४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई



अ+ अ-

एजेन्सी । पचहत्तर वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधी आएको केही दिनपछि दोस्रो आँधीले प्रभावित गर्दा चिनियाँ सहर साङ्घाईका सडक र छिमेकमा शुक्रबार बाढी आएको छ ।

पुलासन आँधी बिहीबार राति साङ्घाईको फेङ्जियान जिल्लामा २३ मिटर प्रतिसेकेन्ड (८३ किलोमिटर प्रतिघन्टा) को वेगमा अवतरण गरेको सरकारी समाचार एजेन्सी सिन्ह्वाले बताएको छ ।

सिन्ह्वाले आँधी स्थलतर्फ अघि बढ्दै गर्दा क्रमिक रूपमा कमजोर हुने पूर्वानुमान गरिएको बताएको छ । यद्यपि शुक्रबार बिहान पनि वर्षा भइरहेको छ ।

शुक्रबार सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा साङ्घाइका बासिन्दाहरू घुँडासम्मको पानीमा हिँडिरहेको देखिन्छ । यद्यपि अहिलेसम्म कुनै गम्भीर क्षति वा हताहतको समाचार छैन ।

साङ्घाईका केही क्षेत्रले आँधी नजिकिँदै गर्दा बिहीबार आफ्नो चेतावनी स्तरलाई बढाएका थिए ।

बेबिनकाले सोमबार विध्वंश मच्चाएको केही दिनपछि पुलासन आँधी आएको हो । बेबिनका सन् १९४९ पछि साङ्घाईमा आएको सबैभन्दा शक्तिशाली आँधी थियो ।

बेबिनका आँधीबाट एक हजार आठ सयभन्दा बढी रुख ढलेका थिए भने ३० हजारभन्दा बढी घरमा विद्युत् काटिएको थियो । अधिकारीहरूले आँधी आउनुअघि साङ्घाईभर चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका थिए ।

हरितगृह ग्यासहरूको उत्सर्जनका कारण जलवायु परिवर्तन हुँदा अत्यधिक मौसमी घटनाहरूलाई धेरै पटक र तीव्र बनाउँदै लगेको वैज्ञानिकहरूले बताएका छन् ।

चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक हो । यद्यपि यस मुलुकको प्रतिव्यक्ति उत्सर्जन प्रतिद्वन्द्वी आर्थिक शक्ति संयुक्त राज्य अमेरिकाको तुलनामा कम छ ।