१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

ढोरपाटनमा पर्यटक आगमन दोब्बरले बढ्यो

ढोरपाटनमा पर्यटक आगमन दोब्बरले बढ्यो
अ अ+ अ-

म्याग्दी । पुर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ ।

विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरु ढोरपाटन घुम्न आउने क्रम बढेको हो । विसं २०८१ को साउनमा पाँच सय ८१ जना नेपाली पर्यटकहरुले ढोरपाटन भ्रमण गरेका आरक्षका संरक्षण अधिकृत मण्डिप पंगेनीले बताउनुभयो ।

“आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा पर्यटक आगमन दोब्बरले बढेको छ,” उहाँले भन्नुभयो, “२०७९/०८० मा पर्यटक प्रवेश शूल्कबाट रु नौ लाख ८३ हजार दुई सय राजस्व संकलन भएकोमा २०८०/०८१ मा रु १९ लाख ३३ हजार सात सय पुगेको छ ।”

आर्थिक वर्ष २०७९/८० मा सात हजार छ सय ४५ जना पर्यटक भित्रिएको ढोरपाटनमा २०८०/८१ मा १५ हजार पाँच सय ७३ जनाले भ्रमण गरेका छन् । सार्क राष्ट्रका चार, अन्य देशका एक सय दुई र १५ हजार चार सय ६७ जना नेपाली ढोरपाटन आएका थिए । आर्थिक वर्ष २०७८/७९ मा नौ हजार नौ सय १९, २०७७/०७८ मा छ हजार सात सय तीन र २०७६/०७७ मा तीन सय २० जनाले ढोरपाटन घुमेका थिए ।

ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरुको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति रु एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति रु एक हजार पाँच सय र अन्य देशकाले रु तीन हजारका दरले शूल्क तिर्नुपर्छ ।

सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिमा रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताउनुभयो । ढोरपाटनमा रहेका २१ वटा होटल र होमस्टेमा दैनिक तीन सय जना बास बस्न सक्ने क्षमता छ ।

सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक रहनसहन, परम्परागत रूपमा बनेका घर–गोठहरू र घोडचडी ढोरपाटनको सिकार बाहेकको आकर्षण र विशेषता हो । आर्थिक वर्ष २०८०/०८१ मा १९ वटा नाउर र ११ वटा झारल सिकारबाट रु. चार करोड २६ लाख ८८ हजार ७०० राजस्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा १९ नाउर र ११ झारल, २०७८/७९ मा १७ नाउर र ८ झारल, २०७७/७८ मा १० नाउर र ६ झारलको सिकार भएको थियो । स्पेन, अमेरिका, रसीया, अमेरिका, जर्मनी, फ्रान्स, बेलारुसलगायत देशका सिकारीहरू सिकार खेल्न आउने गरेका सिकार कम्पनी ग्लोवल सफारी काठमाडौँका सिकार गाईड मानबहादुर पुनले बताउनुभयो । बसन्त र सरद याममा सिकारी आउँछन् ।

यहाँ ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र १३७ प्रजातिका पंक्षीहरू छन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ, घुस्तुङ ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ ।

विसं २०६७/६८ देखि हालसम्म ३९४ नाउर, झारल र रतुवाको सिकार भएको छ । सन् २०२२ मा नाउरको गणना गर्दा ७९ वटा झुण्डमा एक हजार दुई सय ९० नाउर भेटिएका थिए । एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पुर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ ।
रासस