१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सुरु भयो पदयात्राको याम

सुरु भयो पदयात्राको याम
अ अ+ अ-

गण्डकी । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ । पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गसहित यहाँका पर्यटकीय गन्तव्यमा पर्यटक आउन सुरु गरेका छन् । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान)गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले मध्यअसोजदेखि पर्यटकको चहलपहल बढ्दै जाने जानकारी दिनुभयो ।

“विदेशी पर्यटकको बुकिङ आइरहेको छ, नेपालीहरु दसैँ आसपासमा बढी घुम्न निस्कन्छन्”, उहाँले भन्नुभयो, “पदयात्रा पर्यटन कोभिड–१९ अघिको स्थितिमा अझै नफर्केपनि सुधारतिर उन्मुख हुँदै गएको छ, यस याममा पर्यटक बढ्ने आशा छ ।” पोखरा–मुग्लिन सडक निर्माणमा भइरहेको ढिलाइले पनि यस क्षेत्रमा भित्रने पर्यटकको सहज आउजाउमा बाधा पुर्‍याइरहेको अध्यक्ष अचार्यको भनाइ छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग र हवाईयात्रालाई सुरक्षित एवं व्यवस्थित बनाउनुपर्ने उहाँले बताउनुभयो ।

कतिपय पुराना र स्थापित पदमार्ग सडकका कारण सङ्कटमा परेकाले तिनको विकल्प खोज्नुपर्ने अध्यक्ष आचार्यको भनाइ छ । उहाँले ‘टान’ले आउँदो साता पर्ने अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर पारेर नयाँ पर्यटकीय पदमार्गको प्रवद्र्धन गर्ने योजना बनाएको बताउनुभयो । उक्त संस्थाले पदयात्रा पर्यटनलाई थप व्यवस्थित बनाउन पथप्रदर्शकहरुलाई जैविक विविधता र पर्यावरणबारे अभिमुखीकरण गरेको थियो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का अनुसार असोज लागेयता पछिल्ला तीन दिनमा २५ सय ७७ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका १५ सय ७२ र अन्य मुलुकका एक हजार पाँच जना रहेका छन् । गत भदौमा दक्षिण एसियाली मुलुकका सात हजार तीन सय ६९ र अन्य मुलुकका पाँच हजार नौ सय एक गरी जम्मा १३ हजार दुई सय ७० पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । ‘एक्याप’ले पदयात्रा र सडकमार्ग भएर सो क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको तथ्याङ्क राख्दै आएको छ ।

आयोजना प्रमुख डा रविन कडरियाले अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहोरमुक्त बनाउने अभियान सञ्चालन गरिएकाले त्यहाँ जाने पर्यटकलाई सकेसम्म बोतल र प्लाष्टिकजन्य सामग्री नलैजान आग्रह गर्नुभयो । “उच्च पहाडी र हिमाली भेगमा जाँदा लेक लाग्ने घटना वृद्धि भइरहेकाले पर्यटकलाई विशेष सावधानी अपनाएर यात्रा गर्न अनुरोध गर्दछौँ”, उहाँले भन्नुभयो । गत आवमा अन्नपूर्ण क्षेत्रको भ्रमणमा निस्केका २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको डा कडरियाले जानकारी दिनुभयो ।

तीमध्ये छ जना नेपाली, ११ जना भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिक थिए । “अधिकांश लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन्”, डा कडरियाले भन्नुभयो, “हिमाली भेगको पदयात्रामा जाँदा विशेष ख्याल गर्नुपर्छ, एकैपटकमा उचाइमा पुग्नुहुँदैन, विश्राम लिँदै जानुपर्छ ।” लामो दुरीको पदयात्रामा निक्कँदा समूहमा या पथप्रदर्शक लिएर मात्र जानुपर्ने उहाँको भनाइ छ ।

पदयात्राका लागि प्रख्यात म्याग्दीको घोडेपानीका पर्यटन व्यवसायी जुली पुनले केही दिनयता मौसम खुलेसँगै पदयात्री पर्यटक आउने क्रम सुरु भएको बताउनुभयो । “विदेशीहरुले पदयात्रा रुचाउने भएपनि बढीजसो आन्तरिक पर्यटक सडकमार्ग भएर यहाँ आउने गरेका छन्”, उहाँले भन्नुभयो, “वर्षात्का बेला बिग्रेको सडक मर्मतसुधार हुन नसकेका कारण पर्यटकको आउजाउ सहज हुन सकेको छैन ।” जीर्ण सडकका कारण व्यवसायीहरुले आफूलाई चाहिने सरसामान ल्याउन पनि मुस्किल भइहेको उहाँले सुनाउनुभयो ।

व्यवसायी पुनले कोभिड–१९ अघिको अवस्थामा जस्तो विदेशी पर्यटक अझैपनि घाडेपानीमा भित्रन नसकेको बताउनुभयो । “पोखराको हवाईमार्गमा विभिन्न समयमा भएका जहाज दुर्घटनाले पनि पर्यटन क्षेत्रमा असर गरेको छ, काठमाडौँदेखि पोखरा जोड्ने राजमार्ग पनि समयमा नबन्दा समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “सरकारले पर्यटन क्षेत्रलाई उकास्न पूर्वाधार निर्माण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।”

अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने पर्यटकीय गन्तव्य हुन् । कास्कीको खुमै डाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङलगायत गाउँ पनि पदयात्राका लागि चिनिएका गन्तव्यस्थल हुन् । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिने ‘एक्याप’का प्रमुख डा कडरियाले बताउनुभयो ।

चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । गत वर्षको शरद याममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अन्नपूर्ण आधार शिविरको भ्रमण गर्नुभएको थियो । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् ।

अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन् ।

कुनैताका विदेशी पर्यटकले चिनाएको यस क्षेत्रको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ । नेपालको प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न मानिसहरु पदयात्रामा निस्कन्छन् । शारीरिक, मानिसक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले पनि पदयात्रा गर्नु उपयुक्त मानिन्छ । रासस