४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आज पनि पृथ्वीको न्याय आवश्यक छ ? 

आज पनि पृथ्वीको न्याय आवश्यक छ ? 
अ+ अ-

न्याय नपाए गोरखा जानु, विद्या हराए कास्की जानु भन्ने लोकोक्ति गोरखामा राम शाहकै पालादेखि प्रचलित थियो । पृथ्वी त्यही परिवारको एक उत्तराधिकारी थिए, गोरखाभूमिका राजा भए । पृथ्वीले माटो, प्रजा, इतिहास र संस्कृतिमाथि सधैँ न्याय गरे । पराजित गराएका राजाहरुलाई समेत सहयोग दिए । विजय गरेको राज्यलाई पराई सोचेनन् बरु गोरखाली जनतालाई नेपाली बनाए, गोरखाली संस्कृतिमा पूर्णविराम लगाएझै ती सबैलाई नेपालीसंस्कृतिमा मिसाइदिए । सद्विचार, सद्भाव। सद्समन्वय नभइ मुलुक बन्दैन भन्ने उनको चिन्तन देखिन्छ ।

आफन्तवाद, भ्रष्टाचारले राष्ट्रको जग हल्लिन्छ भन्ने ठम्याइथियो । पृथ्वीले भनेका छन् – ‘न्यायनिसाफ बिगार्ने भनेका घूष दिने र घूष खाने व्यक्ति हुन्, यी देशका महान शत्रु हुन्. यिनको जिऊ धन दुवै हरणगरी लिए पनि पाप लाग्दैन. । त्यसबेलाको राष्ट्रिय आयस्रोत कति नै थियो र ? कर्मचारीतन्त्रभन्दा सैन्यतन्त्रको माहोल अधिक थियो । आर्थिक अपचलन गर्नेलाई पाप ठान्ने समयमा पनि उनको सोच त्यहाँसम्म पुगेको थियो । भ्रष्टाचार गर्नेलाई सबैभन्दा कडा दण्ड दिने उनको नीति आजसम्म पनि धर्म र कानुनसमेत छ ।

भ्रष्टाचार हुनै नदिने र भएमा दण्ड दिने पक्षमा न्यायालय र दलहरु हुनुपर्छ । एक राजाको, एक योद्धाको, एक शासकको, एक अभिभावकको, एक नेताको रुपमा उनीलाई धारेहात लगाउनुपर्ने अवस्था आजसम्म कहाँ छन् ? उनले भने– “प्रजा मोटा भया दरबार बलियो रहन्छ. राजाका भण्डार भन्याका रैतानहरू हुन्.” । उनले जनतालाई दास, सेवकका रुपमा लिएनन् । शासक र जनता एकै परिवारका सदस्य भएको सन्देश दिए ।

गणतान्त्रिक सरकारमा यो संस्कार भएमा बालुवाटार, गिरिबन्धु, ओम्नी, भूटानीशरणार्थीकाण्ड भोग्नुपर्ने थिएन । चाणक्यले भनेका थिए– “प्रजासुखे सुखं राज्ञ: प्रजानाञ्च हिते हितम् । नात्मप्रियं प्रियं राज्ञ: प्रजानान्तु प्रियं प्रियम् ।।”  प्रजाको सुखमा राजाको सुख, हित र भविष्य छ । राजाको अलगै कोही प्रिय केही छैन, प्रजाले रुचाएकै राजालाई प्रिय हुनुपर्छ । जो न्यायको बाटोमा हिँड्छ उसैले अरुलाई पनि हिँडाउन सक्छ ।

पृथ्वीले योद्धालाई मात्र होइन विद्वान्, साधक, सन्त आदिबाट आशीर्वाद लिए, मार्गदर्शन मागे र राष्ट्रहितमा उत्तिकै सदुपयोग गरे । एक मोहर दिएर अर्थ संकलन गराउने विसे नगर्ची, उपत्यकाका राजा बन्ने आसा देखाउने, भानु जैसी र कुलानन्द ढकाल, पश्चिमा राज्यलाई नियन्त्रण गराउन सहयोग गर्ने योगी भगवन्तनाथलाई मार्गदर्शकको रुपमा लिए । भगवन्तनाथको २२से र २४से राज्यमा राम्रो पहुँच र सम्मान भएकाले पृथ्वीनारायणले गोरखनाथको रुपमा आदर गरे । योगीको तपोबल, अनुभव र आशीर्वादमात्र होइन एकीकरणमा आर्थिक रुपले ठूलो सहयोग लिए । गोरखाका नाथहरुले कार्तिक र चैत्रमहिनामा फेरी लगाउँथे । उनीहरुले एउटा फेरीको आय आफूले राखेर अर्को राज्यलाई बुझाउँथे । सेनालाई योगीको भेषमा उपत्यकामा पठाई यहाँका बाटोघाटो, प्रजाको विचार र राज्यको अवस्था बुझ्थे । महात्माहरुको सेवाका लागि गुठी राखिदिए ।

