• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाऔँ: माओवादी सांसद चन्द



काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउनुपर्ने नेकपा (माओवादी केन्द्र) को धारणा रहेको बताउनु भयो । उहाँले संविधान संशोधन गर्ने सत्तामा रहेका दुई ठूला राजनीतिक दलहरुले स्पष्ट धारणा ल्याउनुपर्ने बताउनु भयो । उहाँले चुनावी घोषणा पत्रमा संविधान संशोधनको विषय नराखेकाले जनअनुमोदित बनाएर मात्रै संविधान संशोधन हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चुनावी घोषणा पत्रमा संविधान संशोधनको विषय राखेको छैन । तसर्थ कसैले पनि घोषणा पत्रमा संविधान संशोधन गर्छौं भनेर नलेखेकाले जनअनुमोदित छैन । यसलाई पहिला जनअनुमोदित बनाउनु पर्‍यो । संविधानअनुरुप कानून दियौँ की दिएनौँ । दिएनौँ भने कसका कारणले दिएनौँ भन्नेकुराको विश्लेषण हुनुपर्छ । प्रदेश मजबुत बनाएका छौँ की छैनौँ, छैनौँ भने कसका कारणले यसको पनि विश्लेषण हुनुपर्छ । समानुपातिक समावेशीलाई दोष लगाउनु भन्दा सही अन्वेषण गरेनौँ भने सरकार बनाउन बाहेक अरु कुनै उद्देश्य छैन भन्ने पुष्टि हुन्छ । संविधान संशोधनको कुरा गर्नुहुन्छ भने आफ्नो आधिकारिक धारणा ल्याउनुस् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री पनि बनाएर जाऔँ ।’

सांसद चन्दले समानुपातिक समावेशीलाई दोष लगाउनु भन्दा सही अन्वेषण गर्नुपर्ने बताउनु भयो ।