• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
Latest
★   भक्तपुरस्थित महेन्द्र शान्ति माविको भवन उद्घाटन ★   तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन ★   चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै ★   मेटमणिलाई कारबाही गर्न झलनाथको माग,भारतीय नागरिक बोलिरहेको कि नेपाली ? ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आज सुरु हुँदै ★   प्रधानमन्त्री ओली आउने भएपछि इन्द्रजात्रा छल्न बालेन भारतमा ! ★   मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा ★   मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु ★   आज इन्द्रजात्रा, कसरी मनाइन्छ यो पर्व ? ★   मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल

माधव नेपालको प्रष्टोक्ति: कसैलाई जिताउन वा हराउन चिट बाँडेको छैन



काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको पदाधिकारी निर्वाचनमा आफू कसैको पक्षमा नलागेको स्पष्ट पार्नुभएको छ ।

अध्यक्ष नेपालले केही दिनअघि भएको पार्टीको पदाधिकारी निर्वाचनमा कोही व्यक्ति विशेषलाई जिताउन वा हराउन आफूले चिट नबाँडेको स्पष्ट पार्नुभएको हो ।

उहाँले आफू पार्टी अध्यक्षको रुपमा सबैको साझा व्यक्ति भएको भन्दै निर्वाचनमा कुनै हस्तक्षेप नगरेको बताउनु भयो । यद्यपी निर्वाचनमा दश प्रकारका चिट बाँडिएको भन्दै चिटमा नाम परेकाहरु हार्ने र नाम नपरेकाहरु जित्ने निर्वाचन परिणाम आएकाले चिटले काम नगरेको स्पष्ट भएको उहाँको भनाई छ । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले पदाधिकारीमा सहमति जुटाउन नसकेपछि पदाधिकारीको व्यवस्था नै हटाउने प्रश्ताव आफूले राखेको भएपनि सो सम्भव नभएको बताउनु भयो । सबैले निर्वाचनको माग गरेपछि निर्वाचन गर्न बाध्य भएको उहाँले बताउनु भयो । अध्यक्ष नेपालले उम्मेदवारहरुले नै आफूलाई तटस्थ बस्न आग्रह गरेको भन्दै सोही अनुरुप आफू तटस्थ बसेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘त्यस्तो कसैले पनि आरोप लगाएका छैनन् । किनकि थाहा छ कि अध्यक्ष सबैप्रति साझा हुनुहुन्छ । चिटको काममा मैले रोक नै लगाएको हो । मलाई थाहा पनि भएन । थाहा भएको होइन । कसैले अध्यक्षलाई दोष लगाउलान् । कसैले महासचिवलाई दोष लगाउलान् । कसैले अर्को नेतालाई दोष लगाउलान् । आ–आफू जित्न आ–आफ्नो ढंगले चलेका होलान् । म यस्ता कुराको विपक्षमा छु । मेरो लागि सबै बराबर हुन् । साझा हुन् । प्रतिस्पर्धामा गइसकेपछि प्रतिस्पर्धाबाट जित्ने हो । मन जित्न सक्नुपर्‍यो । मन जित्न नसक्ने हो भने त दोष लगाएर हुँदैन । भोटिङ बाट टुंगो लगाएको त हो नि । के मान्छेले भोटिङ लोभ, लालचले गरेको हो त ? डर, त्रासले गरेको हो त ?डर त्रासले होइन होला । भोटिङको सबै पक्ष हेर्नुहुन्छ भने चिटमा नाम भएका मान्छे हारेका छन् । नाम नै नभएका मान्छे जितेका छन् । चिटले त जिताएको रहेनछ । चिटमा नाम भएका मान्छे हारेका छन् फेरी । कसरी हार्‍यो त ? चिटमा नाम नै नभएकाले कसरी जिते त ? चिट एउटा छैन फेरी दश प्रकृतिका चिट बाँडेको छ फेरी । त्यो सबै चिट मैले पाइसकेको पनि छैन । मैले मागिरहेको छु । कुन–कुन चिटमा क–कसको नाम छ, हेर्छु । त्यो नाम भएका मान्छेले बाँडेका हुन् कि ? शंका गर्नुपर्ने भएन ? नाम भएकाहरुले मात्रै होला नि बाँडेका त । कतिपय जित्नुपर्ने साथीहरु नजित्दाखेरी उहाँहरुलाई पनि दु:ख लागेको होला । अब म नजित्नुपर्नेहरुले जिते भन्न पनि सक्दिनँ । जितेर आउनुभएको मान्छे चाहीँ ठिक भएन ।

नजितेकाहरुले जित्नुपथ्र्यो भनेर मैले भन्नु पनि भएन । अनुभवी साथीहरु जसले जित्न सक्नुभएन उहाँहरुप्रति पनि मेरो सहानुभुति छ । जितेर आउनुहुनेहरुलाई अगाडी बढ्न शुभकामना छ । केन्द्रीय कमिटीका सदस्यले भोट दिए । उहाँहरुको मन जित्न सक्नुभएन । दोष अरुलाई दिएर हुन्छ ? मैले भनेको पनि थिएँ, पदाधिकारीमा हामीले सहमती गर्न सक्ने भएनौँ । पदाधिकारीको व्यवस्था नै हटाइदिउँ भनेकै हो । हुँदैन हुँदैन भने । चुनाव चुनाव भने । अनि के गरौँ त ? म कसको पक्षमा लागुँ त ?तपाई चुपचाप बसिदिनुस् भनेको हुन् मलाई । म केही बोलिनँ । किनकी मलाई थाहा छ, पर्खालको पनि कान हुन्छ । एउटालाई खुसुक्क भन्यो भने मलाई त भन्नुभएको छ भन्दै हिँड्छ । त्यसो हुनाले म यस्ता कुरामा किन लाग्न चाहिन भने जब म दुई जना मान्छेलाई कन्भिन्स गर्न सकिरहेको छैन एउटै पदका आकांक्षि दुई जना । अनि म कतिलाई कन्भिन्स् गर्न सक्छु त ? म थाँके । दुईटै भन्छन्, तपाई चुप लागिदिनुस् । हामीलाई छोडिदिनुस् ।’

अध्यक्ष नेपालले सार्वजनिक रुपमा पार्टीको विरुद्धमा बोल्ने नेताहरुलाई छुट दिन नसकिने बताउनु भयो । उहाँले सार्वजनिक रुपमा पार्टीको बद्ख्वाईँ गर्ने मान्छे पार्टीको मान्छे हो कि होइन भन्नेमै प्रश्न उठ्ने बताउनु भयो । उहाँले पार्टीप्रति बफादार नभएको मान्छेलाई पार्टीमा बस्ने नैतिक अधिकार छ ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले पार्टीमा असन्तुष्ट नेताहरुलाई फकाइरहेको बताउनु भयो ।