४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध

नगरप्रमुख छाडेर सङ्क्रमित बोक्दै चालक

नगरप्रमुख छाडेर सङ्क्रमित बोक्दै चालक
अ+ अ-

गलकोट । कोरोना कहरमा शुरुको समय अत्यन्तै कठिन थियो । कोरोना सङ्क्रमित मात्रै होइन, कोरोनाको आशङ्का गरिएकालाई समेत अस्पताल ल्याउन एम्बुलेन्स चालकले नमानेको अवस्था थियो । नेपालकै छैटाँै सङ्क्रमितका रूपमा रहनुभएका बागलुङ नगरपालिका–३ का ६५ वर्षीय महिलालाई लिन गत चैत दोस्रो हप्ता अस्पतालबाट हिँड्न थालेको रेडक्रसको एम्बुलेन्स चालक नै फरार भएपछि स्वास्थ्य कार्यालयका सवारी चालकले सङ्क्रमितलाई अस्पताल ल्याएका थिए । 
 
यस्तो घटना पुनः काठेखोला गाउँपालिका–५ मा आरडिटी पोजेटिभ देखिएका एक महिलालाई बोक्न रेडक्रस बिहुँ शाखाका एम्बुलेन्स चालक मानेनन् । शुरुमा केही असहज परिस्थितिमा एम्बुलेन्स चालक सङ्क्रमित बोक्न नमानेपछि नेपाल रेडक्रस सोसाइटी बिहुँ शाखा र पैयुपाटा स्वास्थ्यचौकीको एम्बुलेन्सले कोरोना सङ्क्रमित बोक्न थालियो । यद्यपि चालकको अभावै खड्किएपछि बागलुङ नगरपालिकाका हलुका सवारी चालक कमल कार्कीलाई मानवीय भावना पैदा हुन थाल्यो र स्वतःस्फूर्तरूपमा कोरोना सङ्क्रमितलाई बोक्न थाल्नुभयो ।

गत चैत महिनाको पहिलो सातासम्म बागलुङ नगरपालिकाका प्रमुखको सवारी चलाउँदै आउनुभएका काठेखोला गाउँपालिका–७ रेशका ४० वर्षीय कार्कीले नगरपालिकाकै अर्का सवारी चालकलाई नगरप्रमुखको सवारी चलाउन दिएर आफूले सङ्क्रमितलाई एम्बुलेन्समा बोक्दै आउनुभयो । अन्य समयमा  नगरपालिकाको अर्को सवारीमा स्वाब सङ्कलनमा जाने स्वास्थ्यकर्मी बोक्दै आउनुभएको थियो । सत्र वर्षदेखि नगरपालिकामा काम गर्दै आउनुभएका कार्कीले १४ वर्षदेखि नगरपालिकाको शुरुमा कार्यकारी अधिकृतको सवारी र पछिल्लो समय नगरप्रमुखको सवारी चलाउँदै आए पनि गत चैतदेखि उहाँले एम्बुलेन्स र नगर स्वास्थ्यकर्मीको सवारी चलाउँदै आउनुभएको छ । अहिलेसम्म १८०  सङ्क्रमित र दुई सङ्क्रमितको शव एम्बुलेन्समा बोकिसकेको चालक कार्कीले बताउनुभयो । 

“शुरुमा एम्बुलेन्स चालक सङ्क्रमित बोक्न नमानेको कुरा मैले सुनेको थिएँ, सङ्क्रमितले चालक नपाएर दुःख पाएको थाहा पाएपछि मेयर’सापको सवारी चलाउँदै आएको म एकाएक एम्बुलेन्स चलाउन थालेँ”, सवारी चालक कार्कीले भन्नुभयो, “आखिर चालकले सवारी नै चलाउने हो, सङ्कटमा मानवीय सेवा गर्नुपर्छ भन्ने कुरा मनमा आएपछि सङ्क्रमित बोक्न थालेको हुँ ।” नगरपालिकाको चालक रहेका कार्कीले नगरपालिकाको स्वास्थ्य शाखाको सवारीसमेत चलाउँदै आउनुभएको छ । उहाँले नगरपालिकामा कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब सङ्कलन गर्न जाने स्वास्थ्यकर्मी र क्वारेन्टिनमा खाना पुर्याउनका लागिसमेत नगरपालिकाको सवारी चलाउँदै आउनुभएको छ । 

“सङ्क्रमित बोक्नेबाहेक मैले कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई गाउँमा पुर्याउने काम गर्दै आएको छु”, कार्कीले भन्नुभयो, “आफू सुरक्षित भएर सङ्क्रमित बोक्दा सङ्क्रमण सर्ने जोखिम हुँदैन”, पिपिइको प्रयोग गरेर सङ्क्रमित बोक्दा सङ्क्रमण नसर्ने भएकाले अन्य चालकलाई समेत नडराउन उहाँ सुझाव दिनुहुन्छ । उहाँले नगरपालिकाको चालकले पाउने तलब भत्ताबाहेक अग्रमोर्चामा खटिने जोखिम भत्ता र सङ्क्रमित बोकेको भत्तासमेत पाउँदै आउनुभएको छ । एकपटक सङ्क्रमित बोकेमा बागलुङ नगरपालिकाले रु दुई हजार ५०० दिँदै आएको कार्कीले बताउनुभयो । 

