१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

मिथिलामा मधुश्रावणी पर्वको रौनक

मिथिलामा मधुश्रावणी पर्वको रौनक
अ अ+ अ-

धनुषा । जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वकोे रौनक देखिएको छ । यस पर्वबाट नवविवाहिता महिलाले वैवाहिक जीवन जिउने पाठ सिक्ने गर्दछन् । मिथिलाञ्चलका नवविवाहिता महिलाहरुले गत बिहीबारबाट मधुश्रावणी व्रत सुरु गरेका छन् । साउन महिनाको मौना पञ्चमी तिथिदेखि सुरु हुने मधुश्रावणी व्रत १५ दिनसम्म मनाइने गरिन्छ । देव, ब्राह्मण, कर्ण तथा सोनार जातको नवविवाहिता महिला समिति रहेको यसपर्व अहिले सबै जातजातिका नवविवाहिताले अखण्ड शौभाग्यवती, पतिको दीर्घायुको तथा परिवारको सुख शान्तिको कामना गर्दै मिथिलाञ्चलमा ‘मधुश्रावणी’ मनाउने गरेको जनकपुरधाम किशोरी टोलकी ज्योतिदेवी झाले जानकारी दिनुभयो ।

मिथिला संस्कार र परम्पराअनुसार नवविवाहिता मैथिल महिलाका लागि ‘मधुश्रावणी’ महत्वपूर्ण पर्वमध्ये एक हो । यो व्रत श्रावण शुक्ल तृतीया तिथिसम्म मनाइन्छ । यो पर्व नवविवाहिता महिलाले माइतमा बसेर मनाउने गर्छन् । पर्वको एक दिन पहिले नवविवाहिता महिलाको घरबाट आएको नयाँ लुगा, नाग नागिन पूजा गर्न, फूल चढाउन र व्रतालु महिलालाई खानका लागि फल, चना, चामल गौर गढेर पठाउने चलन रहेको झाले बताउनुभयो । व्रतको अघिल्लो दिन व्रतालु महिला बिहानै नुहाइधुवाइ गरेपछि लसुन प्याज, माछा, मासु नून बारेर शुद्ध चोखो खान्छन् । त्यस दिनलाई मैथिली भाषामा नहाइ खाइ भन्ने चलन छ । व्रतभरि हरेक दिन नवविवाहिता महिलाले साथी सङ्गीसँग साँझको समयमा आफ्ना घर–आँगन तथा गाउँभरिका फूल र फूलको पात, दुबो, पान, बेलको पातलगायत तोडेर ल्याउने साँझमा ल्याएको फूल त्यसको भोलिपल्ट देवी देवतालगायत शिव पार्वतीको गीत, कथा सुनेर त्यही फूल माता गौरी तथा विषहाराको पूजामा चढाउने गर्छन् ।

मधुश्रावणी व्रतमा राजा दक्षका हरेक छोरीका बारेमा चर्चा गर्नुका साथै, भगवान शिवलगायत नागनागिनकोसमेत कथा सुन्ने चलन रहेको पण्डित लालबाबु झा बताउनुहुन्छ । पण्डित झाका अनुसार मधुश्रावणीको पहिलो दिन तथा मौना पञ्चमीको दिन माता मानसादेवीको पूजाका साथसाथै माटोले बनाइएका नाग–नागिन र हात्तीको पूजा गरिने विधि रहेको छ । नवविवाहिता महिलाले सामाजिक सांस्कृतिक परम्परामा आधारित ‘मधुश्रावणी’ पर्व नव वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाउछन् । वर्षा ऋतुमा सर्पको भूमि ९जमिन०मा आगमन हुने भएकोले उनीहरूको सम्मानका लागि नागनागिनको साथै शिवपार्वतीको पूजा गर्ने चलन रहेको मिथिला नगरपालिका– ६ कि पुनम झाले बताउनुभयो ।

नारी जीवनमा पतिप्रतिको स्नेह, सौहाद्रतालाई प्रगाढ बनाउन प्रेरित गर्दछ, भने सर्पका वंशको बारेमा चर्चित कथाले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वास रहेको महेन्द्रनगर धनुषाकी गीता देवीझाले बनाउनुभयो । तृतीया तिथिको दिन तथा अन्तिम दिनलाई मधुश्रावणी भनिन्छ । त्यसदिन फेरि घरबाट व्रतालु महिलाका लागि खानेकुरादेखि लगाउने लुगासमेत पठाउने गर्छन् ।

मिथिलामा चाडपर्व र संस्कृतिको विशेष महत्व छ । ज्ञान र विद्याको रूपमा परिचित थलो मिथिलमा महिलाको उच्च स्थान रहदै आएको छ । नेपाल र भारतमा मनाइने मधुश्रावणी पूजालाई कतै हरियाली तीज, श्रावणी द्वितीया भन्ने चलन पनि छ ।

