१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीयस्थल ऐनापहरातर्फ पर्यटकको आकर्षण



अ+ अ-

दमौली (तनहुँ) : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ ।

झरनामा रमाउँदै गर्मी छल्न आउने पर्यटकको घुइँचो लागेको स्थानीय पवन नेपालीले बताउनुभयो । पछिल्लो समय यो ठाउँ पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रीको समेत गन्तव्यस्थल बनेको उहाँले बताउनुभयो । नेपालीले भन्नुभयो, “गर्मी मौसममा यात्रा गर्नेलाई विश्रामस्थलका रूपमा यो ठाउँ विकास भइरहेको छ । अन्य दिनको तुलनामा बिदामा घुइँचो हुन्छ ।”

राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलका रूपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिपरेको बताउनुभयो । चुमानका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ । यहाँ दैनिक तीन सयभन्दा बढी पर्यटकले भ्रमण गर्ने गरेको अध्यक्ष चुमान बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “यसै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको हो ।” झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छभने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणको कामलाई अगाडि बढाइएको अध्यक्ष चुमानले बताउनुभयो । ऐनापहरामा उद्यान निर्माणका लागि गत आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको थियो ।

गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ ।

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढीखोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपिआरअनुसार रु १० करोड बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायत संरचना निर्माण गर्ने उल्लेख छ ।रासस