• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

गठ्ठाघर दुर्घटना: ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गरिने



भक्तपुर । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्रीको निर्देशनपछि प्रहरीमार्फत घटनास्थलको सिसिटिभी फुटेज बाहिरिएको छ । बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै  ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका‐४ छहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आउनुभएका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको ‘फुटेज’ बाहिरिएको हो । उक्त ‘फुटेज’ हेर्दा ट्रक चालक मुख्य दोषी रहेको पाइएको छ ।

घटनास्थलबाट फरार भएका ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका‐२ बस्ने ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई बिहीबार साँझ काठमाडौँको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी प्रहरी वृत्त ठिमीको जिम्मा लगाएको छ ।

सिसिटिभीफुटेजमा यस्तो देखियो 

सार्वजनिक भएको सिसिटिभीफुटेजमा कौशलटारबाट गठ्ठाघरतर्फ आउने सडकमा सवारी चेकिङ्गका लागि उभिएका ट्राफिक प्रहरी देखिन्छन् । त्यही क्रममा केही सवारीसाधन आइरहेका छन् । दुर्घटनामा परेको स्कुटर पनि आइरहेको देखिन्छ । स्कुटरले गति कम गरेसँगै तीव्रगतिमा आएको ट्रकले ट्राफिक चेकिङ्ग अगाडि नै दायाँतर्फबाट ठक्कर दिन्छ र घिसार्दै पर लैजाँदा दुर्घटनाग्रस्त स्कुटर ट्रकको बायाँतर्फ आइपुग्छ । ट्रकको चक्कामुनि स्कुटर पर्छ ।

उद्धारका लागि सडकमा रहेका ट्राफिक प्रहरी पुग्छन् । यो दृश्यले ट्रक चालकको ठूलो लापार्बाहीका कारण घटना भएको देखिन्छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार घटना भएको समयमा अन्य दिनमा जस्तै नियमित रुपमा ट्राफिक चेकिङ्ग भए पनि दुर्घटनाग्रस्त स्कुटर र ट्रकलाई रोकेको देखिँदैन । यसमा ट्राफिक प्रहरीको गल्ती नभएको उहाँको भनाइ छ ।

प्रहरीले सञ्चारमाध्यमलाई सूचना नदिँदा समस्या 

दुर्घटना भएलगत्तै शवको दर्दनाक अवस्था देखेर आक्रोशित भीडले ट्राफिक प्रहरीको चेकिङ्गले दुर्घटना भएको भन्दै जाइलाग्यो । ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई केही व्यक्तिले कुटपिट गरेको, पोशाक च्यातेर आक्रमण गरेका थिए । केही व्यक्तिले घरभित्र र होटलभित्र पसेका ट्राफिक प्रहरीसमेतलाई बाहिर निकालेर हातपात गरेका थिए ।

ट्रकमा तोडफोड गरिएको थियो । आगजनी गर्ने तयारीसमेत भएको अवस्थामा प्रहरीले स्थिति नियन्त्रणमा लिन खोज्दा दोहोरो झडप भइ स्थिति तनावग्रस्त बने पनि सञ्चारमाध्यमलाई भक्तपुर प्रहरीले कुनै जानकारी नदिँदा भ्रमपूर्ण सूचना फैलियो ।

घट्नाबारे विभिन्न सञ्चारमाध्यमले जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक बेद विष्टलाई पटकपटक फोन गरेर जानकारी लिन खोजे । विष्टले फोन नउठाएपछि सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजन कार्की र ठिमी वृत्तका डिएसपीसँग पटकपटक फोन गर्दा मोबाइल नउठाएपछि कतिपय सञ्चारमाध्यमले स्थानीयको भनाइलाई आधार मान्दै समाचार सम्प्रेषण गर्न बाध्य भए । जसका कारण गलत सूचना सम्प्रेषण भयो ।

भक्तपुरमा जस्तोसुकै घट्ना हँुदा पनि केही महिनायता सञ्चारकर्मीको फोन प्रहरीले घट्ना भएको घण्टौँसम्म नउठाउँदा सूचना गलत प्रवाह हुने गरेको सञ्चारकर्मी बताउँछन् ।

सनाखतमा यसकारण चुक्यो प्रहरी 

घटनामा सुरुमा प्रहरीले मृतकको गलत सनाखत गरेको थियो । ट्रकको ठक्करबाट एक युवतीको नाम दिँदै निधन भएको विवरण सञ्चारमाध्यमलाई प्रहरीले दियो । घटनास्थलमा दोलखा घर भएका शम्भु नेपालीले मृतक आफ्नो बहिनी भएको बताएपछि प्रहरीले त्यसैलाई आधार मानेर सनाखत गरेको थियो ।

सञ्चारमाध्यममा आफ्नो नाम आएपछि ती युवती आफै प्रहरीमा उपस्थित भएपछि प्रहरी थप अन्योलमा परेको थियो । प्रहरीले आफ्नो बहिनी भनेर गलत सनाखत गर्ने नेपालीलाई पक्राउ गरेर कारबाहीको तयारी गरेको छ ।

सुरुमा महिलाको शव भनेको प्रहरीले घट्नाको पाँच घण्टापछि स्कुटरमा रहेको कागजपत्रको आधारमा मृतक पुरुष भएको पहिचान गरेको थियो । सोही कागजपत्रको आधारमा मृतकका आफन्तले बिहीबार राती नै सनाखत गरेका थिए ।

प्रहरी नायब उपरीक्षक कार्कीले शव क्षतविक्षत अवस्थामा रहेकाले तत्कालै महिला वा पुरुष को हो भनेर पहिचान गर्न नसकेको बताउनुभयो । घट्नास्थलमा भएको तनावग्रस्त अवस्थामा ट्रक मुनिबाट शव झिक्न नसक्दा पनि पहिचानमा ढिलाइ भएको उहाँको भनाइ छ ।

मृतकको एउटा खुट्टा बाहेक शरीरको कुनै पनि भाग सग्लो नहुँदा सनाखतमा समस्या भएको र सीसीटीभी फुटेज हरेपछि मात्रै प्रष्टरुपमा मृतक पुरुष भएको पुष्टी भएको उहाँको भनाइ छ । प्रर्दशनकारीले प्रहरी माथि आक्रमण गरेर दोहोरो झडप भएपछि शव झिक्न नसकेपछि क्रेन ल्याएर ट्रक तानेर शव झिक्न खोजेको थियो । प्रदर्शनकारीले क्रेनसमेत ल्याउन नदिएपछि शव पहिचान गर्न ढिलाइ भएको उहाँको भनाइ छ ।

‘ट्राफिक प्रहरी माथि आक्रमण गर्नेलाई कारबाही’

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले घट्ना दु:खद् भएको बताउँदै गृहमन्त्रीको निर्देशनअनुसार छानबिन समिति गठन गरी  घट्नाको सत्यतत्थ छानबिन गर्ने जानकारी दिनुभयो ।

उहाँले आज ट्रकका मालिकलाई काठमाडौँ बोलाएको र मृतकका परिवारलाई पनि सम्पर्कमा ल्याएर छलफल गर्ने बताउनुभयो । शव परीक्षणका काम अगाडि बढाउन आवश्यक पहल भइरहेको प्रजिअ श्रेष्ठले बताउनुभयो । उहाँले हिजो सञ्चारमाध्यममा आएको जस्तो ट्राफिक प्रहरीको कमजोरी नभएको बताउँदै गलत सूचना प्रवाह हुँदा समस्या भएको स्पष्ट पार्नुभयो ।

उहाँले घट्नामा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने, ड्युटीमा खटिएका ट्राफिक प्रहरीको पोशाक च्यातेर हातपात गर्नेलाई पक्राउ गरि कारबाही गर्ने बताउनुभयो । सत्यतथ्य नबुझी ट्राफिक प्रहरी माथि रिस साँध्न खोजिएको उहाँको भनाइ छ ।रासस