९ आश्विन २०८१, बुधबार
,
Latest
राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै अध्यागमनको ‘इमेज’ सुधार आवश्यकः गृहमन्त्री लेखक राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्ण: अध्यक्ष दाहाल ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं: मेयर महर्जन नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबी प्रक्षेपण ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्: महासचिव पोखरेल मधेस प्रदेश सरकारका सय दिने कार्य विवरण सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता



अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मङ्गलबार दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

दक्षिण कोरियाका विदेशमन्त्री चो ताय‐युलसँग भएको भेटमा नेपाल– कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे छलफल भएको परराष्ट्रमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध पारस्पारिक सम्मान र समझदारीमा आधारित रहेको तथा त्यसलाई आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको थियो ।

त्यसैगरी उहाँहरूबीच यस वर्ष दुवै देशले मनाइरहेको नेपाल– कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवका बारेमा पनि कुराकानी भएको थियो । नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

परराष्ट्रमन्त्री डा देउवाले कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीका अवसरमा उच्चस्तरीय भ्रमणबाट दुई देशको सम्बन्ध थप बलियो र विस्तारित हुने भन्दै विदेशमन्त्रीमार्फत कोरियाली राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण पनि गर्नुभयो ।

भेटका क्रममा पछिल्लो समय रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपालीलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकहरूलाई दक्षिण कोरिया सरकारले प्रदान गरिरहेको छात्रवृत्तिका लागि परराष्ट्रमन्त्रीले सरकारका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । साथै विगत लामो समयदेखि नेपालको सामाजिक, आर्थिकलगायत क्षेत्रमा दक्षिण कोरिया सरकारले पुर्याउँदै आएको सहयोगको पनि उहाँले सराहना गर्नुभएको थियो ।

मन्त्री डा राणाले कोरियालाई नेपालमा थप लगानीका लागि पनि आग्रह गर्नुभएको थियो । नेपालमा प्रत्यक्ष लगानी गर्ने राष्ट्रमध्येको दक्षिण कोरिया प्रमुख देश हो । अघिल्लो आर्थिक वर्षमा नेपालमा दक्षिण कोरियाको करिब रु १२ अर्ब लगानी आएको थियो ।

नेपालले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्, सुरक्षा परिषद्मा उम्मेदवारी दिएकाले कोरियाली सहयोगका लागि परराष्ट्रमन्त्रीले आग्रह गर्नुभएको थियो ।

त्यसैगरी, मन्त्री देउवाले मङ्गलबार नै फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालोसँग पनि भेटवार्ता गर्नुभयो । त्यस क्रममा उहाँहरूबीच आपसी हित र साझा चासोका साथै भावी सहकार्यबारेमा कुराकानी भएको थियो । साथै परराष्ट्रमन्त्रीले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्, र सुरक्षा परिषद्मा नेपाललाई सघाउन फिलिपिन्ससँग अनुरोध गर्नुभयो । रासस