१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

‘हेर्दा राम्रो मार्फा गाउँ…’

‘हेर्दा राम्रो मार्फा गाउँ…’
अ अ+ अ-

‘क्या राम्रो स्याउ बारी, 
मार्फा गावैमा,
हेर्दा राम्रो मार्फा गाउँ, 
खाँदा मीठो मार्फा स्याउ’

ज्योति गुरुङले स्वर भर्नुभएको स्वर्गीय वसन्ती लालचनको शब्द रचना रहेको गीतले मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा पर्ने मार्फाको कृषि पर्यटकीय सम्भावनालाई उजागर गर्दछ । रसिलो र स्वादिलो स्याउ उत्पादन हुने मार्फा पछिल्लो समय पर्यटकीयस्थलका रुपमा विकसित हुँदै गएको छ । मार्फाका ७९ वर्षीया लालप्रसाद हिराचन संस्कृति र प्रकृतिको धनी मार्फा कृषि पर्यटनको नमूना भएको बताउनुहुन्छ ।

“मार्फाको स्याउबारी, थकालीको रहनसहन, जीवनशैली, मौलिक संस्कार, कला संस्कृति, गुम्बा, गुफाले पाहुनालाई लोभ्याउने गएको छ”, उहाँ भन्नुहुन्छ, “मुस्ताङ आउने पर्यटकको बसाइँ लम्ब्याउन र उनीहरुलाई भुलाउन मार्फामा धेरै आकर्षक गन्तव्य र वस्तुहरु छन् ।” सेतो र रातो माटोले लिपेका झुरुप्प मिलेका मार्फाका घरहरुमा माटोकै छाना र छानामाथि दाउरा चिनेर राखिएका हुन्छन् । मार्फालीले शताब्दिऔँअघिको मौलिकता बचाएर राखेका छन् । कालीगण्डकी नदी किनारको फाँटमा स्याउबारीको हरियाली र कुनातर्फ सुक्खा पहाड, यहाँको अर्को आकर्षक हो । ढुङ्गा बिछ्याइएको मार्फाका भित्री गल्लीहरु सफासुग्घर र चिटिक्क देखिन्छन् ।

वसन्त ऋतुमा स्याउ फुल्दा र सरदयाममा लटरम्म दाना लागेका बगैँचामा डुल्दा प्रकृतिको काखमा रमाएको महसुस हुने काठमाडौँबाट मार्फा घुम्न आएकी सरिता तिमिल्सिनाले सुनाउनुभयो । “चलचित्र जेरी र कबड्डीमा मार्फाका गाउँको नामाकरण भएकामा ती गल्लीमा थकाली पोसाक लगाएर फोटो, भिडियो बनाउँदा झनै रमाइलो भयो”, उहाँले भन्नुभयो, “क्या राम्रो स्याउबारी मार्फा गावैको भन्ने गीत सुनेर गरेको परिकल्पना ठ्याक्कै मिल्यो ।”

गीतमा उद्धृत गरिए झैँ मार्फा गाउँको पहिचान झल्काउने धेरै विशेषता र आकर्षण छन् । धौलागिरि हिमाल फेदको धमाङबाट बसाइँ सरेर आएका लालचन, हिराचन, ज्वारचन र पन्नाचन थरका थकाली समुदायले बस्ती बसालेको एक सय ५० परिवारको बसोबास रहेको मार्फामा दलित समुदायको पनि बसोबास छ । सक्खर माटो बिछ्याइएका परम्परागत घरहरूमा बिस्कुन सुकाउन र पानी नचुहियोस् भनेर छानाको चारैतिर दाउरा चिनेर राख्ने चलन रहेको मार्फाकी कमला लालचनले बताउनुभयो । परम्परागत समाजमा घरको छानामा रहेका दाउरालाई त्यो घरको आर्थिक सम्पन्नताको मापनका रुपमा लिइने गरिएको उहाँको भनाइ छ ।

दर्जनौँ स्वदेशी तथा विदेशी चलचित्रहरु छायाङ्कन भएका यहाँका घरहरूमा स्थानीय पहिचान झल्किने कलात्मक वस्तुहरू सजिएका छन् । मार्फाको पश्चिमतर्फको पहाडका भित्तामा प्राकृतिक कलात्मक दृश्य देखिन्छन् । “सम्तेलिङ गुम्बा मार्फाको धार्मिक सम्पदा हो । गाउँ माथिको पाखामा रहेको करिब तीन सय वर्ष पुरानो भिर गुम्बा अर्को आकर्षण हो । उक्त गुम्बामा विपद् नहोस्, खेतीबाली सप्रियोस् र रोगव्याधि नलागोस् भनेर पूजाआजा गर्ने चलन छ”, कमलाले भन्नुभयो ।

