाजिक न्यायका क्षेत्रमा मिटर ब्याजपीडितको समस्या समाधान, लाखौँ श्रमिकको सामाजिक सुरक्षा कोषमा आबद्धता र हजारौँ नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने कानुन निर्माण ऐतिहासिक कार्य थिए ।” उहाँले आर्थिक समृद्धिको सवालमा लिएका महत्त्वपूर्ण नीतिका कारण अहिले नेपालको अर्थतन्त्रमा क्रमश: सुधार आइरहेको र आर्थिक वृद्धिदर बढ्नेक्रम सुरु भएको बताउनुभयो ।

तेस्रोपटक सरकारको नेतृत्व गर्दा इटलीमा भएको खाद्य सम्मेलन, संयुक्त राष्ट्रसङ्घको महासभा हुँदै कोप–२८ सम्म जाँदा आफूले लिएको ऐतिहासिक पहलकदमीका कारण पार्टीको अन्तर्राष्ट्रिय प्रतिष्ठा फरक रूपमा स्थापित भएको र यसले राजनीतिक नेतृत्वलाई अन्तर्राष्ट्रियस्तरमा अब्बल रुपमा स्थापित गरेको बताउनुभयो । आफूले अल्पविकसित राष्ट्रको पक्षमा लिएको अडान मात्र होइन, कार्यकालमा भारत र चीनसँगको सन्तुलित सम्बन्धले पनि नेपालको कूटनीतिलाई नयाँ उचाईमा उठाएको बताउनुभयो ।

उहाँले पछिल्लो सरकारको नेतृत्व गदौ शैक्षिक क्षेत्रमा पनि धेरै सुधारका काम थालिएको बताउनुभयो । त्रिविमा मेरिटोक्रेसी लागू गर्ने, वर्षौंदेखि लुकाएर राखिएको उच्च शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र सङ्घीय शिक्षा ऐन सदनमा पुर्‍याउने काम आफ्नो नेतृत्वको सरकारले नै गरेको स्पष्ट गर्नुभयो ।

अध्यक्ष दाहालले अहिले ठूलाठूला शक्ति राष्ट्रहरूको अस्वस्थ प्रतिस्पर्धा देखिएको र त्यसको असर दक्षिण एसियामा पनि देखापर्न थालेको उल्लेख गर्दै नेपालमा राष्ट्रिय स्वाधीनतको मुद्दा पेचिलो बन्न थालेको बताउनुभयो । भूराजनीतिक अवस्थितिका कारण अहिले विश्वव्यापी रूपमा देखिएको अस्वस्थ प्रतिस्पर्धाको केन्द्र नेपाल हुने हो कि भन्ने चिन्ता व्यक्त गर्दै उहाँले विद्यार्थीलाई नेपालको राष्ट्रिय स्वाधीनताप्रति गम्भीर हुन आग्रह गर्नुभयो ।

विदेशी चलखेल रोक्ने र देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्न राष्ट्रिय शक्ति निर्माण गर्ने वामपन्थीले मात्रै हो र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्नसक्ने उल्लेख गर्दै उहाँले विद्यार्थी सम्मेलनले राष्ट्रिय स्वाधीनताको लडाइँलाई सहयोग गर्ने गरी नीति कार्यक्रम बनाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले एक्काइसौँ शताब्दीमा समाजवादी क्रान्तिको नयाँ बाटो भनेर आठौँ राष्ट्रिय महाधिवेशनबाट पारित लाइन नै आधिकारिक र औपचारिक कार्यदिशा भएको उल्लेख गर्दै सोही कार्यदिशाअनुसार कार्ययोजना बनाएर जनतामा जानुपर्नेमा केही कमजोरी भएको बताउनुभयो ।

अब धेरै विषय केन्द्रीय समिति बैठकले टुङ्ग्याउने र विशेष महाधिवेशन गरेर विचारको नयाँ संश्लेषणसहित अगाडि बढ्नेगरी नयाँ गतिमा समाजवादी क्रान्तिको तयारी थाल्ने अबको बाटो हुने उहाँले स्पष्ट गर्नुभयो । माओवादीप्रति फेरि जनताको विश्वास बढ्दै गएको उल्लेख गर्दै उहाँले यो बेलामा आफूभित्र एकता पैदा गरेर जानुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले पार्टी पुनर्निर्माणको महाअभियान सुरु गरिएको र यसका लागि विद्यार्थीसँग ठूलो अपेक्षा राखिएको उल्लेख गर्दै पार्टीको केन्द्रीय समितिको बैठकअघि हुने विद्यार्थीको राष्ट्रिय सम्मेलन पार्टीका लागि ऊर्जा हुने बताउनुभयो । उहाँले इकाइदेखि प्रदेश सम्मेलनसम्म विद्यार्थीले देखाएको लगाव र अपनाएको विधिको प्रशंसा गर्दै अब राष्ट्रिय सम्मेलनलाई पनि ऊर्जाको अवसरका रुपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विधिमा जाने भएपछि जो जितेर आउँछ उही सङ्गठनको नेता हुने भएकाले कोही कसैले गुटबन्दी गर्न जरुरी नरहेको र कुनैखालको गुटबन्दी गर्न विद्यार्थीलाई निर्देशन दिनुभयो ।

अखिल(क्रान्तिकारी)का इञ्चार्ज हिमाल शर्माले प्रत्यक्ष निर्वाचन प्रणालीबाटै नेतृत्व चयन गरिने बताउनुभयो । उहाँले निर्वाचनको प्रक्रियाबाटै नेतृत्व चयन हुनेमा निश्चित रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले भ्रष्टाचार नियन्त्रण, सुशासन, सामाजिक न्याय एवं विश्वविद्यालयमा सुधारका लागि दाहाल नेतृत्वको सरकारले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो ।

सोही कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले विश्वविद्यालयमा भइरहेको दलगत भागबण्डाको अन्त्यगरी मेरिटोक्रेसीका आधारमा पदाधिकारी चयन गर्न आफूहरु अखिल(क्रान्तिकारी) सँगै रहेको बताउनुभयो । विद्यार्थी आन्दोलनमा देखापरेको विश्वासको सङ्कट र चुनौतीलाई सम्बोधन गर्न पनि नयाँ आधारमा अगाडि बढ्नपर्नेमा उहाँले जोड दिनुभयो ।