चौबीसी सेनाले वि. सं. १८१२ मा गोरखाको सिîानचोकमा आक्रमण गर्दा गोरखाली सैनिकले बल्लतल्ल विजय पाए । पाल्पासँग सन्धि गरी लमजुङ र तनहुँलाई रोक्न सक्ने पृथ्वीले बुझेका थिए । उनीहरुका बिचमा फुट ल्याउन सम्बोधन, सम्मान, सन्धिद्वारा नजिक बनाएझैँ गर्थे । यसकारण काश्की र तनहुँलाई फकाउने काम गरिरहे ।

वि. सं. १८२० जेष्ठवदि ७ मा गोरखा र तनहुँबीच सन्धि भयो । पृथ्वीनारायणले वि. सं. १८२४ मा ज्योतिषी कालु पाँडेलाई लेखेको पत्रमा भीरकोटे राजालाई बाज पठाएको, पाँचसय रूपैयाँ भीरकोटे चौतारालाई एक हात्तीसमेत छिटै पठाउने पत्र लेखेका छन् । उनले ज्योतिष र पण्डितहरुलाई उचित रुपले परिचालन गरेको देखिन्छ ।

पृथ्वीनारायणले जनतालाई न्याय दिन कटिबद्ध रहन्थे, न्यायको ढोका खुल्ला राखेर न्यायको उज्यालो बाँडे । “ठकुरी जाँची डिट्ठा राख्नु, मगर जाँची विचारी राख्नु, कचहरी (अदालत) पिच्छे एकएक पण्डित राखी निञा (न्याय) शास्त्रबमोजिम चलाउनु, राजाले ठुलो निञानिसाफ हेर्नु, अन्याय मुलुकमा हुन नदिनू” भने । धर्मशास्त्र र व्यवहारलाई चिन्तन गरी न्याय गर्ने परम्परालाई निरन्तरता दिए । उनले एक उच्च अदालतको रूपमा नुवाकोटको अदालत काठमाडौँमा सारेका थिए । यसलाई गोश्वारा अदालतमा राखिएको ऐतिहासिक तथ्यले बताउँछ । दण्डबाट आएको पैसा राजकाजमा प्रयोग नगरी फकिर, जोगीमा बाँडिदिनु । जैसा अन्न उइसा मन जैसा पानी उइसा वाणी भनेझैँ अन्यायबाट आर्जित आयले जीवन र बुद्धिलाई वरवाद गराउँछ भन्ने पृथ्वीलाई थाहा थियो ।

पृथ्वीले आफ्ना पुर्खा राम शाहसहित अग्रज नरेश जयस्थिति मल्ल, महेन्द्र मल्लको न्याय व्यवस्थाबाट निकै प्रभावित थिए । दिव्योपदेशमा उनले भने – “राजा राम शाहले बाँध्याको स्थिति पनि हेरिसकेँ. राजा जयस्थिति मल्लले बाँध्याको स्थिति पनि हेरिसकेँ. राजा महेन्द्र मल्लले बाध्याको स्थिति पनि हेरिसकेँ. ईश्वरले दियो भन्या म पनि यस्ता बन्देजको बार हजार (सम्पूर्ण नेपाल) को स्थिति बाँधी जाँला भन्या अभिलाषा थियो.” ।

हाम्रा न्यायालय, न्यायाधीश र न्यायकर्मीहरुले पृथ्वीबाट कहिले सिक्ने ? संविधान, कानुन र नियमावलिले त्यस देशको मानिस र माटोलाई चिन्नुपर्छ, अदालतले नागरिकलाई बुझ्नुपर्छ । न्यायमूर्तिहरुले मानिसका मानकहरुलाई विचार गर्नुपर्छ । पृथ्वीको तुलोमा अहिलेका न्यायालय, न्यायाधीश र न्यायबारे लेखिएका दस्तावेज कति गहकिला छन्, जोड्ने बेला आयो कि ?

