२४ असार २०८३, बुधबार
,
Latest
सवारी नियम उल्लङ्घनको कारबाही: चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रतिनिधिसभा बैठक बस्दै, चार महत्त्वपूर्ण विधेयक प्रस्तुत हुँदै तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः  १४ किमी  कालोपत्र वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए भेरी करिडोरः पुल र सडक कहिले होलान् पूरा ? ‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिसौना पहिरामा ज्यान गुमाएका परिवारलाई रू छ लाख हस्तान्तरण



अ+ अ-

गुल्मी । जिल्लाको मुसिकोट नगरपालिका–१ स्थित बिसौनामा मङ्गलबार पहिरोमा परी मृत्यु भएका विक परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको नेतृत्वमा गाउँमै पुगेर आज मृतकका परिवारलाई रु छ लाख रकम हस्तान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी शर्माले आज सङ्घीय सरकारको विपद् व्यवस्थापन कोषबाट प्राप्त राहत रकम मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेल, उपप्रमुख गङ्गा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित स्थानीयको उपस्थितिमा मृतकका परिवारलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारी शर्माले शोकाकूल परिवारलाई भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै सङ्घ सरकार र प्रदेश सरकारबाट उपलब्ध हुने सबै प्रकारका सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेलले पालिकाबाट मृतकका परिवारलाई किरिया खर्च वापत रु एक लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै घाइतेको सम्पूर्ण उपचार खर्च नगरपालिकाले व्यहोर्ने बताउनुभएको थियो । उहाँले पीडित परिवारका लागि किरियाबाट निस्केपछि पुनःवासको व्यवस्था मिलाउने उल्लेख गर्नुभयो ।

पहिरो पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय नगरपालिका, जिल्ला प्रहरी कार्यालय एवं गुल्मी उद्योग वाणिज्य सङ्घबाट टेण्ड, त्रिपाल, लत्ताकपडा, खाद्यान्नलगायत सामग्री उपलब्ध गराइसकिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

यसअघि गत असार १४ गते मालिका गाउँपालिका ‐६ स्थित कँडेलपाटामा गएको पहिराबाट मृत्यु भएका परिवारलाई पनि जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीबाट रु ११ लाख राहत रकम हस्तान्तरण गरिएको थियो । पहिराका कारण उक्त ठाउँका १५ घरपरिवार विस्थापित बनेका छन् ।

पहिराका कारण गुल्मीको मालिका गाउँपालिका र मुसिकोट नगरपालिकामा गरी यसपटक नौ जनाले ज्यान गुमाइ सकेका छन् । रासस