कुबेर शर्मा
एकातर्फ मस्र्याङ्दी र अर्कोतर्फ दरौँदी नदीको संगम । त्यही संगममा ६४२ रोपनी जग्गामा फैलिएका गोरखकाली रबर उद्योग । विशाल भवन, मेसीनरी सामान, कर्मचारीको लागि कार्यालय, आवास र मैदान समेत प्रसस्त छ । बडो जोस र उत्साहले नेपालमा पहिलो पटक रबर उद्योग स्थापना गरियो । तत्कालीन नेपाल आयल निगम र साल्ट ट्रेडिङका कार्यकारी प्रमुखहरु शुवर्ण विक्रम थापा र इन्दु बहादुर शाहीको योजनामा उद्योगको खाका कोरियो । विसं २०४१ साल जेष्ठ ३० गते कम्पनीको रुपमा स्थापना भएपछि २०४९ सालमा उत्पादन समेत सुचारु भयो ।
उद्योग प्रवेश, विश्राम र कार्यालयबाट निस्कने समयमा कर्मचारीका लागि सुचक साइरन बज्थ्यो । यी सुचक साइरन बज्दा उद्योग प्राङ्गणमा कर्मचारीको आवत जावतले छुट्टै माहौल सृजना गरेको थियो । उद्योग वरपर रहने स्थानीयको जीवनस्तर आएको सुधारले धेरैलाई स्वरोजगार र स्वाभिमानी बनाएको थियो ।
गोरखकाली रबर उद्योगबाट उत्पादित टायरहरु कुनै समयमा नेपालीहरुका प्रिय उत्पादन थिए । गोरखकाली टायर आयो गोरखाली भन्दै नेपालका कुना कन्दरामा गुड्थे । कच्ची सडकमा चल्ने गाडीहरुले खोजी खोजी प्रयोग गर्थे गर्ने । नारायणगढ, पोखरा, विराटनगर, काँकडभिट्टा, इटहरी, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्जलगायत प्रमुख शहरमा बिक्री डिपोहरु स्थापना गरियो । कुनै बर्ष यहाँको उत्पादन नेपालमा मात्र हैन भारत, श्रीलङ्का र बंगलादेशमा समेत निर्यात भयो । नेपालको समृद्धिमा भुमिका निर्वाह गर्ने प्रमुख सुचिमा रहेको थियो उद्योग ।
तर यो उद्योग जीर्ण, रोगी र अशक्त एकैदिन वा एकै समयमा भएको भने होइन ।
मेरो संरक्षक, मेरो अभिभावकका रुपमा कोही सक्षम व्यक्ति आउँछ, जिम्मेवार निकायले मेरो रेखदेख गर्छ, मलाई तन्दुरुस्त बनाउँछ भन्ने अपेक्षामा यो संरचना रहिरह्यो । तर त्यो दिन अहँ, अझै पनि आएको छैन । कमजोर बनेसँगै यस कम्पनीको उपचारको लागि भन्दै हरेक सरकारसँग रकम मागगर्ने र कर्मचारीलाई तलब खुवाउने मात्र हुनथाल्यो ।
मलाई खुकुरीको धारमा हिँडाएर आफ्नो गोजी भर्ने क्रियाकलाप पनि भए । जसले नदेखिँदो रुपमा मलाई थप कमजोर बन्दै गए, यो नै यसको अहिलेको अलाप हो ।
भग्नावशेश जस्तै भैसकेको यसबाट कुनै अपेक्षा नदेखेर नै होला, एडिबीले तत्कालिन समयसम्मको ऋण चुक्ता गरिदिएर आफु लगानीबाट अलग भयो । त्यसपछि नेपाल सरकारको शेयर ५७ प्रतिशत पुग्यो ।
२०७१ चैत्रसम्म जसोतसो उत्पादन गर्दै थियो । तरपछि उत्पादन नै रोक्ने निर्णय भयो । त्यसपछि त यो कम्पनी नै साह्रै कमजोर भएको निष्कर्ष पो निकालियो । यसरी काम गर्दागर्दै, नेपालका सवारी चालकहरुको मन मस्तिष्कमा यसको लोकप्रियता रहँदा रहँदै कहाँका कुन डाक्टरले यस्तो निष्कर्ष निकाले रु बडो अचम्मको कुरा छ ।
