२१ मंसिर २०८२, आईतवार
,
Latest
केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः… संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे कर्णालीद्वारा जनकपुरसामु १३० रनको लक्ष्य प्रस्तुत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर (पूर्णपाठ)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्कटमा मादल बनाउने पेसा



अ+ अ-

घोडाघोडी, (कैलाली) । सुदूरपश्चिमको प्रवेशद्वार कैलालीको चिसापानी पुलबाट करिब छ किलोमिटर पश्चिममा पर्छ बल्चौर । लम्कीचुहा नगरपालिका—३ बल्चौरमा लामो समयदेखि सञ्चालनमा छ तीर्थ बाजा पसल । यहाँ मादल, तबला, दमु, ढोलकी बनाइन्छन् । पछिल्लो समय विभिन्न किसिमका बाजा बनाए पनि बिक्री हुन छाडेपछि खिन्न छन् तीर्थ बादी ।

पहिले बाजाहरूमध्ये सबैभन्दा बढी बिक्री हुने मादलसमेत अचेल बिक्री हुन छोडेको छ । यसले व्यवसाय नै सङ्कटमा परेको तीर्थ बादी बताउनुहुन्छ । “पहिले चाडपर्वहरूमा मादल पुर्‍याउनै सकिँदैनथ्यो, अहिले बिक्री नै हुँदैन । मगर गाउँका स्थानीय, थारु समुदायले धेरैजसो मादल किन्ने गर्दथे, अहिले पसलमा त आउँदैनन्, गाउँमा लगेर गए पनि किन्न त परै जाओस्, सोध्ने मान्छेसम्म भेटिँदैनन्”, उहाँले भन्नुभयो ।

विगतमा यही पेसाबाट छोराछोरीको लालनपालनदेखि पठनपाठन गर्दै आए पनि हाल व्यवसायबाट हातमुख जोड्नसमेत धौधौ  भएको तीर्थको गुनासो छ । “यसपटक पनि २५ वटा मादल बनाएर राखेँ । तीज आएपछि त बिक्री होलान् सोचेको थिए तर तीज सकियो, एउटा पनि मादल बिक्री भएको छैन”, उहाँले सुनाउनुभयो ।

प्रविधिको विकास भएसँगै पुराना व्यवसाय हराउँदै गएको अर्का व्यवसायी कृष्ण बादी बताउनुहुन्छ । “बुबाबाट सिकेको सीप हो, त्यसैलाई निरन्तरता दिँदै आएको थिए तर अब बन्द गर्नुपर्ने अवस्था आएको छ । सिजनका बेला ५०/६० वटासम्म मादल बेच्ने गरेकामा अहिले त चार/पाँच वटा बेच्न मुस्किल पर्छ”, उहाँले अगाडि भन्नुभयो,“पहिले यही व्यवसायबाटै घर खर्च, छोराछोरी पढाउन सकिन्थ्यो तर अहिले हिउँदको समयमा भारत जाने र पुर्खाको सीप जोगाउन सिजनमा बाजा बनाउनुपर्ने बाध्यता छ, त्यही पनि बिक्दैन ।”

व्यवसायी रविलाल बादीले डिजेलगायत आधुनिक बाजाका कारण मादल व्यवसायमा सङ्कट आएको बताउनुभयो । “पहिले रत्यौली, तीज, देउसीँभैलो, विद्यालयस्तरमा हुने सांस्कृतिक कार्यक्रमलगायतमा मादलको अनिवार्य प्रयोग हुने गथ्र्यो तर पछिल्लो समय मादलको सट्टा डिजे प्रयोग हुन्छ । त्यसैले पनि हाम्रो पेसा सङ्कटमा पर्‍यो ”, उहाँ भन्नुहुन्छ ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् टि एन जोशी मादल प्रयोग घटेसँगै परम्परागत संस्कृतिमा मौलिकता हराउँदै गएको धारणा राख्नुहुुन्छ । “केही दशक पहिले गाउँघरमा थुप्रै मादल बजाउने मान्छे भेटिन्थे तर अहिलेको पुस्तामा मादल बजाउन जान्ने मान्छे मुस्किलले भेटिन्छन्”, उहाँ भन्नुहुन्छ, “अब मौलिकता जोगाउन विद्यालयस्तरबाटै मौलिक बाजाको प्रयोग र सिकाइमा जोड दिनुपर्ने आवश्यकता छ ।”

नेपालको राष्ट्रिय बाजाको रूपमा रहेको मादल लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्ने दायित्व सरकारको भएको व्यवसायीका भनाइ छ । व्यवसायी तीर्थ बादी भन्नुहुन्छ, “अब आउने पुस्तालाई यसको महत्वको बारेमा बुझाउनुपर्छ । यो दायित्व सरकारको पनि हो । हामी त पुस्तौँदेखिको पेसा भएकाले माया लागेर पनि यसको संरक्षणमा लागिरहेकै छौँ ।”

सङ्कटमा पर्दै गएको व्यवसायलाई जोगाइ मौलिक बाजाको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले केही कार्यक्रम ल्याइदिनुपर्ने सबैजसो मादल व्यवसायीको माग छ । रासस