अन्य समयभन्दा पिपिइ लगाएर सवारी चलाउँदा निकै समस्या हुने कार्कीको अनुभव छ । उहाँले बलेवाको अमलाचौर, भकुण्डे, पैयुपाटा, बिहुँसम्म पुगेर सङ्क्रमितलाई एम्बुलेन्समार्फत धवलागिरि अस्पताल ल्याउँदै आउनुभएको छ । निकै जोखिमपूर्ण काम रहेको भन्दै एम्बुलेन्स चालकले हात धोएको समयमा आफूले जागिरभन्दा पनि सङ्कटमा मानवीय सेवा र दायित्व सम्झेर सहयोग मात्रै गरेको कार्कीको भनाइ छ । “धेरैबेर पिपिइ लगाएर सवारी चलाउन निकै समस्या हुन्छ, दिसापिसाबसमेत रोकेर राख्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “जागिर मात्रै खाने भए त मलाई कुनै दुःख गर्नुपर्ने थिएन, सरर।।। एसी गाडीमा मेयर’सापलाई बोक्दा सहजै हुन्थ्यो, तर सङ्कटको घडीमा केही सेवा गरौँ भन्ने लागेर एम्बुलेन्स चालक भएँ ।”

एउटै एम्बुलेन्समा आठ जनासम्म कोरोना सङ्क्रमित एकैपटक बोकेको अनुभवसमेत कार्कीसँग छ । बागलुङ जिल्लाको अन्य स्थानीय तहमा भन्दा बागलुङ नगरपालिकामा धेरै सङ्क्रमित भएका कारण आफूले जिल्लामै सबैभन्दा बढी सङ्क्रमित बोकेको उहाँको भनाइ छ । शुरुमा गाउँबाट समेत सङ्क्रमितलाई जिल्ला सदरमुकामस्थित धवलागिरि अस्पतालमा उपचारका लागि ल्याउनपर्ने भएकाले आफूले धेरै सङ्क्रमित बोक्ने अवसर पाएको उहाँको भनाइ छ । अहिलेसम्म सुरक्षित भएर एम्बुलेन्स चलाएका कारण आफूलाई कोरोना सङ्क्रमण नभएको उहाँको भनाइ छ । 

परिवारसँग छुट्टै बस्नुको पीडा 

सङ्क्रमित बोक्न थालेपछि कार्की अधिकांश समय परिवारबाट अलग्गै बस्दै आउनुभएको छ । सङ्क्रमित बोकेको अवस्था र सङ्क्रमणको जोखिम लागेमा नगरपालिकाको स्वास्थ्य शाखामै बस्दै आउनुभएका कार्की पिसीआर रिपोर्टका आधारमा मात्रै परिवारसँग बस्दै आउनुभएको छ । “चैतदेखि यता धेरै समय परिवारसँगै छुट्टै बस्दै आएको छु”, कार्कीले भन्नुभयो, “आफूलाई लागिहाले पनि परिवारलाई नसरोस् भन्नका लागि अधिकांश समय छुट्टै बस्दै आएको छु ।”

प्रतिवादी र जुवाडेले हिरासत भरियो, कोरोना जोखिम बढ्यो

पछिल्लो समय बागलुङ प्रहरीको सक्रियतासँगै धमाधम फरार प्रतिवादी र जुवाडे पक्राउ परेका छन् । हालसम्म १३९ फरार प्रतिवादी र २८ जुवाडे पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसरी धमाधम पक्राउ गरेको प्रतिवादी र जुवाडेका कारण हिरासत र कारागारमा समेत कोरोनाको जोखिम बढेको छ । 

कोरोना सङ्क्रमणको जोखिमका बीच प्रहरीले धमाधम पक्राउ गरेपछि हिरासत र कारागारमा कोरोना जोखिम बढेको हो । यद्यपि प्रहरीले सक्दो सचेतता अपनाइएको जनाएको छ । कोरोनाको जोखिममा केही चुनौती देखिए पनि हालसम्म सक्दो सुरक्षा सचेतता अपनाएर पक्राउ गरिएकालाई हिरासतमा राखिएको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । “हिरासतलाई चार भागमा विभाजन गरेका छौँ”, श्रेष्ठले भन्नुभयो, “हामीले पिसीआर गरेर मात्रै हिरासत र कारागारमा पठाउँदै आएका छौँ, यसमा धवलागिरि अस्पतालले समन्वय गरिराखेको छ, पिसीआर गरेको, नमूना सङ्कलन गरेको र नयाँलाई छुट्टाछुट्टै कोठामा राख्दै आएका छौँ ।”
  
कारागारमा समेत पछिल्लो समयमा ७० फरार प्रतिवादी थपिँदासमेत कोरोना सङ्क्रमण नफैलिएको कारागार प्रमुख मोहन उपाध्यायले जानकारी दिनुभयो । “हालसम्म ७० जना जति नयाँ कैद भुक्तानका लागि थपिए, उच्च सतर्कता अपनाउनाले हालसम्म कोरोनाको लक्षणसमेत देखिएको छैन”, कारागार प्रमुख उपाध्यायले भन्नुभयो, “कारागारको क्षमता विस्तार गरेका छौँ, पिसीआर गरेर प्रहरीले पठाउँदासमेत नयाँ कैदीबन्दीलाई अहिले बनेको नयाँ भवनमा राख्दा सहज भएको छ ।” उपाध्यायका अनुसार फरार प्रतिवादीमध्ये ३० जना एक वर्षसम्मको कैद भएकालाई कोरोना जोखिमलाई ध्यानमा राखेर जिल्ला अदालतले सजायलाई रकममा बदलेर भुक्तानीपश्चात छाडिसकेको छ ।

कारागारमा हाल १४२ कैदीबन्दी छन् । शुरुमा ४५ जना क्षमताको कारागार हालै विस्तार भएर ९० जना क्षमताको बनाइएको छ । प्रहरीले पिसीआर गरेर मात्रै हिरासत र कारागार पठाएपछि धमाधम कारागारमा कैदी र पक्राउ गरी हिरासतमा राखिएका थपिँदासमेत कोरोना सङ्क्रमणको जोखिम नभएको प्रहरीको भनाइ छ ।