• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

नगरकोट जङ्गलमा हराएका पर्यटकको १२ घण्टापछि उद्धार



भक्तपुर । भक्तपुरको नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रमा घुम्ने क्रममा जङ्गलमा हराएका तीन भारतीय पर्यटक र एक नेपाली गाइडको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

पर्यटकीयस्थल रानीझुला क्षेत्र घुम्न गएकामा बाटो भुलेर जङ्गलतर्फ लागेपछि हराएका भारतीय पर्यटक नीतिन तिवारी, रश्मी तिवारी, तनिस तिवारी र नेपाली गाइड हरिप्रसाद खरेलको १२ घण्टापछि सकुशल उद्धार गरिएको चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले जानकारी दिनुभयोे ।

पर्यटक जङ्गलमा हराएको जानकारी पाएलगत्तै नगरप्रमुख खत्रीले सामाजिक सञ्जालमार्फत खोजीका लागि सबैमा आह्वान गर्नुभएको थियो । लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीसहितको टोलीले जङ्गलमा खोजी गर्ने क्रममा आज हलहले खोप (खोल्ची) क्षेत्रमा उनीहरू फेला परेका थिए ।

हराएकाहरूलाई सकुशल उद्धार गरी प्रहरी विभाग खरिपाटीमा बुझाइएको नगर प्रमुखका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिनुभयो ।