• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्यांकन गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी



काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज र राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्यांकन गर्नुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा वामपन्थी नेता तथा पूर्व सांसद गणेश पण्डितको स्मृति ग्रन्थ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले कुनैपनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदान महत्वलाई समय र सन्दर्भअनुसार मापन गर्न सक्नुपर्ने बताउनु भयो ।

गणेश पण्डितको मूल्यांकन पनि सोही कोणबाट गर्नुपर्ने बताउनु भयो । उहाँले स्व। पण्डितले २०१७ सालदेखि २०४६ सम्म लादिएको निरंकुश पञ्चायती तानाशाही शासनको कहाली लाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखि राजनीतिमा होमिएको स्मरण गर्नुभयो । उहाँले अनेक यातना र जेलनेल भोग्दा समेत कष्टपूर्ण यात्रामा राजनीतिमा हामिनु महत्वपूर्ण भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदान महत्वलाई समय र सन्दर्भअनुसार हामीले मापन र मूल्यांकन गर्नुपर्छ । गणेश पण्डितको मूल्यांकन पनि यही कोणबाट गरिनुपर्छ । २०१७ सालदेखि २०४६ सम्म लादिएको निरंकुश पञ्चायती तानाशाही शासनको कहाली लाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखि व्यवस्थाको विपक्षमा उहाँ जनपक्षिय राजनीतिमा होमिनुभएको थियो ।

व्यक्तिगत लाभका अनेकौँ अवसरहरु थिए होलान् । तर तिनीहरुलाई बेवास्ता गर्दै जिल्लाको शैक्षिक उन्नयनका लागि समर्पित हुनुभएका स्व। पण्डितले पञ्चायती कालरात्रीको समयमा अनेक यातना र जेलनेल भोग्दा समेत राजनीतिक कष्टपूर्ण यात्रामा राजनीतिमा होमिनुभयो । त्यसैले अफ्ठ्यारो परिस्थितिमा समेत निडरताका साथ देश र जनताको पक्षमा उभिनुभयो ।’

पूर्वराष्ट्रपति भण्डारीले अफ्ठ्यारो परिस्थितिमा समेत नेता र कार्यकर्ताले देश र जनताका लागि निडरताका साथ उभिनुपर्ने बताउनु भयो ।