१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

मुक्तिनाथको झल्को दिने तनहुँको च्यवनधाम धार्मिक पर्यटनको केन्द्र बन्दै

मुक्तिनाथको झल्को दिने तनहुँको च्यवनधाम धार्मिक पर्यटनको केन्द्र बन्दै
अ अ+ अ-

दमौली । शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाम ‘मिनी मुक्तिनाथ’ को रुपमा विकास हुन थालेको छ । मुक्तिनाथको झल्को दिने गरी यहाँ पूर्वाधार निर्माण गरेपछि च्यवनधाम धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको हो ।

च्यवनधाम परिसरमा निर्माण गरिएका शुक्लेश्वर महादेवको मन्दिर, आसपासमा सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी र गणेशको मन्दिरले यहाँ आउने भक्तजनलाई आकर्षित गर्ने गरेको च्यवनधामका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिनुभयो । साथै मुक्तिनाथको झल्को दिने एक सय आठ धारा, एक सय हाठ ओमकार कल्पवृक्ष, एक सय आठ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्कलगायत संरचना निर्माण गरिएको छ ।

बौद्ध धर्मावलम्बीलाई लक्षित गरी बौद्ध गुम्बा पनि यहाँ निर्माण गरिएको लम्सालले बताउनुभयो । बौद्ध धर्मावलम्बी आगमन बढाउने, धार्मिक सहिष्णुता कायम गराउने उद्देश्यले गुम्बा बनाइएको भन्दै गुम्बाले एकअर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको उहाँले उल्लेख गर्नुभयो ।

च्यवनधामका अध्यक्ष लम्सालले भन्नुभयो, “यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित स्थानीयवासी लागिपरेका छन् । यसलाई धेरैले मिनी मुक्तिनाथको रुपमा चित्रण गर्ने गरेका छन् ।” यहाँ नयाँ वर्ष, साउने सोमबार, कृष्ण जन्माअष्टमी, बालाचतुदर्शी र शिवरात्रीमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

प्रत्येक वर्षको साउनमा यहाँ शिवपुराण लगाउने गरिन्छ । च्यवनधाममा रहेको शुक्लेश्वर महादेवको मन्दिरमा पूजाअर्चना गरेपछि सन्तान नभएकालाई सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ ।

च्यवनधामका उपाध्यक्ष अस्मिता खनालले यस ठाउँ साझा धार्मिक आस्थाको केन्द्रका रुपमा परिचित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुन्दर धार्मिक सांस्कृतिक संरचना, पर्यटकीय आकर्षकका विम्बहरु, ज्येष्ठ नागरिक आश्रम, बेसहारा छाडिएको गाईहरुको संरक्षण गर्न स्थापित गौँ संरक्षण केन्द्रको व्यवस्थापकीय जिम्मेवारी यसै धामले ग्रहण गरिरहेको छ ।”

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले मिनी मुक्तिनाथको रुपमा विकास भइरहेको यस ठाउँमा पूर्वाधार विस्तार गरी पर्यटन प्रवर्द्धन गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “यस ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउनुपर्छ भनेर स्थानीय जागरुक बन्नुभएको छ, आज यसले एउटा स्वरुप पाएको छ । यसको प्रवर्द्धनका लागि नगरपालिका सहकार्य गर्न सदैव तयार छ ।”

पूर्वमन्त्री आशा कोइरालाले विगतमा एक्लै मान्छे हिँड्न डराउने यस ठाउँ आज धार्मिक गन्तव्यस्थल बन्न सकेकाले यसको सम्पूर्ण श्रेय स्थानीयवासीलाई जाने उल्लेख गर्नुभयो ।

च्यवनधाम र गौँ संरक्षण केन्द्रको एकीकृत विकास एवं प्रवर्द्धनका लागि गत सोमबारदेखि धार्मिक महोत्सव आयोजना गरिएको छ । यही साउन २८ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी धार्मिक महोत्सवमा पण्डित बालकृष्ण अर्यालले कथावाचन गरिरहनुभएको छ ।

यसरी फेरियो स्वरुप

पृथ्वी राजमार्ग नजिकै छ सेती नदीको किनार । जताततै ढुङ्गैढुङ्गा । दिउँसो पनि एक्लै हिँड्न डराउनुपर्ने अवस्था थियो । नदीको तिरसम्म पुग्नलाई साँघुरो गोरेटो थियो, मुस्किलले आउजाउ गर्न सकिने । उराठलाग्दो देखिने गाछेपानीस्थित सेती नदी ढुङ्गाले भरिएका किनारको स्वरुप एक दशकमा फेरिएको छ । दिउँसै डरलाग्दो नदी छेउको थुम्को पवित्रधाम बनेसँगै सुन्दर मन्रि निर्माण गरिएको छ ।

