३१ श्रावण २०८३, आईतवार
,
Latest
मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

दहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो



अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ । जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पौराणिक महत्व बोकेको दहचाकस्थित इन्द्रदहमा स्नान तथा दर्शन गर्न भक्तजनको घुइँचो लागेको हो ।

देवताका राजा इन्द्र उक्त दहमा आएर स्नान गरेको जनविश्वास अनुसार हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट यो मेला लाग्दै आएको छ । यही दहमा देवराज इन्द्रले स्नान गरेको जनविश्वास अनुसार आज बिहानैदेखि स्नान र दर्शनका लागि भक्तजन आउने क्रम रहेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।

दशनार्थीलाई सहज रुपमा स्नान र दर्शन गर्ने व्यवस्था मिलाइएको बताउँदै उहाँले आज साँझसम्म करिब २० हजारले मेला भर्ने अनुमान गरिएको उल्लेख गर्नुभयो । आज मेला भर्न काठमाडौँसहित ललितपुर, भक्तपुर र उपत्यकाका आसपास क्षेत्रबाट धार्मिक पर्यटकको आगमन भइरहेको नगरप्रमुख गिरीले जानकारी दिनुभयो ।

मेलामा कुनै पनि सङ्कट आइनपरोस् भनेर मङ्गलबार साँझ दह तथा त्यस परिसरमा दिप प्रज्वलन गरिएको थियो । इन्द्रायणी तथा नारायणको मन्दिर रहेको यस परिसरमा वासुकी नागको ढुङ्गासमेत कलात्मक रूपले राखिएको छ ।

कलङ्कीबाट करिब नौ किलोमिटरको दूरीमा रहेको इन्द्रदह धार्मिक तथा ऐतिहासिक महत्व रहेकाले मेला लोकप्रिय बन्दै गएको नगरप्रमुख गिरीले बताउनुभयो । मेलामा सहभागी व्यक्तिको सुविधा तथा मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मीसहित करिब एक सय स्वयंसेवक परिचालन गरिएको छ ।

इन्द्रदहको पोखरीको पानीमा स्नान गरेर छेउमा रहेको इन्द्रको दर्शन गर्नाले जन्मजन्मको पाप नाश हुने जनविश्वास रहेको छ । चन्द्रागिरि–१ का पूर्ववडाध्यक्ष राजेन्द्र केसीका अनुसार इन्द्रदहको परिसर करिब दुई सय रोपनीेमा छ । भ्यूटावर, सडक स्तरोन्नति, बहुउद्देश्यीय भवनलगायत पूर्वाधार निर्माण सुरु भइरहेकाले आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । रासस