६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊ बेलाको गाईजात्रे प्रहसन र अहिलेका कुरा



अ+ अ-

काठमाडौं । धार्मिक र सांस्कृतिक परम्परा गाईजात्रामा सामाजिक राजनीतिक विकृति, विसंगतिको पर्दाफास गर्दै व्यङ्ग्यात्मक प्रहसन गर्ने चलन छ । २०४६ सालसम्म राजनीतिक रुपमा व्यङ्य गर्न गाईजात्रा नै कुर्नुपर्ने अवस्था थियो । वर्षभरीका विषयवस्तुलाई एकीकृत गरी कलाकारहरुले वर्षको एक पटक प्रतिकात्मक रुपमा व्यङ्ग्यात्मक प्रहसन गर्ने गर्दथे ।

२०४१ सालदेखि तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले गाईजात्रा कार्यक्रमको आयोजना गथ्र्यो । राजा रानीसमेत उपस्थित हुने कार्यक्रममा कलाकारहरुले मिलाई मिलाई शासकहरु माथी व्यङ्गबाण प्रहार गर्दथे । जुन कुरा माथिल्लो निकायलाई गुमराहमा राखिएको हुन्थो त्यो कुरा उनीहरु गाईजात्राको प्रहसनबाट थाहा पाउथे । गाईजात्रा प्रहसनको क्यासेटको माग बजारमा निकै थियो । जसकाकारण क्यासेट नै कति कलाकारहरूको जीविकोपार्जनको माध्यम पनि बनेको थियो ।

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले र मदनकृष्ण श्रेष्ठले ‘सूर्यग्रहण’, ‘यमलोक’, ‘विज्ञापन’, ‘अंशबन्डा’, ‘रद्दीको टोकरी’, ‘होस्टे हैंसे’, ‘कक फाइट’लगायत थुप्रै गाईजात्र केन्द्रित कार्यक्रम उत्पादन गर्नुभएको थियो । सोही समयमा प्यारोडी मार्फत व्यङ्गयात्मक प्रहसन गरेर मेलोडी किङ एवम् गीतकार तथा गायक  शम्भूजीत बासकोटाले नयाँ प्रयोग गर्नुभयो । जुन त्यस समयमा निकै चर्चित रहेको थियो ।

सोही समयमा व्यंग्यात्मक कविता मार्फत् यादव खरेल, लक्ष्मण लोहनी, हेमन्त श्रेष्ठले आफ्नो दमदार प्रस्तुति दिनुभएको थियो । साथै सोही समयमा सन्तोष पन्त, साम्दे शेर्पा, शैलेन्द्र सिम्खडा, तैयव शाह, रतन सुवेदी, निर्मलराज पौडेल, शम्भु दाहाल, राजाराम पौडेल, शिबहरी पौडेल, दिपकराज गिरी, उज्ज्वल घिमिरेहरुले गाईजात्राको मर्मअनुसारको प्रहसन प्रस्तुत् गर्ने गरेका थिए ।

‘देउराली उकाली चढेर’, ‘नेपालको जंगल फाँडेर देशलाई टुपीटाट पारेर पञ्चले गर्नु मोज गर्‍यो’ जस्ता प्रस्तुति तत्काली राजपरिवारका सदस्य सामु कलाकारहले निर्धक्करुपमा प्रस्तुत् गर्दथे । बासकोटाले ‘काला–काला काला–काला, दक्षिण तिर लगाउनुपर्छ ठूलो भोटे ताला’ भन्दै यी र यस्तै प्रस्तुती दिँदा शासकहरु धर्मराउथे भने दर्शक तथा स्रोताले भरपुर मनोरञ्जन पाउनुका साथै आफूले भन्न नपाएको वा नसकेको कुरा सुनेर आनन्दित हुने गर्दथे ।

तत्कालीन दरबारका उच्च कर्मचारीले चेतावनी दिने गरे पनि राजपरिबारबाट कुनै असन्तुष्टि व्यक्त नभएको प्रस्तुती दिने कलाकारहरुले जनाएका छन् । त्यस समयमा प्राज्ञहरु सत्यमोहन जोशी, विजय मल्ल, तुलसी दिवस रहेको सेन्सर समिति पनि थियो । कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडी सो समितिले सामग्री हेर्न गरे पनि कतिपय अवस्थाका कलाकारहरुले पुरानै प्रस्तुती दिने गरेका थिए ।

त्यस समयमा प्यारोडी प्रस्तुती दिनु हुने मेलोडी किङ एवम् गीतकार तथा गायक  शम्भूजीत बासकोटाले भन्नुभयो– त्यसबेला शिष्टताभित्र पनि व्यङ्ग हुन्थो, परिबारका सबै सदस्य एकै ठाउमा बसे ढुक्कसँग हेर्न सकिन्थो । सन्देशसहित सचेतना हुने गर्दथ्र्यो । तर अहिले कता–कता त्यो अभाब महशुस हुन्छ । उहाँले भन्नुभयो– अचेल व्यङ्ग भन्दा पनि छाडातन्त्र हाबी भयो, आक्षेप नक्कल गरी जबरजस्त हसाउने संस्कार विकास भयो । रंगमञ्चमा मनपरि भन्ने, छाडा जात्राका रुपमा प्रस्तुत हुने भाईरल बन्नका लागि जस्तो सुकै हर्कत गर्ने, कार्यक्रम सकिएपछि चाकडीमा दौडँदा व्यङ्गको मर्ममाथी नै प्रहार भएको उहाँको अनुभूति छ ।

गाईजात्रामा व्यङ्ग्यात्मक परम्परा भने राणाशासनदेखि नै छिटफुट रुपमा सुरुवात भएको मानिन्छ । विशेषगरी राणा शासन, पञ्चायती व्यवस्थाजस्ता निरंकुश शासन व्यवस्थाको समयमा दमन, उत्पीडन एवम् वाक स्वतन्त्रता गुमाएर बस्नुपर्दाको पीडालाई बोलेर, लेखेर व्यक्त गरिने चोटिला, पेचिला एवम् तीता अभिव्यक्तिहरुलाई गाईजात्राको समयमा व्यक्त गर्न छुट दिएको हुनाले यस किसिमको प्रस्तुतीले भने अझै मौलाउने अवसर पाइरहेको छ ।

परम्परागत गाइजात्रा कहिलेदेखि सुरु भएको भन्नेमा विभिन्न भनाइ छन् । गाईजात्राका क्रममा १८ शताब्दीदेखिका विभिन्न नाचहरू देखाउने गरिएको थियो । तीमध्ये कतिपय लोप हुने अवस्थामा पुगेका छन् । तर गाईजात्रामा पछिल्लो समय अभिव्यक्त गरिने नाच र व्यङ्ग्यात्मक प्रस्तुतिमा राजनीतिक र सामाजिक विसङ्गतिहरूलाई लक्षित गर्ने गरिएको छ । यो संस्कृतिलाई मर्न नदिन कलाकारहरु नै सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने छ ।