यसलाई पुर्नर्जीवित गर्न सकिन्छ या सकिन्न भन्ने बिषयमा अध्ययन गर्न समिति गठन भयो । यद्यपी फेरी उत्पादन गर्न सक्छ कि भन्ने प्रतिवेदन कसैले दिएनन् । अन्ततः २०७५ चैत्रमा उत्पादनमा काम गर्ने सबै कर्मचारीलाई बिदा गरेससँगै यसलाई एक किसीमले भन्नुपर्दा कोमामै राख्ने काम भयो । हुनत पटक पटकका अध्ययनहरुले यो संस्था जीवित र तन्दुरुस्त हुन सक्छ भन्ने विश्वास नै भेटिएन । यद्यपी यो कम्पनीले भने उत्पादन दिनसक्छु भन्ने आँट र हिम्मत अहिले पनि छ । मलाई रहर छ, नयाँ प्रविधि सहितको उत्पादन गरौँ र ठूलो मात्रामा भैरहेको टायरको आयात रोकी टायरमा देशलाई आत्मनिर्भर बनाऔँ– गोरखकालीको अन्तरआत्माको आवाज हो यो ।
यतिबेला यो कम्पनीले उत्तर हैन थुप्रै प्रश्नहरु बोकेको छ । धेरै स्थानमा उद्योग स्थापनाका लागि जग्गा अधिग्रहण गर्न, डीपीआर, ईआईए, आइएइए गर्न नीति, कार्यक्रम र बजेट राखिएको छ तर सरकारले कुनै समय चलाउँछु भनेर खोलेको एक मात्र रबर उद्योग किन चलाउने चेष्टा गर्दैन ? नेपालको संविधान, २०७२ को राज्यका नीतिअन्तर्गत रहेको अर्थ, उद्योग र वाणिज्यसम्बन्धी नीतिदेखि उद्योगसम्बन्धी विभिन्न ऐन, नियम, निर्देशिका, कार्यनीति आदि र दिगो विकास लक्ष्य, राष्ट्रिय योजनाका लक्ष्य तथा रणनीतिहरूले सुदृढ अर्थतन्त्रका लागि उद्योग स्थापनाको कल्पना गरे पनि हामीजस्ता हुँदाखाँदाका उद्योगहरूलाई किन चल्न दिईदैन् ?
जुन उद्योगले वर्तमानको प्रतिश्पर्धात्मक बजारमा उत्पादन दिँदैन त्यस्तालाई बन्द गर्नु नै उचित हुन्छ भन्दै गर्दा समयानुकुल यसको क्षमता विस्तार गर्न किन प्रयत्न गरिएन ?
पछिल्लो चरणमा त न मन्त्रालय, न सञ्चालक न कर्मचारी कोही पनि यसको सञ्चालनमा उत्सुक रहेनन् । त्यसो हो भने यसलाई निजीकरण गर्नु वा राष्ट्रिय हित अनुकुल रहने गरी बाहिय् लगानी कर्तालाई किन सञ्चालन स्विकृति दिन सकिएन ?
के बन्द गर्नु नै अन्तिम विकल्प हो ? होइन भने गर्न सकिने प्रयत्न किन भएन ? । नेपाली मन भन्छन्– गोरखकाली रबर उद्योगको उत्पादन फेरि नेपाली सडकमा घुमेको हेर्न र नेपाली ग्राहकको पहिलो रोजाई बनाउन मन छ । टायरको आयात रोक्न किन नसकेको होला देशले ? यसमा कमिसन खाने को को हुन् ? अब किन नचिन्ने ? नेपाली अर्थतन्त्रलाई टेवा दिनुछ । अन्तिम विकल्प बन्द गर्नु नै होला । तर पनि यतिबेला यो उद्योग भन्छ– मलाई खुल्न मन छ, मलाई खुलाई देउ, मलाई हिड्न, गुड्न र दौडिन मन छ ।