यस व्रतमा चढाइने बेलपात, मानको पात, धानको लावा, गाईको दूध, फलफूल, खिरलगायत अधिकांश परिकार प्रकृतिसँग जोडिएकाले यस पर्वले प्रकृतिको संरक्षण कसरी गर्नुपर्छ भन्ने पाठसमेत सिकाएको मानिन्छ । हिन्दू धर्मामलम्बिले गर्ने हरेक पूजामा पुरुष पुरोहितले पूजा गरेपनि यस पूजामा महिलाको मात्र सहभागिता रहने गरेकोले व्रतको आफ्नै महत्व र विशेषता रहेको मैथिलीका साहित्यकार राम भरोस कापडी बताउनुहुन्छ ।

महिलाले पूजा गर्ने, कथा भन्ने, गीत गाउने, फूल टिप्ने सबै महिला नै रहेकोले यस पर्वमा महिलालाई पुरूषभन्दा अग्र स्थानमा रहेको सन्देश दिएको साहित्यकार कापडीको धारणा छ । एक व्रतालु महेन्द्रनगर धनुषाकी ममता साहका अनुसार यस व्रतमा भनिने कथा र गीतले नवविवाहिता महिलाले आफ्नो वैवाहिक जीवनलाई कसरी सहजरूपले अगाडि बढाउने भन्ने सन्देश दिने गर्छ । यो हाम्रो संस्कृति भएको र विवाहको पहिलो वर्ष मात्र विधिवत् मनाउने भएकाले यसको आनन्द सबै नवविवाहिता महिलाले लिनुपर्ने उहाँको भनाइ छ ।

पूजा सामग्री

कपडा, शृङ्गारका सामान, पूजाका सामग्रीको व्यवस्था र पर्वनै तीन ९पूजा गर्ने नवविवाहिता० को भोजनका वस्तु पनि घरबाटै पठाउने चलन छ ।

मधुश्रावणी पर्वको पहिलो दिन तथा अन्तिम दिन विधिविधानसहित नवविवाहिता बधुहरूले पूजा र अनुष्ठान गर्दै देवी पार्वती ९गौरी०, सूर्य, चन्द्र, नवग्रह, नागको विधिवत पूजा गर्छन् । मधुश्रावणीको अन्तिम दिन अर्थात् श्रावण शुक्ल तृतीयाको दिन नवविवाहिता बधुको घरबाट पूजा सामग्रीका साथै पकवान र नवबस्त्र उपहार आउँछ, सोही पूजा सामग्रीबाट पूजा समापन गरिन्छ । पूजाको अन्त्यमा महिलालाई प्रसादस्वरूप गुलियो खान दिइने गरिन्छ । यस पर्वमा हरेक दिन पूजाको अघिल्लो दिन साँझपख फूल, पात आदि एकत्रित गरेर बाँसको डालामा सजाइने गरिन्छ ।

त्यही फूलपातले भगवान् भोलेनाथ, माता गौरी तथा नागवंश वा विषहारा पूजा–अर्चना गरिन्छ । भनिन्छ, माता विषहरा देवादिदेव शिवका पुत्री हुन्, त्यसैले १३ दिनसम्म शिव–पार्वतीको साथै माता विषहराको माटोको स्वरूपको पूजा गरिन्छ । शिव–पार्वतीको जीवन चरित्रको साथै माता विषहराको जन्म र मानव जीवनमा त्यसको महत्वको कथाको रूपमा सुनिन्छ ।

मधुश्रावणी पूजाका लागि चाहिने विशेष सामग्रीमा दुबो, काँचो बेसार, धनिया, सरवा, पानक पात, सुपारी, सिन्दूर गद्दी, लाल कपडा, माटोको पाँचवटा विषहारा, पाँचवटा मैना पात, पाँचवटा केराको पात, काजल, पिठार ९चामलको पिठोको घोल०, श्रीखण्ड चन्दन, पुरहैर, पातिल, धान, गाईको दूध, लाबा, फूल, नीमको पात, कागरी, आदि छन् ।
त्यसैगरी नैवेद्यका लागि चोखो चामल, चिउरा, चिनी, आँप, कटहर, केरा, अङ्कुरित चना वा मुग आवश्यक हुन्छ ।

