२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा



अ+ अ-

क्यानडा । परराष्ट्रमन्त्री आरजु राणा देउवाले महिलाहरुलाई अहिले पनि राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अझै धेरै चुनौती रहेका बताउनुभएको छ ।

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उहाँले भन्नुभयो “महिला समानाता तथा समावेशी सहभागिताबारे कैयौँ कानुनी प्रावधान छन् र यससम्बन्धी मान्यताहरु पनि विकास भएका छन्, तर पनि महिलालाई नेतृत्वमा पुग्न भने अझै धेरै चुनौती छन् ।”

लैङ्गिक समानता एवं महिला अधिकारका विषयमा नेपाल र नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुले झन् धेरै समस्या झेल्नुपरिरहेको मन्त्री राणाको तर्क थियो ।

“संसारमा महिला वर्गको राजनैतिक, सामाजिक, आर्थिक र कानुनी अवस्थाको विश्लेषण गर्दा हाल संसारमा ११ प्रतिशतभन्दा कम राष्ट्रप्रमुख र १० प्रतिशतभन्दा कम सरकारप्रमुखहरू महिला छन् । महिलाहरू रोजगारीको ६० प्रतिशत अनौपचारिक अर्थतन्त्रमा केन्द्रित छन् र औसतमा पुरुषभन्दा तीन गुणा बढी समय अवैतनिक सेवा र घरेलु काममा महिला रहेका छन्” परराष्ट्रमन्त्री राणाले बताउनुभयो ।

कानुनी अधिकारको उपभोग एवं न्यायमा पहुँचका आधारमा पनि महिला संसारमै पछि परिरहेका उहाँले बताउनुभयो । उहाँले महिलाहरूले विश्वव्यापी रूपमा पुरुषले पाएका कानूनी अधिकारहरूको ६४ प्रतिशत मात्र अधिकार उपभोग गर्न सकेको अवस्था रहेको जानकारी दिनुभयो ।

“मानव अधिकारसम्बन्धी विश्व घोषणापत्रले समान अधिकारकोे घोषणा गरेको ७६ वर्ष बितिसकेको छ । त्यसयता चारवटा संयुक्त राष्ट्रसंघीय सम्मेलन र महिलाहरूका लागि कार्य योजना, सहस्राब्दी विकास लक्ष्यहरूको परिचय र दिगो विकास लक्ष्यजस्ता कार्यक्रम तथा छ ओटा लैङ्गिक समानता र महिला सशक्तिकरणसम्बन्धी कार्यक्रम लागू भइसकेका छन् । तर यतिका व्यवस्थाका बाबजुद पनि लैङ्गिक समानता एक प्रकारको भ्रमजस्तै बनेको छ । मलाई लाग्छ संसारकै महिला अझै पनि समान सहभागिता र अवसरबाट वञ्चित नै छन्” मन्त्री राणाले भन्नुभयो ।

नेपालमा पनि आफूहरुले निरन्तर रुपमा लैङ्गिक समानताका लागि लडिरहेको उदाहरण उहाँले सो बैठकमा पेश गर्नुभयो । जसका कारण नेपालका लक्षित नीति र कार्यले केही सुधार भने ल्याइरहेको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो “हामीले महिला समानताका लागि लडेको धेरै भयो । अहिले भने हाम्रो संविधानले सङ्घीय र प्रादेशिक संसदमा ३३ प्रतिशत र स्थानीय सरकारमा ४० प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । संविधान जारी भएको एक दशकमा नेपालमा हामीले महिला राष्ट्रप्रमुख, सभामुख र प्रधानन्यायाधीश पाएका छौँ । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्दछ ”

यस्तै कानुनी प्रावधानकै कारण नेपालको निजामति सेवामा २८ प्रतिशत महिला पुगेका छन् भने राज्यका सुरक्षा निकायहरुमा पनि महिला सहभागिता बढ्दो छ । त्यस्तै निजी क्षेत्रमा भने २९ प्रतिशतभन्दा बढी महिला व्यवस्थापक रहेका उहाँले बताउनुभयो । नेपालमा पूर्ण लैङ्गिक समानता अहिलेसम्म हासिल हुन नसकेको भए पनि महिला सहभागिता बढ्दै जानु सकारात्मक रहेको उहाँको भनाई थियो ।

मन्त्री राणाले भन्नुभयो “दुर्भाग्यको कुरा के छ भने हामीमाथि हुने हिंसा र भेदभाव गर्भबाटै सुरु हुन्छ र यसले जीवनभर नै निरन्तरता पाउँछ । यो असमानताको निराकरणका लागि व्यापक र सशक्त प्रयास जरुरी छ । यी प्रयासहरू विश्वस्तरदेखि स्थानीय तहसम्म नै पुर्याइनु जरुरी छ । यसका लागि सार्वजनिक र निजी क्षेत्रका सबै सरोकारवालाले सक्रिय भूमिका खेल्नुपर्छ । यस क्षेत्रमा अघि बढ्ने हरेक व्यक्तिका प्रयास परिवर्तनका लागि उत्प्रेरक बन्न सक्नेछन् ।”

त्यसैले समग्र संसारले नै लैङ्गिक समानता शान्तिपूर्ण र समृद्ध संसारको आधार हो भनेर मनन् गर्नुपर्ने उहाँको तर्क थियो । संसारमा महिला समानता र महिला अधिकारका क्षेत्रमा कानुनी प्रावधानहरुको खाँचो नरहेको तर्क गर्दै मन्त्री राणाले ती व्यवस्थाहरुलाई वास्तविक कार्यान्वयनमा उतार्न मानिसका व्यवहारमै परिवर्तन जरुरी रहेकोमा जोड दिनुभयो ।

सो बैठकमा विश्वका १६ देशका महिला विदेशमन्त्री सहभागी छन् । बैठकमा महिला समानता र सहभाागिता, महिला नेतृत्वको विकास, नेतृत्वमा पुग्न महिलाका चुनौती, गलत सूचना र यसले महिलालाई पारिरहेको प्रभाव आदि विषयमा छलफल भएको थियो ।