५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकी करिडोर अवरुद्ध



फाइल फाेटाे
अ+ अ-

मध्यविन्दु । कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व) खण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण बौदीकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा लेदोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

पहिरोका कारण आज बिहान साढे ७ बजेदेखि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

यस खण्डमा अहिले लगातार वर्षा भएकाले वर्षा रोकिएपछि मात्र सडक खुलाउने कार्य हुने बताइएको छ । कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्रका साथै पाल्पा र स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।

साथै गएरातिदेखिको वर्षाले नवलपरासी(बर्दघाट सुस्तापूर्व)का विभिन्न ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्लाको समथर भूभागमा डुबान र सडक कटानले यातायात क्षेत्र प्रभावित भएको छ भने पहाडी क्षेत्रमा पहिरोका कारण अहिले सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

खहरे खोलामा पानीको बहाव बढ्दा मध्यविन्दु नगरपालिका–९ वसन्तपुमा मोटरसाइकल बगाएको छ । हुप्सेकोट गाउँपालिका–३ गिरुबारीका देवबहादुर फालमगर र उहाँकी छोरी तुलसी फालमगर बोडी बेच्न जाँदा खोला तर्ने क्रममा मोटरसाइकलसहित बगाएकामा बाबु र छोरीलाई सकुशल उद्धार गरिएको तर मोटरसाइकल खोलाले बगाएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।

पछिल्लो तीन घण्टामा जिल्लास्थित डण्डा वर्षा मापन केन्द्रलगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको र थप हुनसक्ने सम्भावना रहेको हुँदा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ ।

जल तथा मौसम विज्ञान विभागले एसएमएसमार्फत दिउँसो १२ बजेसम्म नारायणी नदी, यसका सहायक नदी र अन्य ससाना खोलामा बहाव उल्लेख्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।