१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

मालेपाटन जोडिने झोलुङ्गे पुल सञ्चालन

मालेपाटन जोडिने झोलुङ्गे पुल सञ्चालन
अ अ+ अ-

गण्डकी । पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र मालमूलघारी जोड्ने ताल खोलामाथिको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।

वर्षौंदेखि पुलको आशामा रहेका स्थानीयमा पुल बनेसँगै खुसियाली छाएको छ । मालेपाटनसँगै यहाँका बडहरे, देउराली, खड्का गाउँ, डोटेल कुनालगायत स्थानका बासिन्दालाई वडा कार्यालयका साथै गण्डकी विश्वविद्यालयसँगको पहुँच सहज बनाएको हो ।

पुल निर्माणले मालेपाटन क्षेत्रका बालिबालिकालाई ब्रम्हरुपा माध्यमिक विद्यालयसम्म पुुग्न सहज भएको स्थानीय ब्रम्हरुपा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डितले बताउनुभयो । झोलुङ्गे पुल निर्माणले मालेपाटन र आसपासका सर्वसाधारणलाई पृथ्वीराजमार्गअन्तर्गतको तल्लो गगनगौडा पुग्न सहज भएको उहाँले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारको रु एक करोड सात लाखको लागतमा उक्त झोलुङ्गे पुल निर्माण भएको पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिनुभयो । पुल निर्माणसँगै यस क्षेत्रका स्थानीयको आवतजावतका साथै दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न सहज भएको उहाँको भनाइ छ ।

मर्मत नहुँदाको सास्ती

दुुई वर्षअघि जग भत्किएको मालेपाटनबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने फुर्सेखोलामाथिको झोलुङ्गे पुल हालसम्म मर्मत नहुँदा सो पुलबाट आवतजावत गर्ने सर्वसाधारण समस्यामा परेका छन् ।

उक्त पुलको जग भत्किँदा मालेपाटनसहित तनहुँको सेराबेँसीलगायत ठाउँका सर्वसाधारण समस्यामा परिरहेका स्थानीय तारानाथ रिजालले बताउनुभयो । नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा विसं २०७४ मा निर्मित एक सय १९ मिटर लम्बाइको उक्त पुल कूल रु ४१ लाख २५ हजार पाँच सय २८ लागतमा बनेको थियो ।

संरक्षणको अभावमा बर्सेनि फुस्रेखोलामा वर्षासँगै आउने बाढी र कटानले पुल भत्किएको स्थानीय महेश्वर पौडेलले उल्लेख गर्नुभयो । यस क्षेत्रमा आवतजावत गर्न पुल अत्यावश्यक रहेको बताउँदै उहाँले यसतर्फ राज्यको ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

पोखराको मालेपाटनका साथै तनहुँको शुक्लागण्डकीका सेराबेँसी, आरुस्वाँरा, सिम्ले, नयाँ गाउँ, थप्रेकसँगै भुजिकोटलगायत स्थानका बासिन्दाका लागि यो पुल आवश्यक भएको स्थानीय नारायण पाण्डेले बताउनुभयो ।

पुलको जग मर्मत गर्न पहल भएको बताउँदै पोखरा–३२ का वडाध्यक्ष कार्कीले यसका लागि प्रदेश सरकारबाट रु ३२ लाख बजेट विनियोजन भएको जानकारी दिनुभयो । पुलको मर्मतसँगै यसको केही माथिबाट अर्को पुलको निर्माण गर्ने योजनासहित पहल भइरहेको उहाँले बताउनुभयो । रासस