१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई भेटे रविले, उपसभामुखबारे के भने ?



फाइल तस्विर
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर लामिछानले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

रास्वपाकी सांसद्समेत रहेकी उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले तयारी गरिरहेको अवस्थामा प्रधानमन्त्रीलाई भेट्न लामिछाने बालुवाटार पुगेका हुन् ।

उपसभामुख हटाउन भइरहेको प्रयासबारे प्रधानमन्त्रीसँग सोधखोज गर्न लामिछाने बालुवाटार पुगेका हुन् । लामिछानेले त्यसबारे सोध्दा प्रधानमन्त्री ओलीले हल्ला भए जस्तो केही नभएको जवाफ दिएको बताइएको छ ।

कतिपय नेताहरुले उपसभामुखलाई हटाउन कांग्रेस र एमालेका नेताहरुले हस्ताक्षेरसमेत भइरहेको बताएका छन् । यसबारेमा पनि लामिछानेले प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए । तर, प्रधानमन्त्रीले यस विषयमा कुनै कार्यहरू अगाडि नबढेको बताएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार उपसभामुख हटाउने विषयमा प्रधानमन्त्रीले कुनै छलफल नगरेको जवाफ रविलाई दिएका थिए ।

प्रधानमन्त्रीले बाहिर हल्ला भए जस्तो केही नभएको बताए पनि उपसभामुखलाई हटाउने विषयमा सत्ता साझेदार दलहरूले पहल सुरु गरिसकेका छन । बिहीबारसम्म प्रतिनिधि सभा बैठकमा बहुमत सांसद्को हस्ताक्षर पेश गर्ने योजनासहित सत्तारुढ दल अघि बढेका हुन् ।

उपसभामुख सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँचजना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन् । सत्तारुढ दलहरूले यसैलाई आधार बनाएर उनलाई हटाउने तयारी गरेका हुन् ।

खासगरी प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषदमा बहुमतमा नभएका कारण उपसभामुखलाई हटाउन खोजेका हुन् ।

संवैधानिक परिषदमा बहुमतले निर्णय गरिन्छ । अहिले प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

जसमा सदस्यहहरूमध्ये प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना सरकारको विपक्षमा छन् ।