• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

कोलकाता बलात्कार–हत्या प्रकरण, पूर्व प्रधानाध्यापक सीबीआई हिरासतमा



कोलकाता । सीबीआईले शुक्रबार (अगस्ट १६) राधागोविन्द कार मेडिकल कलेज तथा अस्पतालका पूर्व प्राचार्य सन्दीप घोषलाई कलकत्तामा एक प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरेको छ । एजेन्सीले उनलाई समन पनि जारी गरेको थियो ।

यसैबीच, भारतभर चलिरहेको चिकित्सकहरूको हडतालको बीचमा, केन्द्रीय स्वास्थ्य मन्त्रालयले नयाँ आदेश जारी गरेको छ ।

स्वास्थ्यकर्मीमाथि हमला भएको ६ घण्टाभित्र चिकित्सा संस्थाले एफआइआर दर्ता गर्नुपर्ने मन्त्रालयले जनाएको छ । मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरको बलात्कार–हत्या प्रकरण र सोही कलेजमा अगस्ट १४ मा भएको हिंसाका विषयमा मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

आज नै सीबीआई टोली थ्रीडी लेजर स्क्यानर लिएर अपराध स्थलमा पुगेको थियो । यससँगै डिजिटल ब्लु प्रिन्ट तयार गरिनेछ, जसबाट अपराध स्थलमा कति व्यक्ति थिए भन्ने थाहा पाउन सकिन्छ ।

महिला स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दै देशभरका आवासीय चिकित्सकहरुको आन्दोलनको आज सातौं दिन हो । दिल्ली एम्स र भोपाल एम्स सहित देशका धेरै अस्पतालहरुमा ओपीडी सेवा ठप्प भएको छ ।

पश्चिम बंगाल भाजपा इकाईले आज बंगालका हरेक जिल्लामा विरोध प्रदर्शन गरिरहेको छ । मुख्यमन्त्री ममता बनर्जीले पनि दोषीलाई फाँसीको माग गर्दै आज कोलकातामा र्‍याली निकालेकी छन् ।

अखिल भारतीय सरकारी चिकित्सक संघका अतिरिक्त सचिव डा. सुवर्णा गोस्वामीले अगस्ट १४ मा पोस्टमार्टम रिपोर्टलाई उद्धृत गर्दै यो बलात्कार नभएर सामूहिक बलात्कार हुनसक्ने बताए ।

प्रशिक्षार्थी चिकित्सकको प्राइभेट पार्टबाट १५१ एमजी वीर्य भेटिएको उनले बताए । कुनै पनि व्यक्तिसँग यति धेरै मात्रा हुन सक्दैन । बलात्कारको घटनामा एकभन्दा बढी व्यक्ति संलग्न हुन सक्ने सम्भावना छ ।

उता कांग्रेस नेता राहुल गान्धीले घटनाको ५ दिनपछि बयान दिएका छन् । उनले भने– ‘पीडितलाई न्याय दिनुको सट्टा अभियुक्तलाई बचाउने प्रयास भइरहेको छ । यो घटनाले अस्पताल र स्थानीय प्रशासनमा गम्भीर प्रश्न खडा गरेको छ । अपराधीलाई यस्तो सजाय दिनुपर्छ जसले समाजमा यस्ता घटना हुन नदिन उदाहरण बनोस् ।’

पोस्टमार्टम रिपोर्टले प्रशिक्षार्थी डाक्टर माथिको क्रूरता प्रकट गरेको छ
प्रहरीले अगस्ट १२ मा पोस्टमार्टम प्रतिवेदन प्रशिक्षार्थी चिकित्सकको परिवारलाई बुझाएको थियो, जसमा प्रशिक्षार्थी डाक्टरको भदौ ८–९ राति बलात्कारपछि घाँटी थिचेर हत्या भएको बताइएको थियो ।

चार पृष्ठको पोस्टमार्टम रिपोर्टमा आरोपितले डाक्टरको निर्मम शोषण गरेको उल्लेख छ । उनको गुप्तांगमा गहिरो घाउ भेटिएको थियो । आरोपितले डाक्टरको चित्कारलाई दबाउन उनको नाक, मुख र घाँटी लगातार दबाए । घाँटी थिचेर थाइराइड कार्टिलेज भाँचिएको थियो ।

डाक्टरको टाउको भित्तामा थिचिएको थियो, ताकि उनी चिच्याउन नसकुन् । पेट, ओठ, औंला र देब्रे खुट्टामा चोटपटक देखिएको छ । त्यसपछि उनीहरूले उनलाई यति बल प्रयोग गरे कि उनको चस्मा भाँचियो र उनको आँखामा काँचका टुक्राहरू पसे । दुवै आँखा, मुख र गुप्तांगबाट रगत बगेको थियो ।

घटना अगस्ट ९ को बिहान ३ देखि ५ बजेको बीचमा भएको अनुमान गरिएको छ । बिहान आरजी कार मेडिकल कलेज तथा अस्पतालको सेमिनार हलमा प्रशिक्षार्थी चिकित्सकको शव भेटिएको थियो ।

घटनास्थलमा ब्लुटुथ इयरफोन पनि भेटिएको थियो । सीसीटीभी फुटेजमा आरोपी सञ्जय रोय बिहान ४ बजे सेमिनार हलमा प्रवेश गरेको देखिन्छ ।

यस क्रममा उनले कानमा इयरफोन लगाएका थिए । केही बेरपछि हलबाट निस्कँदा उनीसँग इयरफोन थिएन । यसपछि सञ्जयसहित केही संदिग्धलाई सोधपुछका लागि बोलाइएको थियो ।

प्रहरीले घटनास्थलमा भेटिएका इयरफोनलाई सबै संदिग्धको फोनसँग जोड्ने प्रयास गरेको थियो । इयरफोन सञ्जयको फोनमा जडान भयो । सोधपुछका क्रममा सञ्जयले बलात्कार र हत्या गरेको स्वीकार गरेका थिए ।

प्रहरीलाई सघाउन सञ्जय अस्पतालमा सिभिक स्वयंसेवकको रुपमा काम गर्थे । उनले अस्पतालका धेरैजसो विभागहरू भ्रमण गर्नुपरेको थियो । प्रहरीले उनलाई अगस्ट ९ मा पक्राउ गरेको थियो ।

३१ वर्षीय प्रशिक्षार्थी डाक्टर चेस्ट मेडिसिन विभागमा पीजी दोस्रो वर्षमा अध्ययनरत थिइन् ।