१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम

बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम
अ अ+ अ-

जलेश्वर । आफू सुस्त श्रवण (बहिरा) भएकाले त्यसको पीडा भोग्दै आउनुभएकी सुधा गौतमले समाजमा उदाहरणीय कार्यको प्रशंसा हुन थालेको छ ।  उहाँले आफूजस्तै अरु सुस्त श्रवण भएका बालबालिकालाई शिक्षाको ज्योति दिएर सुन्दर भविष्य कोर्दै आउनु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ की २९ वर्षीया गौतम गौशाला नगरपालिकामा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा १० वर्षदेखि शिक्षिकाको रुपमा कार्यरत हुनुहुन्छ ।

पहिले इशारा (साङ्केतिक भाषा) बाट बहिरा बालबालिकालाई पठनपाठन सुरु गरेकी शिक्षिका गौतम सुस्त श्रवण कक्षाका विद्यार्थीलाई निरन्तर इशारा र सङ्केतको भरमा शिक्षादीक्षा दिँदै ज्ञानको ज्योति छर्नमा व्यस्त हुनुहुन्छ । भूईमै कार्पेट ओछ्याएर कक्षाभरि पलेटी मारेर पढ्न सक्ने गरी बनाइएको बेञ्चमाथि कापी, किताब, कलम, पेन्सिललगायतका शैक्षिक सामग्री राखी सबै विद्यार्थी शिक्षिका गौतमले आफ्नो हात, आँखा र अनुहारले देखाएकी विभिन्न सङ्केत र इशाराको भरमा पढ्ने गर्दछन् ।

बाल कक्षादेखि माध्यमिक स्तरसम्मको पठनपाठनका साथै १० जोड २ र प्राविधिक क्षेत्रमा इञ्जिनीयरिङसम्मको पठनपाठन हुने यस विद्यालयमा सुस्त श्रवण भएका विद्यार्थीका लागि पनि विशेष कक्षा सञ्चालन भइरहेको छ । करिब दुई हजार बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा एकै सिफ्टमा सबै कक्षा तथा विद्यार्थीको पठनपाठन सम्भव नहुँदा दुई सिफ्टमा चलाउनु परेको प्रधानाध्यापक विनोद महतो बताउनुहुन्छ । कक्षा ११ र १२ को बिहानको अध्यापन सकेपछि १० बजेदेखि सुरु हुने माध्यमिक स्तरसम्मको पठनपाठन हुने गर्दछ ।

विद्यालयको एउटा कक्षा कोठामा १६ जना बालबालिकालाई एक्ली बहिरा शिक्षिकाले पढाइरहेको हेर्न सकिन्छ । उहाँले विशेष शिक्षाअन्तर्गत साङ्केतिक भाषामा कक्षा १ देखि ४ सम्म सर्लाहीबाट र कक्षा ५ देखि १० सम्म रौतहटको चन्द्रनिगाहपुरबाट अध्ययन गर्नुभएको थियो । कक्षा ११/१२ को पढाइ पोखराबाट पूरा गर्नुभएकी उहाँले साङ्केतिक भाषामै सिरहाबाट नेपाली भाषामा बटिएड।सम्मको अध्ययन गर्नुभएको हो । त्यसपछि उहाँले त्रिभुवन विद्यालयमा बहिरा विद्यार्थीका लागि सञ्चालित विशेष कक्षामा पढाउने जागिर करारमा पाउनु भएको हो ।

कानले राम्ररी सुन्न नसक्ने र मुखले पनि राम्ररी बोल्न नसक्ने भएकाले उहाँ र उहाँका विद्यार्थीलाई बाहिर कहाँ, के भइरहेको छ भन्ने कुरामा खासै चासो रहेको पाइँदैन । सायद त्यसैले होला सबै विद्यार्थीहरु पठनपाठनमा निक्कै अब्बल र मेधावी देखिएको प्रधानाध्यापक महतो बताउनुहुन्छ । बालबालिकाहरुले कसरी शिक्षिका गौतमको सबै कुरा बुझ्छन् र कसरी उहाँसँग इशारा र सङ्केतमै कुराकानी गर्छन् भन्नेमा धेरैलाई अनौठो र आश्चर्य लाग्नसक्छ । बालबालिकाहरुले कुराकानी मात्रै नभएर उहाँको सङ्केत र इशाराकैभरमा आफ्नो अध्ययन अध्यापनलाई पनि अगाडि बढाएका छन् । इशारा र सङ्केतकै भरमा उनीहरु शिक्षिका गौतमले भनेको कुरा लेखेर, गृहकार्य गरेर र कक्षामा प्रस्तुत गरेर पनि देखाउँछन् ।

ती सबै विद्यार्थी कक्षा १ देखि ५ सम्म अध्ययनरत छन् ।  प्रत्येक वर्ष अन्य छात्रछात्राहरु सरह बहिरा बालबालिकाले पनि परीक्षा दिने र उत्तीर्ण भएर नयाँ कक्षामा जाने गरेको शिक्षिका गौतम बताउनुहुन्छ । कक्षाकोठाको चारैतिरको भित्तामा विभिन्न सन्देशमूलक र बालबालिकालाई अध्ययनको लागि उपयोगी हुने चित्र र सङ्केतहरु कोरिएको छ । विद्यार्थीहरुले ती चित्र र सङ्केतहरु र आ–आफ्नो कापी किताबको माध्यमले अध्ययन गर्ने गर्दछन् । आफूजस्तै फरक क्षमता भएका विद्यार्थीलाई पढाउन पाउँदा आफू निक्कै खुसी भएको बताउँदै शिक्षिका गौतमले शिक्षाको ज्योतिले आफू जस्तै बालबालिकालाई आफूजस्तै संसार हेर्ने र बुझ्ने बनाउन पाउँदा निकै खुसी लागेको त्यहाँ पुगेका सञ्चारकर्मीलाई लेखेर देखाउनुभयो ।

