३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बालबालिकाले असल सङ्गत कसरी थाहा पाउने ?

बालबालिकाले असल सङ्गत कसरी थाहा पाउने ?
अ+ अ-

– दुर्गा देवकोटा 
टीकापुर । जीवनमा धेरै मानिससँग भेटघाट र नजिक भइन्छ । भेटे जतिका सबै मानिस, साथीभाइ र आफन्त विश्वासिला हुँदैनन् । साथीभाइ धेरै हुन्छन् तर जसले आफ्ना भित्री मनका कुरा बुझ्न सक्छ र दुःखसुखमा साथ दिन्छ उही नै असल साथी हुने टीकापुरका विष्णु पाण्डे बताउनुहुन्छ । “साथीहरु धेरै हुन्छन्, हामीलाई कुन असल छ भन्ने थाहा हुँदैन”, पाण्डे भन्नुहुन्छ, “जसले राम्रो कुरा सिकाउँछ, अगाडि बढ्न प्रेरणा दिन्छ त्यस्तो साथीसँग मात्र सङ्गत गर्नुपर्छ ।”

परिवारमा पनि आमाबुबा, दाइ दिदीलगायतका धेरै सदस्य हुन्छन् । किशोर प्रायः दाजुभाइसँग नजिक हुन्छन् भने किशोरी दिदीबहिनीसँग नजिक हुन्छन् । परिवारमा जसले आफूलाई माया गर्छ, जसले आफूसँग साथीजस्तै व्यवहार गर्छन् उनैसँग नजिक हुने गरेको टीकापुर–३ की किशोरी अरुणा विक बताउनुहुन्छ । “यो उमेरमा साथीजस्तै व्यवहार गर्ने आफन्त होस् भन्ने लाग्छ”, अरुणा भन्नुहुन्छ, “कुरा नबुझ्ने परिवारका सदस्यको नजिक जान मन लाग्दैन । अभिभावक पनि साथीजस्तै होस् भन्ने चाहना हुन्छ ।”

घरमा किशोरावस्थामा पुगेका आफ्ना बालबालिकालाई सही बाटोमा हिँडाउन र उनीहरुलाई गलत बाटोमा जान नदिन उनीहरुसँग खुलेर कुरा गर्ने, उनीहरुका कुरा गम्भीर भएर सुन्ने काम गर्नुपर्ने अभिभावक जवालसिंह तिरुवाले बताउनुभयो । “हरेक अभिभावकले छोराछोरीको सङ्गतका बारेमा ध्यान दिने र साथीभाइजस्तो व्यवहार गर्ने हो भने किशोरावस्थाका बालबालिकालाई गलत बाटोमा जानबाट जोगाउन सकिन्छ”, अभिभावक तिरुवा भन्नुहुन्छ, “अधिकांश आमाबुबाले छोराछोरीलाई त्रासमा राख्ने तथा साना साना गल्तीमा गाली गर्ने गर्दा उनीहरुमा झन गलत धारण आउन सक्छन् ।”

किशोरावस्थाका बालबालिकालाई सही मार्गनिर्देशन गर्न विद्यालयको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । विद्यालयमा शिक्षक शिक्षिकाले किशोरावस्थाका बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण गर्ने, उनीहरुलाई राम्रा नागरिकको उदाहरण दिएर शिक्षण गर्ने र राम्रो काम गर्न उत्प्रेरणा प्रदान गर्नुपर्ने त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्रबहादुर कठायतको भनाइ छ । “बालबालिकाका ससाना कुरालाई पनि नियालेर ध्यान दिने र साथीजस्तै व्यवहार गर्ने हो भने यो अवस्थाका बालबालिका शिक्षकसँग नजिक हुन्छन् । अनि सबै कुरा शिक्षकसँग आदानप्रदान गर्ने गर्छन्”, प्रधानाध्यापक कठायतले भन्नुभयो, “किशोरावस्था एक संवेदनशील र परिवर्तनको अवस्था भएकाले पनि उनीहरु हरेक गोप्य कुरा अरुसँग बाँड्न चाहँदैनन्, त्यसैले उनीहरु यस्तो अवस्थामा एक सही र विश्वासिलो साथीको खोजीमा हुन्छन् जो तपाइँ, हामी हुन सक्छौँ ।”

दशदेखि १९ वर्षको उमेरलाई किशोरावस्था भनिन्छ । यो उमेर समूहका व्यक्ति धेरै जिज्ञासु र चञ्चले हुन्छन् । उनीहरू कुनै पनि विषयमा सजिलै निर्णय गर्न सक्दैनन् । “बालबालिका सही मार्गमा हिँडे जीवन सुन्दर र सफल हुन्छ । किशोरावस्थामा बालबालिकालाई सही, गलतको पहिचान नभए जीवन दुःखदायी हुनसक्छ”, टीकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता धनराज विक भन्नुहुन्छ, “किशोरकिशोरीले यो समयमा गलत सही थाह नपाउने हुन्छ, जसलाई पनि विश्वास गर्न सक्छन् । उनीहरुमा विभिन्न मानसिक समस्या देखिन सक्छन् ।”

विकका अनुसार किशोरावस्थामा बालबालिकालाई विभिन्न खाले तनाव हुनसक्छ । कम उमेरमा देखिने मानसिक समस्याले उसको भविष्य अन्धकारतर्फ जानसक्छ । तनाव व्यवस्थापनका लागि उनीहरुले मनको कुरा खोल्ने वातावरण घर र विद्यालयमा हुनुपर्ने मनोसामाजिक परामर्शकर्ता विकको भनाइ छ । 
    
किशोरकिशोरी गलत सङ्गतजस्ता कारणले गलत बाटोमा लाग्ने जोखिम हुन्छ । उनीहरुलाई गलत कार्यमा लाग्नबाट जोगाउन सबभन्दा बढी सचेत अभिभावक हुनुपर्छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने लागुऔषध सेवन, बलात्कार, चोरीजस्ता अपराधमा समेत बालबालिकाको प्रयोग बढेको बताउनुहुन्छ । “बालबालिका गलत होस् या सही दुवै काम जिज्ञासु भएर गर्छन्, उनीहरुलाई सही गलतको पहिचान हुँदैन”, न्यौपाने भन्नुहुन्छ, “यस्तो बेला उनीहरुलाई सुरक्षित स्थानसमेत थाहा हुँदैन । अभिभावक सचेत हुने हो अनि विद्यालयले पनि बालबालिकाको हरेक आनीबानीको निगरानी गर्नुपर्छ । उनीहरुका लागि घरमा पनि बालमैत्री वातावरण भएमा व्यस्त राख्न सकिन्छ ।”
    
बालबालिकामा विभिन्न थरिका भावना गुम्सिएर रहेका हुन्छन् । ती भावना सही समयमा सही व्यक्तिसँग पोख्न पाइएन वा सही सञ्चार हुन सकिएन भने उनीहरुमा विकराल अवस्था सिर्जना हुन सक्ने समाजशास्त्री शिवचरण चौधरी बताउनुहुन्छ । “मनमै कुरा खेलाउने वा गुम्साएर राख्ने बालबालिका नकारात्मक बाटोमा हिँड्न सक्छन्”, समाजशास्त्री चौधरी भन्नुहुन्छ, “बालबालिका गलत बाटोमा लागे घर, समाज र देशको विकासमा बाधा पुग्छ । घर संसार सुन्दर बनाउन सन्तान असल हुनुपर्छ, त्यसैले बालबालिकालाई सही सूचना दिने, सही मार्ग देखाउने जिम्मा सबैको हो ।”