७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ



अ+ अ-

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका आठ थुनुवामध्ये चारजना पक्राउ परेका छन् ।

सोमबार बिहान करिव ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालय धनुषामा विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका ८ जना थुनुवा फरार भएका थिए ।

फरार मध्येहरुमा ५ जना लागुऔषध मुद्दाका अभियुक्तहरु हुन् भने बाँकी ३ जना अभद्र व्यवहार मुद्दाका थुनुवा हुन् । जसमध्ये अभद्र व्यवहारको मुद्दाका महोत्तरीको जलेश्वर नगरपालिका वडा नं ५ बस्ने श्याम झालाई प्रहरीले तत्कालै जनकचोकबाट पक्राउ गरेको थियो ।

यस्तै, तीनजनालाई प्रहरी धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा लागूऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका ७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यबहार मुद्दाका जनकपुरधाम ४ का २२ वर्षीय विक्की कार्की रहेका छन् ।

लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका २१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र धनुषाको औरही गाउँपालिका २ का २३ वर्षीय विशाल मुखिया, अभद्र व्यबहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका १ का १७ वर्षीय सुमित मेस्तर र नगराइन नगरपालिका २ का १८ वर्षीय मनिष मण्डल अझै फरार छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाको नयाँ भवनको १० फिटमाथि पुगेर भेन्टिलेटरको रड काटेर थुनुवाहरु फरार भएका थिए । थुनुवाहरुले रड काट्न ह्याक्सो ब्लेडको प्रयोग गरेका थिए ।

थुनुवा कक्षमा रड काट्न ह्याक्सो ब्लेडको पहुँचमा कसरी उनीहरु पुगे भन्ने बारेमा अनुसन्धान भइरहेको डिएसपी रञ्जन अवाले जानकारी दिनुभयो ।