उहाँले बहिरा बालबालिकालाई पठनपाठन गराउँदा देखिएका चुनौतीको बारेमा सोध्दा उहाँ भन्नुहुन्छ, ‘‘सुस्त श्रवण ९फरक क्षमता० भएका छात्रछात्राहरु सामान्य मानिसभन्दा अलिक फरक हुन्छन् ।’’ त्यस्ता क्षमता भएका बालबालिकाहरु सामान्य विद्यार्थीभन्दा बढी जिद्धी, झगडालु, चाँडै रिसाउने र भाग्न खोज्ने प्रवृतिको हुने गरेकोले उनीहरुलाई सम्हाल्न निक्कै समस्या र कठिनाइ हुने गरेको उहाँले बताउनुभयो ।

अन्य कक्षा जस्तो वैकल्पिक शिक्षिक, शिक्षिका नहुँदा एक्लैले दिनभर पढाउनुपर्दा आफू र विद्यार्थीहरु पनि थकित हुने गरेको उहाँको गुनासो छ । शिक्षिका गौतमले अरु शिक्षक, शिक्षिका सरह सामान्य परिस्थितिमा बिदा पनि पाउनुहुन्न । बिरामी वा अन्य कारणले उहाँ विद्यालय आउन नसकेको दिन ती विद्यार्थीले राम्ररी पढ्न पाउँदैनन् । आफू विद्यालय आउन नसक्ने दिन आफैँले विकल्पको रुपमा अरु शिक्षक ल्याउनुपर्ने र विद्यार्थीलाई पनि सम्झाइबुझाइ जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

शिक्षिका गौतमले विद्यार्थीहरु त आफूजस्तै भएकाले उनीहरुसँग बस्न, पठनपाठन गर्न कुनै समस्या नभएको तर विद्यालयमा बाहिरबाट आएका आगन्तुक, अतिथि र अन्य व्यक्तिहरुसँगको संवादको लागि विद्यालयमा बहिरा विद्यार्थी र आफ्नै लागि पनि दोभासेको व्यवस्थापन गरिनुपर्ने माग गर्नुभयो । शिक्षिका गौतम फरक क्षमताका बालबालिकाहरु देशभर नै रहेकाले उनीहरुलाई पढ्ने वातावरण निर्माण गर्न तीनै तहका सरकारहरुले गम्भीरता देखाउनुपर्ने बताउनुहुन्छ । प्रत्येक गाउँबस्तीमा रहेका सुस्त श्रवण भएक बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् र सामान्य नागरिक जस्तो बोल्न र सुन्न नसके पनि शिक्षाको माध्यमले ज्ञानको ज्योतिको साहारामा यस संसारमा सम्मानित जीवनयापन गर्न सकुन् भने उहाँको धारणा रहेको छ ।

उहाँ फरक क्षमता भएकाहरुका लागि जिल्ला, प्रदेश र सङ्घमा रहेका विभिन्न सङ् सस्थाहरुमा समेत आवद्ध हुनुहुन्छ । हाल उहाँ महोत्तरी जिल्ला बहिरा सङ्घको अध्यक्ष हुनुहुन्छ भने राष्ट्रिय बहिरा महासङ्घ मधेश प्रदेशको सचिव हुनुहुन्छ । त्यसैगरी राष्ट्रिय बहिरा महासङ्घको केन्द्रीय सदस्य र राष्ट्रिय अपाङ्ग महासङ्घको मधेश प्रदेश सदस्यको रुपमा समेत शिक्षिका गौतम कार्यरत रहनुभएको छ । फरक क्षमताका सवालहरुमा देश विदेशमा आयोजना हुने सभासमारोहमा पनि उहाँको प्रतिनिधित्व रहने गर्दछ । प्रधानाध्यापक महतोका अनुसार त्यस विद्यालयमा २० वर्षदेखि विशेष कक्षा (सुस्त श्रवण कक्षा) सञ्चालन हुँदै आएको छ । उहाँले अहिलेसम्म यस विद्यालयबाट थुप्रै विद्यार्थीले प्राथमिक शिक्षा पाएर यहाँबाट गइसकेको बताउनुभयो । यहाँबाट उत्तीर्ण भएका विद्यार्थी सिरहा र सर्लाहीसहितका जिल्लामा जाने गर्दछन् ।

शिक्षिका गौतम जस्तै थप शिक्षक, सुस्त श्रवण भएका विद्यार्थी र शिक्षकलाई बाहिरी व्यक्तिसँगको संवादका लागि दोभासे र उनीहरुको समूचित व्यवस्थापनका लागि आफूले पटक–पटक सम्बन्धित निकायमा लिखित र मौखिक रुपमा माग गर्दै पत्राचार गर्दै आएको प्रधानाध्यापक महतोले बताउनुभयो । विशेष कक्षा सञ्चालनका लागि यस विद्यालयमा शिक्षा मन्त्रालयबाट प्रत्येक वर्ष प्रतिविद्यार्थी रु चार हजारका दरले प्राप्त हुने गरेको र त्यसै रकमबाट विद्यालयले उनीहरुको आवास, खानपिन, लत्ताकपडादेखि शैक्षिक सामग्रीको व्यवस्थापन हुँदै आएको छ ।