७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको कहर: विमानस्थलको आम्दानी पाँच अर्ब घट्यो



अ+ अ-

काठमाडौँ। कोरोना सङ्क्रमणका कारण उडान प्रभावित भएपछि देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी गुमाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार २०७६ चैतदेखि २०७७ कात्तिकसम्म विमानस्थलको आम्दानी एक अर्ब १९ करोड रुपियाँ मात्र पुगेको छ । जब कि २०७५ चैतदेखि कात्तिकसम्म विमानस्थलले छ अर्ब १९ करोड ७५ लाख रुपियाँ आम्दानी गरेको थियो । यस हिसाबले कोभिडको बीचमा विमानस्थलको आम्दानी पाँच अर्ब १७ लाख रुपियाँले घटेको तथ्याङ्क छ ।

कोभिड सङ्क्रमण नियन्त्रणस्वरूप सरकारले गत चैत ११ देखि निषेधाज्ञा जारी गरेको थियो । करिब पाँच महिना लामो निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फको नियमित उडान बन्द थियो । उडान नै नहुँदा विमानस्थलले नियमित किसिमका आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताउनुभयो । मासिक औसत ५० करोड रुपियाँभन्दा बढी आम्दानी गर्दै आएको यो विमानस्थलको आम्दानी कोरोना सङ्क्रमणका कारण गत भदौमा चार करोड ८९ लाख रुपियाँसम्म घटेको थियो ।

विमानस्थलले मुख्यगरी ल्यान्डिङ र पार्किङबापत ठूलो आम्दानी गर्छ । यसबाहेक विमानस्थलभित्रका ठेक्कापट्टा, पसल कबोल, नेभिगेसन एड विमानस्थलका आम्दानीका अन्य स्रोत हुन् । विमानस्थलको आम्दानी घट्दा कतिपय साना किसिमका बजेट कटौती गर्नुपरेको क्षेत्रीले जानकारी दिनुभयो । यद्यपि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै बजेटमा भने यसले खासै असर नपरेको उहाँले बताउनुभयो । प्राधिकरणले देशका आन्तरिक विमानस्थलहरूमा आफ्नै कोषबाट गर्ने खर्च चाहिँ घटाएको छ, उहाँले भन्नुभयो । पछिल्लो समय उडान सङ्ख्या बढिरहँदा आम्दानी बढ्ने अपेक्षा गरिए पनि सामान्य अवस्थामा आउन छ महिनाभन्दा बढी समय लाग्ने प्राधिकरणको प्रक्षेपण छ । गोरखापत्र दैनिक