१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

दामोदरकुण्डका तीर्थयात्रीलाई आवास र सञ्चारको समस्या

दामोदरकुण्डका तीर्थयात्रीलाई आवास र सञ्चारको समस्या
अ अ+ अ-

म्याग्दी । आवास र सञ्चार सुविधाको अभावमा मुस्ताङको हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई समस्या भएको छ ।

समुन्द्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा नं ४ मा पर्दछ । भौगोलिक रुपमा विकट, दुर्गम र बस्तीदेखि टाढा उच्च हिमाली क्षेत्रमा रहेको दामोदरकुण्ड र यहाँ जाने पदमार्गमा होटल तथा लज छैनन् ।

दुई वटा डाँडा पार गरेर दामोदरकुण्ड पुग्ने तीर्थयात्री धर्मशालामा बास बस्नुपर्छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले घिमीठाँटी र दामोदरकुण्डमा दुई वर्षअघि बनाइएको भवनमा दाताको सहयोग जुटाएर असारदेखि भदौको दोस्रो सातासम्म निःशुल्क भोजन तथा आवास सुविधासहितको धर्मशाला सञ्चालन भएको छ ।

धर्मशालाका कर्मचारी कर्म रेङ्गे गुरुङले आर्थिक र जनशक्ति अभावका कारण दुई महिनाभन्दा बढी समय धर्मशाला सञ्चालन गर्न नसक्दा तीर्थयात्री र पर्यटकलाई समस्या भएको बताउनुभयो ।

“धर्मशाला सञ्चालन नहुने समयमा दामोदरकुण्डमा आउने तीर्थयात्री र पर्यटकले खान, बस्न दुःख व्यहोर्नुपरेको देख्दा हामीलाई चिन्ता लाग्छ”, उहाँले भन्नुभयो, “जनशक्ति र खाद्यान्न व्यवस्थापन गर्ने आर्थिक स्रोत अभाव हुँदा दुई महिनामात्र धर्मशाला सञ्चालन गर्नुपरेको हो ।”

घिमीठाँटी र दामोदरकुण्डमा गाउँपालिकाले २०÷२० जना क्षमताको धर्मशालाको भवन बनाएको छ । जस्तापाताले छाएको टहरा पनि छन् । घिमीठाँटीबाट दामोदरकुण्ड पुग्न लाग्ने करिब सात घण्टाको बाटोमा आश्रय लिने ठाउँ छैन् । मोबाइल फोनको पहुँच छैन ।

म्याग्दीको नारच्याङका मोहन पुर्जाको अगुवाइमा दामोदरकुण्डको धर्मशालामा दाल, चामल, तरकारी र पीठो व्यवस्थापन हुँदै आएको छ । घिमीठाँटीमा दुई जना र दामोदरकुण्डको धर्मशालाका एकजना कर्मचारीलाई दैनिक रु पाँच सय ज्याला दिएर दुई महिना राख्ने गरिएको गुरुङले जानकारी दिनुभयो ।

गत हप्ता दामोदरकुण्ड पुग्नुभएका काठमाडौँका सर्वोत्तम ढकालले धर्मशाला बन्द भएकाले आफैँ खाने, बस्ने सामानको बन्दोबस्ती गर्नु परेको बताउनुभयो । “थाकेर लखतरान हुने तीर्थयात्री पकाएर खानसक्ने अवस्थामा हुँदैनन्”, उहाँले भन्नुभयो, “आफैँ सामान बोकेर लैजाने र पकाएर खान गाह्रो हुने रहेछ ।”

घारा गाउँ दामोदरकुण्ड जाने पदमार्गको अन्तिम मानव बस्ती हो । कालिगण्डकी करिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङसम्म पुगेपछि त्यहाँबाट एक घण्टा ३० मिनेटमा सवारीसाधनको यात्रापछि घारा गाउँ पुग्न सकिन्छ । घारा गाउँबाट माथि घिमीठाँटीसम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजन हयारा–घाराबाट घोडाको यात्रा गर्दछन् ।

दामोदरकुण्ड जान र आउन प्रतिघोडा रु १० हजार शुल्क तिर्नुपर्छ । घोडामार्फत तीर्थयात्रीलाई दामोदरकुण्ड लाने ल्याउने गर्दै आएका घाराका पेमा छिरिङ गुरुङले आवासका साथै सञ्चारको पनि असुविधा रहेको बताउनुभयो ।