बासी फूलले पूजा गर्ने परम्परा

यसपर्वमा मिथिलाका नवविवाहिताहरूले आफ्नो सौभाग्यको दीर्घायुका लागि बासी फूलले माता गौरी तथा विषहाराको पूजा गर्छन् । यस पर्वको अवधिमा मिथिलाका नवविवाहिता महिला पूजाको अघिल्लो दिन आफ्ना सखी–सहेलीसँगै पारम्परिक लोकगीत गाउँदै शृङ्गारसहित सजिएर फूलको बगैँचाबाट विभिन्न प्रकारका फूलपातीलाई बाँसको डालोमा सजाएर ल्याउँछन् । प्रत्येक दिन बिहान आफ्नो पतिको लामो आयुको कामना गर्दै त्यसै फूलपातले माता पार्वतीको साथै विषहाराको पूजा गर्ने गर्छन् ।

प्रत्येक दिन पूजापश्चात् महिला पुरोहितले मधुश्रावणी व्रतको कथा सुनाउँछन् । मधुश्रावणी व्रत कथामा प्रत्येक दिनको छुट्टाछुट्टै १३ वटा कथा छन् । पहिलो दिन मौना पञ्चमी र विषहराको जन्मको कथा, दोस्रो दिन बिहुला र मनसाको कथा, विषहरा र मङ्गला गौरीको कथा, तेस्रो दिन पृथ्वीको जन्म र समुद्र मन्थनको कथा, चौँथो दिन सतीको कथा र पतिव्रताको कथा, पाँचौँ दिन महादेवको पारिवारिक कथा सुनाइन्छ ।

यस्तै, छैटौँ दिन गङ्गाको कथा, गौरीको जन्म कथा, काम–दहन कथा, सातौँ दिन गौरीको तपस्या, आठौँ दिन गौरीको विवाह वर–तथा–बरियाती, नवौँ दिन मैनाको मोह, गौरीको विवाह, १०औँ दिन कात्तिकको जन्म कथा, गणेशको जन्म र गौरीको नागको कथा, ११औँ दिन सन्ध्याको विवाह र लीलीको जन्म कथा, लीलीको विवाह कथा, १२औँ दिन बाल–वसन्त र गोसाउनको कथा र १३औँ अर्थात् अन्तिम दिन श्रीकर राजाको कथा सुनाइन्छ ।

श्रावण महिना आएलगत्तै मिथिलाञ्चलमा लोक संस्कृतिले भरिएका मधुश्रावणीका गीतसमेत गुञ्जिन थालेको छ । यस पर्वमा माटोको मूर्ति, विषहर, गौर बनाइन्छ । नवविवाहिता महिला मधुश्रावणी अवधिमा चोखो भोजन ग्रहण गर्छन् । यस अवधिमा नवविवाहिता व्रत बसी श्री गणेश, माटो र गोबरबाट बनाइएका विषहरा एवं गौरी–शङ्करको विशेष पूजा गर्छन् । मधुश्रावणी व्रतको सुरु र अन्तिम दिनमा व्रतालुद्वारा समाज र परिवारका महिला सदस्यलाई अङ्कुरित चना, मुग प्रसादको रूपमा बाँड्ने परम्परा छ ।

व्रतालु महिला पूजाको समयमा गोसाउनको गीत तथा मधुश्रावणी पर्वसँग सम्बन्धित गीत गाउँछन् र साँझको समयमा कोहबर गीत तथा साँझ गीत गाउने परम्परा छ । पर्वको अन्तिम दिन टेमी दाग्ने ९नवविवाहित बधुको दुईवटै घुँडा र खुट्टामा बलिरहेको बातीले दाग्ने० परम्परा छ । जुन व्रतालुको दुइटै घुँडामा फोका उठ्छ, उसको पतिको आयु लामो हुने जनविश्वास छ ।

गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र विषधर नागलाई वंश समाप्त पार्ने प्रवृत्तिको जीव मानिएकाले यस पर्वमा गौरी तथा नाग–नागिनको विशेष पूजा आराधना गर्ने गरिएको संस्कृतिविद् बताउँछन् । गौरी दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र होइन, मनकामना पूर्ण गर्ने देवी पनि हुन् । मिथिलाकी राजकुमारी सीताद्वारा गौरी पूजन गरिएकाले भगवान् श्रीरामजस्ता पति पाइन् भन्ने धार्मिक विश्वास रहेको पाइन्छ ।

मधुश्रावणी पर्वमा कतिपय कथा शिव–पार्वतीको वैवाहिक, रोमाञ्चक प्रसङ्ग एवं ठट्यौली भरिएका कारण नारी जीवनमा पतिप्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पकी आमा विसहरा र उनको वंशका बारेमा चर्चित कथाले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वास छ । साउनमा जो कसैले नाग देवताको पूजा गर्छन्, उसलाई सर्पबाट भय हुँदैन भन्ने धार्मिक विश्वार रहेको पाइन्छ । यसै कारणले मधुश्रावणी पर्वमा विषहराको विशेष पूजा गरिन्छ । रासस