• २४ भाद्र २०८१, सोमबार
  •      Mon Sep 9 2024
  •   Unicode
Logo

आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार



दमौली । तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार पारिएको छ । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित सो अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारी समेत गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज शल्यक्रियाकक्षको आज शुभारम्भ गर्नुहुँदै अस्पतालको थप स्तरोन्नति र विकासका लागि सङ्घीय सरकारको सहयोग रहने जानकारी दिनुभयो । उहाँले गाउँपालिकाले पालिकास्तरीय अस्पताल सञ्चालन गरेर यस भेगका जनतालाई दिएको सेवा सकारात्मक छ भन्नुभयो ।

अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रियाकक्षका लागि आवश्यक बत्ती, शय्या र इलेक्ट्रोकाउट्री मेसिन प्राप्त भएको जानकारी दिनुभयो । लामो समयको प्रयासपश्चात् अस्पतालमा अब शल्यक्रिया सेवा सुरु हुने चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । अस्पतालले प्रसूीत, हर्निया, एपेन्डिक्स, हाइड्रोसिलको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको छ ।

अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ । अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ । अस्पतालमा एकजना एमडिजीपी, तीनजना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।

आँबुखैरेनी–३ मा निजी क्षेत्रबाट सञ्चालित छिम्केश्वरी अस्पताल आँबुखैरेनी अस्पतालमा समायोजन भएको थियो । यसैबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउने वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाली कांग्रेस ऑबुखैरेनी गाउँ कार्यसमितिले आज यहॉ आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उहाँले स्वास्थ्य संस्था सुधारका लागि आफू कार्ययोजनासहित अगाडि बढेको जानकारी दिनुभयो । उहॉले भन्नुभयो, “तनहुँको सन्दर्भमा जिपी कोइराला अस्पताल, दमौली अस्पताल तथा पालिकास्तरीय अस्पतालको विकासका लागि म जानकार छु ।” रासस