पृथ्वीले अनुभव, शास्त्र र परम्परागत प्रणालीबाट कूटनीतिको ज्ञान हासिल गर्दथे ।न्याय सम्पादका आधार मान्थे । नेपाल (उपत्यका), लमजुङ र तनहूँको केन्द्रमा रहेको गोरखाराज्यले आफूलाई बचाउन हमेशा सचेत रहनुपरेको थियो । गोरखाराज्यनजिक तात्कालिक आठ राज्यमा शाहवंश एवं भारद्वाज गोत्रका राजा भएकाले एकीकरण गर्दा गोत्रहत्याको पाप लाग्ने अवस्था थियो ।

यसबाट बच्न उनले गोत्र परिवर्तन गरे । काशीमा विवाहको नाता जोडे, भक्तपुरका युवराज वीरनरसिंह तथा काठमाडौँका राजा जयप्रकाशसँग मित लगाए । मर्स्याङ्दी पश्चिमका कुनै राज्यलाई नेपालमा गाभ्न नसकेपछि भाइभारदार र आफन्तलाई राखेर दिव्योपदेश दिए । दिव्योपदेश आफैँमा कूटनीतिदर्पण हो । चीन र अङ्क जसँगको सम्बन्ध नै कूटनीतिक सम्बन्ध हो । उनले भने– “उप्रान्त यो राजे दुई ढुंगाको तरूल जस्तो रहेछ” ।

उत्तरको छिमेकी अर्थात् चीनसँगको सम्बन्धलाई उनले भने– “चीनवादसाहसित ठुलो घाहा राष्नु” । ठुलो घाहाले घनिष्ट दौत्य सम्बन्धलाई बुझाउँछ । ब्रिटिशहरुलाई लक्षित गर्दै उनले भने– “दषिनको समुन्द्रका वादसाहसित घाहा ता राष्नु तर त्यो महाचतुर छ.” दक्षिणको ब्रिटिश कम्पनीसँग सम्बन्ध बिगार्नु हुँदैन, नेपालको लागि कम्पनी सरकार खतरा छ । हिन्दूस्थानका राजारजौटालाई ब्रिटिशले आप्नो नियन्त्रणमा लिनेमा उनी ढुक्क थिए । फुटडालो राज करोको ब्रिटिश रणनीतिलाई पृथ्वीले बनारसको यात्रामा राम्रोसँग बुझेका थिए । कुनै दिन हिन्दूस्तानका जनता विद्रोहमा ओर्लिएमा ब्रिटिशलाई अप्ठेरो पर्छ र सुरक्षाको लागि नेपालतिर पस्ने सम्भावनालाई दिव्योपदेशमा व्यक्त गरे । हामी दुई ढुङ्काको तरुलजस्तो स्थितिमा छौँ । आज पनि नेपालका लागि भारत र चीनको बीच सन्तुलन कायम गरेर अगाडि बढÑनुपर्छ ।

पृथ्वीले भनेका थिए– “सन्धिसर्पन् हेरि गडि तुल्याई राष्नु र रस्ता रस्तामा भाजा हालि राष्नु र यक दिन त्यो बल आउन्याछ. जाइ कटक् नगर्नु. झिकी कटक् गर्नु र चुरेघाटिमा षुपै काटिन्याछ. पाच सात पुस्तालाई षजना पनि मिल्नेछ. श्रीगड्डाजिको साध पनि लाग्नैछ. लडाइँमा पुकेन भन्या लोलोपोतो अनेक कलछल गरिकन पनि” ।

जाई लागेर नजाने तर निहूँ खोजेर आएमा छोड्न नहुने सिद्धान्त पृथ्वीको आज पनि उत्तिकै सान्दर्भिक छ । नेपालको सीमा गड्डाजीसम्म पुर्‍याउनुपर्ने निर्देश दिएका थिए । चार किल्लाले घेरिएको सुरक्षित राजधानीको रूपमा काठमाडौँ उपत्यकालाई चित्रण गरेका छन् । यी किल्लाहरूमा तोप र सैनिक तैनाथ गरेमा दुश्मनले आक्रमण गर्न नसक्ने बताए ।