जापानी भिक्षु तथा अन्वेषक इकाइ कावागुची सन् १८८८ मा बौद्ध धर्मको अध्ययनका लागि तिब्बत जाने क्रममा बसेको घरलाई ‘कावागुची घर’ नामाकरण गरिएको छ । इकाइ कावागुचीलाई नेपाल–जापान सम्बन्धका दूतका रुपमा मान्ने गरिएको स्थानीय बताउँछन् ।

हिमाली क्षेत्रका फलफूल, तरकारी र खाद्यबालीको अनुसन्धान तथा विकासका लागि मार्फामा शीतोष्ण बागबानी विकास फार्म रहेको स्थानीय ज्ञानु पन्नाचनले बताउनुभयो । कृषिसम्बन्धी अध्ययन–अनुसन्धान र स्याउबारी अवलोकन गर्न फार्ममा पर्यटकहरु भुल्ने गरेका उहाँको भनाइ छ ।

देशका विभिन्न ठाउँबाट कृषक समूह र कृषि प्राविधिकहरु अवलोकन भ्रमणमा आउँछन् । “शीतोष्ण बागबानी विकास केन्द्रको नजिक मृदी गुफा छ । छोर्तेन आकृतिको गुफामा बौद्ध धर्मगुरु रिम्पोचेको मूर्ति छ”, स्थानीय ज्ञानुले भन्नुभयो । स्याउको राजधानीका रुपले परिचत मार्फाका स्थानीयको मुख्य आम्दानीको स्रोत कृषि र पर्यटन हो । स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा उवा, जौ, आलु, फापर, डाबर, सिमी र तरकारी लगाउँछन् । चौडापाते मार्फा, रायो जातको साग मार्फामा विकास भएको ज्ञानुले जानकारी दिनुभयो ।

घरपझोङ गाउँपालिकाका कार्यपालिका सदस्य दीपक लालचनका अनुसार मार्फामा छवटा स्याउको ब्रान्डी बनाउने उद्योग सञ्चालित छन् । बेमौसममा स्याउ बिक्री गर्न कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र गाउँपालिकाको सहयोगमा चिस्यान गृह बनाएर भण्डारण गर्न थालिएको उहाँले जानकारी दिनुभयो । घरपझोङ गाउँपालिकाले मार्फा गाउँभित्रको विद्युत् र टेलिफोनलाइनलाई भूमिगत बनाई सडक बत्ती जडान गरेर साँझपख भिलीमिली बनाएको छ । घरपझोङ–२ मार्फाका वडाध्यक्ष मनबहादुर हिराचनले कृषि पर्यटनको माध्यमबाट बसाइँसराइ रोक्ने र गाउँलाई आर्थिक रुपमा समृद्ध बनाउन पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धनात्मक कामलाई सँगसँगै अघि बढाइएको बताउनुभयो ।

अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मार्फा हुँदै विश्वको सातौँ अग्लो धौलागिरि हिमाल आरोहण गर्न जाने पदमार्ग छ । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको मार्फा खण्डमा हालै कालोपत्र गरिएको वडाध्यक्ष हिराचनले जानकारी दिनुभयो । यहाँबाट आलुबारी हुँदै याकखर्कसम्म सडक पुर्‍याएपछि आरोहीलाई आधार शिविरमा सामान लैजान सहज भएको उहाँले बताउनुभयो ।

वडाध्यक्ष हिराचनका अनुसार सहरी विकास तथा भवन निर्माण आयोजना बागलुङमार्फत रु एक करोडको लागतमा स्याउ उद्यान निर्माणाधीन छ । स्याउ आकृतिमा निर्माण गर्न लागिएको उद्यानबाट मार्फा गाउँ अवलोकन गर्न सकिन्छ । उक्त ठाउँ नजिकै गाउँपालिकाले स्याउको प्रतिमा बनाइएको छ । मार्फा गाउँबाट ‘भ्यू पोइन्ट’ जाने ढुङ्गा बिछ्याएको पदमार्ग निर्माण र डिलमा सौन्दर्यीकरणका लागि बत्ती जडान गरिएको उद्योग तथा पर्यटन कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले बताउनुभयो ।

पर्यटकको सुविधाका लागि मार्फामा २० भन्दा बढी होटेल सञ्चालन भएका छन् । मुस्ताङ घुम्न आउने पर्यटकहरुले मार्फाका कोसेली घरहरुबाट स्याउ, सकुटी, दाल, ब्रान्डिलगायत सामग्री किनेर लैजाने गरेका स्थानीय व्यापारी बताउँछन् ।  रासस