२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नपूर्ण पदमार्गमा वर्षेनी पाँचभन्दा बढी पर्यटकले गुमाउँछन् ज्यान



अ+ अ-

मनाङ । जोखिमयुक्त मानिने अन्नपूर्ण पदमार्ग विश्वकै पर्यटकको आकर्षणको केन्द्र मानिन्छ । विश्वकै १०औँ स्थानको जोखिममा पर्ने अन्नपूर्ण पदमार्गमा यात्राका क्रममा पर्यटकले ज्यान गुमाउने गर्दछन् ।

आर्थिक वर्ष २०८०/८१ मा पाँच पर्यटकले ज्यान गुमाएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश पर्यटकले लेक लागेर (हाइअल्टिट्युट) का कारण ज्यान गुमाउने गर्दछन् ।

विसं २०८० असोज १७ मा डुम्रे–बेसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोमा भिरबाट लडेर ६९ वर्षीय अमेरिकी नागरिक चाल्र्स केथ डेविसले ज्यान गुमाएका छन् । विसं २०८० असोज २४ मा मनाङ–खाङ्सार–तिलिचो पैदल मार्गअन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका–९ टोडाँडामा लेक लागेर ३५ वर्षीय चेत्तीय क्यान्डी भन्ने मोहमद रिजीम भारतीय नागरिकले ज्यान गुमाएका छन् ।

त्यस्तै नार्पाभूमि गाउँपालिका–२ मेतास्थित जम्बाला गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा सुतेकै अवस्थामा बेलायतका टेरेन्स ब्राडी मृत भेटिएको एक्यापको तथ्याङ्कमा उल्लेख छ । मनाङ ङिस्याङ–६ चुलुबेस क्याम्प नजिकै बाटोमा लेक लागेर पोर्टर धादिङ गङ्गा जमुना गाउँपालिका–५ फूलखर्कका ३५ वर्षीय हरि अधिकारी र मनाङ ङिस्याङ–९ टोगुफा स्थित पहिरो जोखिम क्षेत्र तिलिचो बेसक्याम्प जाने क्रममा दाङ घोराही उपमहानगरपालिका–९ स्थायी घर भई काठमाडौँ काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने ४९ वर्षीय दधिराम डाँगीले ज्यान गुमाएका छन् ।

भारतीय नागरिक र नेपाली पर्यटक डाँगीको रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो । मनाङको वातावरण र मौसमको जोखिमलाई बेवास्ता गर्दा पर्यटक तथा पथप्रदर्शकले ज्यान गुमाउने गरेका उहाँले बताउनुभयो । प्रमुख भुजेलले भन्नुभयो, “एउटा पथप्रदर्शकबिना नै जोखिमयुक्त यस पदमार्गको यात्रामा पर्यटक आउँछन्, मौसमको अनुकूलताको ध्यान नदिएकाले पर्यटकले ज्यान गुमाउने गर्दछन्, लेक लाग्ने क्षेत्र भएकाले एकैचोटी हाइअल्टिट्युटका कारण ज्यान गुमाउने गरेका छन् ।”

मनाङअन्तर्गतका पर्यटकीय क्षेत्र तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ पार गर्न आउने पर्यटकले यहाँको मौसमको अनभिज्ञताले ज्यान गुमाउनु परेको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “आन्ततरिक पर्यटकले अझ बढी मौसमको अनुकूलतालाई ध्यान नदिँदा यस्ता समस्या आउने गरेका छन्, न्यून चापीय क्षेत्रबाट उच्च स्थानमा पुग्दा हुने समस्यालाई ध्यान दिएमा स्वदेशी पर्यटकले ज्यान गुमाउने अवस्था होइन ।”

मनाङको मौसमलाई ध्यान दिएर यहाँको वातावरणमा घुलमिल हुँदै आउँदा भने यस्ता समस्याबाट बच्न सकिन्छ । थोरै समय लिएर यहाँ घुम्न आउने स्वदेशी पर्यटक उच्च जोखिममा पर्ने गरेका स्थानीयको भनाइ छ । रासस