• २४ भाद्र २०८१, सोमबार
  •      Mon Sep 9 2024
  •   Unicode
Logo

‘फेरिल’ उपन्यास सार्वजनिक



डुम्रे । सीमान्तकृत अल्पसङ्ख्यक दरैर दराई समुदायलाई मुख्य पात्रका रूपमा चित्रण गरी रचना गरिएको उपन्यास ‘फेरिल’ अर्थात् परिवर्तन लोकार्पण गरिएको छ ।

लेखक माधव बिडारीद्वारा लिखित सो उपन्यासमा सो समुदायको संस्कार, संस्कृति, अवस्था र मौलिकपनालाई समावेश गरिएको छ । उपन्यासकार बिडारीले भन्नुभयो, “करिब एक वर्षअघिसम्म मैले दरै समुदायका बारेमा सुनेको पनि थिइनँ । दरै जातिका अध्ययन तथा बुझ्ने हुटहुटीले दरैको बसोबासस्थल रहेर यस समुदायको इतिहास, संस्कृति, संस्कार र जीवनशैलीसम्मका विषय उपन्यासमा समेटेको छु ।”

व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले आइतबार उपन्यासको लोकार्पण गर्दै दरै समुदायको संस्कार, संस्कृति र रहनसहनको विषयमा समेटिएर लेखिएको उपन्यासले समुदायसँग सम्बन्धित सबै कुराको संरक्षणको दायित्व बढाएको बताउनुभयो । नेपाल दरै उत्थान समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चिजबहादुर दरैले उपन्यासले समग्र जातिसँगै दरै समुदायलाई उपन्यासको कथाका मुख्य पात्र राखेर संस्कार, संस्कृति जोडिएको छ भन्नुभयो ।

दरै समाज तनहुँका अध्यक्ष ठाकुरबहादुर दरैले उपन्यास ‘फेरिल’ले समुदायमा लुकेर रहेका विषयलाई समेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “दरै समुदायको भाषा, संस्कार, संस्कृति, रहनसहन र बसाइँसराइका विषय उपन्यासले उजागर गरेको छ । यसले समुदायलाई सचेत गराउनेछ ।”