“जेठदेखि असोजसम्म भक्तजन दामोदरकुण्ड आउँछन् । दुई महिनामात्र धर्मशाला सञ्चालन हुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “देउराली डाँडाबाट दामोदरकुण्डसम्म मोबाइल फोन सेवाको पहुँच नहुँदा सूचना आदानप्रदानका साथै लेक लागेर बिरामी हुने तीर्थयात्रीको उद्धार गर्न समस्या भएको छ ।” बिरामीको उद्धार गर्न चिठी लेखेर पठाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

दामोदरकुण्डको धर्मशालाको व्यवस्थापन गर्दै आउनुभएका याराका टासी गुरुङले दाताले पठाएको र दिने खाद्यान्नले नपुग्ने, मौसमले साथ नदिने भएकाले दुई महिना मात्र समयसम्म धर्मशाला सञ्चालन गर्ने गरिएको बताउनुभयो ।

“गत वर्ष चार हजारको हाराहारीमा तीर्थयात्रीहरु पुगेको दामोदरकुण्डमा यसपाली तीन हजारको हाराहारीमा आएका छन्”, उहाँले भन्नुभयो, “अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङ भ्रमण गर्न अध्यागमन विभागबाट १० दिनका लागि पाँच सय डलर तिरेर अनुमति लिनुपर्ने नीतिगत व्यवस्थाका कारण थोरै मात्र विदेशी आउँछन् ।”

महँगो प्रवेश शुल्क तिर्नुपर्ने कारण विशेष गरेर कमजोर आर्थिक अवस्था भएका भारतीय तीर्थयात्रीहरु चाहेर पनि दामोदरकुण्ड तीर्थयात्रामा आउन नसकेका टासीले बताउनुभयो । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का वडा अध्यक्ष झयाङ छेसा गुरुङले धर्मशाला सञ्चालनको समय अवधि लम्ब्याउनुपर्ने र मोबाइल फोन सेवा विस्तारको अतिआवश्यक भएको बताउनुभयो ।

“धर्मशालालाई व्यवस्थित रुपमा नियमित सञ्चालन गर्न स्रोत जुटाउन दाता तथा र मोबाइल फोन सेवा विस्तारका लागि सम्बन्धित निकायमा पहल गरेका छौँ”, उहाँले भन्नुभयो, “दामोदरकुण्ड र समग्र उपल्लो मुस्ताङमा पर्यटक तथा भक्तजनको आगमन बढाउन अर्धनिषेधित क्षेत्र हटाउन सङ्घीय सरकारसँग पहल गरेका छौँ ।”

कालीगण्डकी नदीको उद्गमस्थल दामोदरकुुण्ड दर्शन र स्नान गर्नाले पुण्य र आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलालाई हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको रुपमा पुज्ने गर्दछन् । तलाउको छेउमा बौद्ध धर्मावलम्बीको छोर्तेन पनि छ । नजिकैको पहाड बौद्ध धर्मका लामाले लगाउने टोपी आकारको छ ।

दामोदर हिमशृङ्खलाको फेदीमा रहेको यस स्थल धार्मिक र प्रकृतिको मनोरम सङ्गम हो । मौसम र वातावरणीय हिसाबले जेठदेखि साउनसम्म दामोदरकुण्ड जान उपयुक्त हुुन्छ । पाँच वटा कुण्ड रहेको दामोदरकुण्ड स्नानका लागि जनैपूर्णिमा र चैते दसैका दिन भक्तजन घुइँचो लाग्ने गर्दछ । कुण्ड वरिपरि कुशको हरियाली छ । उच्च भूभागमा पाइने यहाँको कुशको विशेष धार्मिक महत्व छ ।

कठिन पूर्ण यात्रा गरेर दामोदरकुण्ड पुगेपछि यहाँको प्राकृतिक सुन्दरताले सबै दुःख र कष्ट भुलाइदिने हालै त्यहाँ गएर आउनुभएका बेनी नगरपालिका–३ का राम्जी सुवेदीले बताउनुभयो । वरपरका सेता हिम चुचुरोले घेरिएको दामोदर कुुण्डको उपत्यका सुन्दर र मनमोहक देखिने उहाँले उल्लेख गर्नुभयो । रासस