१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

नागलाई खुसी पार्न नागपूजा गरिने

नागलाई खुसी पार्न नागपूजा गरिने
अ अ+ अ-

लेखनाथ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी भोलि परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्बिर टाँसेर मनाइँदैछ । नागको पूजा गरी तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दु:ख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने जनविश्वास रहेको छ ।

पोखरा–२६ विजयपुर निवासी पण्डित गणेश अधिकारीले नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा रहिआएको बताउनुभयो । “अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई श्रावण शुल्क पञ्चमीमा ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । यस दिन नागदेवताको पूजाअर्चना गर्न दूध, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ”, उहाँले भन्नुभयो, “सामान्यतया अगाडि सर्पनै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा पूजा गरिन्छ ।”

यस दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प, बिच्छीलगायत घिस्रने जनावरलाई मार्नु हँुदैन भन्ने मान्यता रहेको अधिकारीले जानकारी दिनुभयो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा रहँदै आएको उहाँले बताउनुभयो ।

“प्रत्येक घरमा नाग हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाएमा घरको जग भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नागपूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शयनमा फणको छाता ओढी बस्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो”, पण्डित अधिकारीले भन्नुभयो, “प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा लिइन्छ । दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएका कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।”

श्रावण शुक्ल पञ्चमीका दिन पोखरा–१३ स्थित कमलपोखरी र नागको मूर्ति भएका सार्वजनिक स्थान, पोखरा–८ स्थित नागढुङ्गा, पोखरा–१३ आर्वास्थित नागेश्वर मन्दिरलगायत स्थानमा विशेषरुपमा पूजाआजा गरी नागलाई गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायत परिकार प्रसादका रुपमा चढाउने गरिन्छ ।

पोखरा–१३ स्थित कमल पोखरीको मध्यमागमा रहेका नागको पूजा गर्न जिल्ला बाहिरबाटसमेत भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको स्थानीय शोभाकान्त सिग्देलले बताउनुभयो । परापूर्वकालदेखि कमल पोखरीमा पाइने कमलको फूल र कमलका पात श्रावण शुक्ल पञ्चमीका दिन घरघरमा लाने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो ।

पोखरा–८ नागढुङ्गामा सयौँ वर्षदेखि सामूहिक रुपमा नागको पूजाआजा गर्दै आएको नागढुङ्गास्थित नाग मन्दिर संरक्षण समितिका संरक्षक युवराज लामिछानेले जानकारी दिनुभयो । सयौँ वर्षअघि चौताराको नजिकै ठूलो ढुङ्गामा नागको आकृति भएकाले यस ढुङ्गामा नागको पूजा गरिने भन्दै अहिले पनि यसलाई संरक्षण गरी सामूहिक नाग पूजा गर्दै आइएको उहाँले बताउनुभयो ।

“यस ठाउँको नाम नागढुङ्गाबाट प्रसिद्ध छ । पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको बास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ”, पोखरा–१३ निवासी पण्डित सुरेन्द्र बरालले भन्नुभयो । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंबदन्ती प्रचलित छन् ।

“किंबदन्तीअनुसार एकजना किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहारा खोजेरआउँदा आफ्ना सबै बच्चा मरेको देखेपछि किसानसँग क्रुद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् । संयोगले किसानकी छोरी घर बाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् ।’

‘किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दयाँ गरी किसानकी छोरीलाई छोडिन् । मृत्युको मुखबाट बाचेर प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोड्षोपचारले पूजा गरी दूध खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ बर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरुलाई पनि जीवनदान दिनुहोस् भनी बर मागिन् । प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी भएकाले सो दिन नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको जनविश्वास छ”, पण्डित बरालले भन्नुभयो । रासस