शुक्लागण्डकी–२ गाछेपानीका स्थानीयले एक दशकमा च्यवनधामलाई परिवर्तन गरी सुन्दर, रमणीय धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरेका छन् । एक्लै हिँड्न पनि डरलाग्ने साघुँरो ठाउँ फेरिएर यति सुन्दर र फराकिलो पर्यटकीय गन्तव्य बन्ला भन्ने गाछेपानीवासीले सोचेका पनि थिएनन् । अहिले यही किनारको स्वरूप फेरिएको छ ।

गाछेपानीवासीको एकताले यस ठाउँलाई तनहुँकै चर्चित धार्मिकस्थल बनाउन सफल भएको हो । नदी छेउको थुम्को मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम (मिनी मुक्तिनाथ) को नामले चिनिएको छ । यो ठाउँ भगवान् शिवजीप्रति आस्थावान् हुने भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको च्यवनधामका अध्यक्ष लम्सालले बताउनुभयो । उहाँकमा अनुसार हिन्दू धर्मको मात्र नभई च्यवनधाम बौद्ध धर्मावलम्वीको पनि आस्थाको थलो हो ।

विसं २०६५ मा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले कब्जामा लिन खोजेपछि यस स्थान परिवर्तन भएको च्यवनधामका अध्यक्ष लम्सालले बताउनुभयो । “यहाँको २३ रोपनी जग्गा हडप्न खोजिएको थियो । गण्डकीको तिरसम्म पुग्ने बाटो पनि नहुने भएपछि संरक्षणमा हामी लाग्यौँ”, उहाँले भन्नुभयो, “जग्गा संरक्षण गर्न भुलभुले बाराही एकता समाजले वृक्षारोपण गर्यो । यहीको पुनमगर समाजले तारबार लगायो । पुन मगर समाजले तारबारमा साथ दिनुको कारण उनीहरुको अन्तिम घर अर्थात् चिहान त्यही आडैमा थियो ।”

जग्गा संरक्षणको दुई वर्षपछि विसं २०६७ मा काठमाडौँ बस्दै आउनुभएका ऋषिगुरु श्रीराम पौडेलसँग स्थानीयको सम्पर्क भएपछि उहाँले सेतीको किनारमा तपोभूमि भएको सुनाउनुभएको थियो । उहाँले शुक्लागण्डकी क्षेत्र च्यवन ऋषिको तपोभूमिका रुपमा रहेको पनि सुनाउनुभएपछि स्थानीयको पहलमा पूर्वाधार निमार्ण थालिएको अध्यक्ष लम्सालले जानकारी दिनुभयो ।

विसं २०६७ कात्तिकमा मन्दिरसहितका पूर्वाधार निर्माण गर्न लालप्रसाद गर्तौलाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको थियो । माघमा यो क्षेत्रलाई श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम नामकरण गरिएको अध्यक्ष लम्सालले उल्लेख गर्नुभयो । समितिले यहाँ मन्दिरसहित पूर्वाधार निर्माण गर्न आर्थिक सङ्कलन गर्ने उद्देश्यले सोही वर्षको चैत १० गतेदेखि १७ गतेसम्म सञ्चालन गरेको महायज्ञमा रु एक करोड ५० लाख रकम सङ्कलन भएको थियो । त्यसपछि मन्दिरमा पूर्वाधार निर्माणको क्रम सुरु भएको थियो ।

महायज्ञ लगाएको छ महिनापछि मन्दिर शिलान्यास गरिएपछि पूर्वाधार निर्माणको चरण सुरु भएको थियो । मन्दिर क्षेत्रमा एक दशकको अवधिमा रु तीन करोडभन्दा बढी पूर्वाधार निर्माणमा लगानी भइसकेको अध्यक्ष लम्सालले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारको लगानीमा रु २५ लाख खर्च गरी यहाँ रहेको एक सय आठ धाराको माथिपट्टी कृत्रिम हिमाल निर्माण गरिएको छ । कृत्रिम हिमाल बनाएपछि मन्दिरमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको उहाँले उल्लेख गर्नुभयो ।

यही बाटो भएर तनहुँको प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिर पुगिन्छ । ढोरबाराही जाने धार्मिक पर्यटक पनि च्यवनधाममा आउने गरेका छन् । मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम मिलेनियम ट्रेकको सुरुवाती विन्दु हो । सन् २००० देखि सुरु भएको तनहुँ र स्याङ्जालाई जोड्ने ७२ किलोमिटर दूरीको मिलेनियम ट्रेक यहीबाट सुरु हुने भएकाले पनि यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरेमा रोजगारीका अवसर सिर्जना हुनाका साथै आयआर्जन वृद्धि हुँदै जाने विश्वास लिइएको छ । रासस