४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल एरिका ऐतिहासिक स्वर्णनजिक क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ मदन भण्डारी रूपान्तरण पुरस्कार रामकृष्ण दुवाललाई नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा ढुसीको सङ्क्रमणले धानबाली नष्ट



अ+ अ-

पर्वत । यहाँका कृषकले लगाएको धानबाली ढुसीको सङ्क्रमणले नष्ट हुन थालेको छ । धान रोपेको एक महिनामा ढुसी रोगका कारण धानका गाँजहरु मर्दै जान थालेपछि कृषक चिन्तित बनेका छन् ।

जिल्लाको फलेबास नगरपालिकाका सबैजसो वडा, कुश्मा, विहादी, महाशिलालगायत वडामा लगाइएको धानबालीमा जरा कुहिने रोग लागेको फलेबास नगरपालिकाकाको कृषि शाखा प्रमुख केदार सापकोटाले जानकारी दिनुभयो । ‘फुट रुट’ नामक उक्त रोग ढुसीका कारण लागेको र यसले कतिपय स्थानमा धानखेत रित्तिँदै जान थालेको उहाँले बताउनुभयो ।

सापकोटाका अनुसार अहिले यो समस्या देशव्यापी रुपमा देखापरेको छ । “यो रोग ढुसी नामक फुजारिएम मोनिलिफर्मबाट लाग्ने गर्दछ”, उहाँले भन्नुभयो, “ब्याडमा कलिलो बिरुवादेखि खेतमा धान छिप्पिने बेलासम्म यो रोग देखापर्ने सम्भावना रहन्छ । यसलाई समयमै नियन्त्रण गर्न नसक्ने हो भने ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउँछ”

जिल्लास्थित कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सोविता सुवेदीले बीउको उपचार नगरिकन रोपाइँ गरिएकाले धानबालीमा ढुसी रोग फैलिएको बताउनुभयो । धानले गाँंज राख्ने बेलामा रोग फैलिएकाले तत्काल उपचार गर्नुपर्ने उहाँको सुझाव छ ।

यो रोगबाट बाली जोगाउनका लागि रोगी बोट तत्कालै हटाउने, ‘कार्बेन्डाजिम–५०५’, ‘डब्लु पी–९’, ‘बेभिष्टिन–०’, लगायत ढुसीनाशक विषादी प्रयोग गर्नुपर्ने बाली संरक्षण अधिकृत सुवेदीले जानकारी दिनुभयो । ढुसीनाशक औषधि प्रयोग गर्दा दुई ग्राम प्रतिलिटर पानीका दरले एक रोपनी क्षेत्रफलमा २५ देखि ३० लिटरको घोल बनाएर १० दिनको फरकमा दुईदेखि तीन पटक छर्कनुपर्ने उहाँले बताउनुभयो । सुवेदीका अनुसार अपह्न्न ४ बजेपछि विषादी छर्किंदा उपयुक्त हुन्छ ।

धमाधम धानका बोट मर्न थालेपछि खेत रित्तै हुन थालेको फलेबास–३ शङ्करपोखरीका कृषक शिव अधिकारीले बताउनुभयो । उहाँले धानमा रोग लागेपछि आफूले लगाएको पोखरेली जेठो बुढो, एक्ले, पहेँलेलगायत बाली नष्ट भएको गुनासो गर्नुभयो ।

फलेवास–९ भँगरामा मात्रै ९० रोपनी क्षेत्रफलमा गरिएको पोखरेली जेठोबूढो धानखेतीमा ढुसी र फट्याङ्ग्राले नष्ट गरेको कृषक लोकप्रसाद काफ्लेले बताउनुभयो । ठूलो लगानी गरेर धानखेती गरे पनि रोग लागेर नष्ट गरिदिएको उहाँको गुनासो छ ।

फलेबास नगरपालिकाको कृषि शाखाका अनुसार रैथाने जातका धान र खुमल–४ तथा जेठो बुढो धान लगाएका ठाउँमा ढुसीको सङ्क्रमण बढी देखिएको छ । विषादी प्रयोग गर्नुअघि रोगग्रस्त बोटहरु उखेलेर नष्ट गर्ने, पानीको निकासा गर्ने, नाइट्रोजनयुक्त मलको प्रयोग गर्न नहुने कार्यालयका कृषि शाखा प्रमुख सापकोटाले बताउनुभयो ।

नगर कृषि सञ्जाल फलेबासका संयोजक विनोद भुसालले पर्वतको धानबालीमा ठूलो समस्या आएको बताउँदै यसले किसानलाई निरुत्साहित बनाएको उल्लेख गर्नुभयो । कतिपय स्थानमा गाँज राख्ने बेलाको धान मरेर खेत पूरै खाली हुन थालेको भन्दै तत्काल उपचार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कृषि ज्ञान केन्द्र पर्वत र फलेबास नगरपालिकाको कृषि शाखाबाट नि:शुल्क रुपमा कृषकलाई ढुसीनाशक औषधि उपलब्ध गराइएको संयोजक भुसालले जानकारी दिनुभयो । रासस