तोप, पोप, सेवाका नामबाट भारतवर्षलाई नियन्त्रणमा लिइरहेको देखेको कारण अंग्रेजसँग उनी सचेत थिए । आफू बलियो हुनका लागि फराकिलो भूगोल र विशाल सेनामात्र पर्याप्त हुँदैन आन्तरिक अवस्था मजबुद चाहिनेमा विश्वस्थ थिए । आन्तरिक कूटनीतिमा पृथ्वी अब्बल देखिन्छन् । पृथ्वीले वि. सं. १८२५ र वि. सं. १८३० मा सनदहरू जारी गरी कमारामुक्त गराए ।

कानुनद्वारा समाजलाई समयसापेक्ष सुधार गर्नुपर्नेमा उनको ध्यान गएको देखिन्छ । वैदिक परम्परअनुसार गोरखाली फौजले भात खादा लुगा फुकाल्नुपर्ने व्यवस्था थियो । वि. सं. १८१८ मा लुगा फुकाली भात खान लागेका गोरखाली फौजमाथि जयप्रकाश मल्लका फौजले एक्कासी आक्रमण गर्दा सङ्गट बेहोर्नुपरेको थियो । उनले सैनिकलाई निर्देशन दिए– “अबदेखि तिमीहरूले लडाइँमा हुकूम भएसम्म चोखो तिहुन पकाइ. लुगा लगाई खाजा भनी खानु यसमा प्रयश्चित्त पर्दैन” । युगानुकूलको युद्धधर्मको व्यवस्था गरिदिए । अर्थात् सैन्यलाई मनोवैज्ञानिक रुपमा बलियो बनाउने उनको कूटनीति थियो ।

नेपाली समाजमा विद्यमान चार वर्ण छत्तीस जातको वर्णाश्रम व्यवस्थालाई यथावत् राखी हिन्दूधर्मलाई प्रश्रय दिएका थिए । सामाजिक संरचनाका सन्दर्भमा– “मेरा साना दुख: ले आज्र्याको मुलुक होईन. सबै जातको फूलबारी हो. सबैलाई चेतना भया….. यो असिल हिन्दूस्थाना हो. आफ्ना कुलधर्म नछोड्नु.” भनेका छन् ।

पृथ्वीनारायण शाहले जाँड र भाङ खान, जुवा खेल्न वि. सं. १८२६ मा बन्द गराए । विशाल नेपालमा गाभिएपछि माझकिरात र पल्लोकिरातसहित चलिआएको प्रथा र संस्कारलाई यथावत् कायम गरिदिए । एकीकरणमा यसले सबैको रीतिथिति, चालचलन, चाडवाड, पूजाआजा, भेषभूषामा आँच आएन र नेपाल निर्माण हुन पुग्यो ।

पृथ्वीले त्यहाँको समाज, संस्कृति, सोच राम्रै बुझेका हुँदा पराजित राजा, रजौटा र त्यहाँका जनतालाई चोट पुग्ने गरी, होच्याउने गरी कुनै कदम उठाएनन् । उनीहरूको खान्गी, सुविधा, बिर्ता, गुठी र जागीर थामी दिएका प्रमाणहरूले पुष्टी गर्दछन् ।  सबैलाई माटोप्रति अपनत्व, राज्यप्रति आत्मीयता, मौलिकतामा गौरव, शासकप्रति गर्व उत्पन्न गर्न पृथ्वीले ठूलै मिहिनेत गरे ।

नेपालीसमाजलाई आज विदेशीले जात, धर्म, वर्ण, लिङ्ग, भूगोलका आधारमा फुटाउन खोजिरहेका छन् । दलहरु स्वार्थका लागि अराजकता र विदेशी प्रभावप्रति आँखा चिम्लिएका छन् । राष्ट्रमा एउटै लक्ष्य, भावना र सङ्गल्प भएका नागरिकबाट समृद्धि र शान्ति प्राप्ति गर्न पृथ्वीकै बाटो र चिन्तनमा अघि बढ्न आवश्यक छ । यसले पृथ्वीप्रति न्याय हुन्छ, वीरहरुप्रति सम्मान हुन्छ, पुर्खाप्रति श्रद्धा हुन्छ, माटोप्रति विश्वास हुन्छ ।