१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

बडिमालिका क्षेत्रको पर्यटकीय गुरुयोजना बनाउन माग

बडिमालिका क्षेत्रको पर्यटकीय गुरुयोजना बनाउन माग
अ अ+ अ-

मान्म । कालीकोटको र बाजुरा जिल्लाको बडिमालिका क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण क्षेत्र हो । बडिमालिका क्षेत्रसँग जोडिएको त्रिवेणी पाटन पनि पर्यटन क्षेत्रको दृष्टिले राम्रो सम्भावना रहेर पनि अहिलेसम्म यसको गुरुयोजना बन्न नसक्दा यी क्षेत्रहरुको विकाससँगै प्रतिफल लिन नसकिएको स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ ।

बर्खायाममा हरियाली फाँटका दृश्यले भू–स्वर्ग झैँ लाग्ने त्रिवेणी पाटन हिउँदमा हिउँले ढाकिएर झनै मनै लोभ्याउने गरेको छ । कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–८ को मुम्रा लेकमा पर्ने त्रिवेणी पाटन पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । यो कालीकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धार्मिक मन्दिरका कारणले पनि चर्चामा रहेको छ । समुद्र सतहबाट  चार हजार दुई सय १९ मिटर उचाइमा रहेको त्रिवेणी पाटन सौन्दर्यका दृष्टिले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ टेक्न पाइने र मनोरम प्राकृतिक दृश्यहरु त्रिवेणी पाटनका विशेषताहरु हुन् ।

त्रिवेणी पाटन घुम्नलाई वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ । नजिकै रहेको बडिमालिका मन्दिरमा साउन जनैपूर्णिमाको अघिल्लो दिन मेला लाग्ने गर्छ । मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाट पनि हजारौँ मानिस बडिमालिका पुग्ने गरेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताउनुभयो । त्रिवेणी पाटन आसपासमा रहेका २२ वटा पाटनमा सयौँ प्रजातिका फूल फुल्छन् । यो क्षेत्रका ३२ वटा पाटनमध्ये १२ वटा पाटन कालीकोट र २० वटा बाजुरामा पर्दछन् ।

त्रिवेणी पाटन क्षेत्रमा कस्तुरी, मृग, हिउँचितुवा, हिमालयन थार, हिमाली भालु, वन कुकुर, नायरलगायत वन्यजन्तु पाइन्छ । “यो क्षेत्र प्राकृतिक हिसाबले मात्र सुन्दर नभएर यहाँ पाइने जङ्गली जनवार पनि आकर्षणका केन्द्रविन्दु पनि हो,” अछाम रामारोशन गाउँपालिका–५ का स्थानीय डम्बर रोकाया भन्नुहुन्छ ।

कालीकोट, बाजुरा र अछाम जिल्लाका स्थानीयवासीको अछाम रामारोशन ताल, कालीकोटको त्रिवेणी पाटन र बाजुराको बडिमालिका क्षेत्रलाई जोडेर पर्यटकीय गुरुयोजना बनाउनुपर्ने स्थानीयको माग रहेको छ । अछामको रामारोशन तालबाट एक दिनको दूरीमा त्रिवेणी पाटन र बडिमालिका पर्ने भएकाले विगतमा अछाम, बाजुरा र कालीकोटका स्थानीय तहका जनप्रतिनिधि बसेर पर्यटकीय गुरुयोजनाका लागि केही छलफल भएको र त्यसले मूर्त रुप लिन नसकेको अछाम रामारोशन गाउँपालिकाका पूर्वअध्यक्ष झङ्कर साउदले बताउनुभयो । “विगतमा हामीले पर्यटकीय गुरुयोजना बनाउनका लागि यसको प्रचारप्रसार गर्नका लागि कालीकोट, अछाम र बाजुराका स्थानीय तहका जनप्रतिनिधि बसेर छलफल गरेका थियौँ”, उहाँले भन्नुभयो, “त्यसले खासै मूर्त रुप लिन सकेन । अहिले त्यसका लागि पहल गर्न आवश्यक रहेको छ ।”

बडिमालिका क्षेत्रको इलाका ठूलो रहेको छ । यसले बाजुराको क्षेत्रको बढी भू–भाग ओगटेको, यसले कालीकोट र अछाममा केही भाग पनि नजिकै पर्दछन् । कालीकोट र अछामका ती भागमा रामारोशन ताल र त्रिवेणी पाटन पनि पर्ने गरेका कारणले विगतमा यस क्षेत्रको पर्यटकीय विकासमा ध्यान दिन सकेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने व्यवसायीहरुको भनाइ छ ।

बडिमालिका, त्रिवेणी पाटन र रामारोशन क्षेत्र घना जङ्गल भएको क्षेत्र भएकाले यो क्षेत्रमा ४५ भन्दा बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडीबुटी पाइने गरेको छ । पाँचऔँले, सुनपाती, चिराइतो, पाखनवेद, काउलो, चुत्रो, पावन काउलो रातो च्याउ, अल्लो, कटुकी, सुगन्धवाल, चिराइतो, कुरिलो, गुच्ची च्याउ, पदमचाल जस्ता जडीबुटी पाउने क्षेत्र हो । विषजरा, मधुजडी, धुपजडी, वनलसुन, बायोजडी, निनाइजडी, भूतकेश जटामसीलगायत दर्जनौँ प्रजातिका जडीबुटी अहिले लोप हुने अवस्थामा पुगेको कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–८ का दलबहादुर केसीले बताउनुभयो ।

यस क्षेत्रमा ब्रह्मकमल, बुकी फूल, जाई, जुई चमेली, सुन जाई, इन्द्रकमल, सेतो गुराँस, चाँप, चिमालोलगायत एक सयभन्दा बढी प्रजातिका दुर्लभ फूलहरु पाइन्छन् । अहिले बर्खायाममा विभिन्न जिल्लाबाट चराउनका लागि ल्याइएका भेडा, च्याङ्ग्रा र घोडाहरु वैशाखदेखि असोजसम्म यहाँ छाडा रुपमा चराउने चलन छ । ठूलो सङ्ख्या भेडा, च्याङ्ग्रा र घोडाहरुले लामो समय चरिचरन गर्दा पनि यहाँको जैविकता लोप हुने अवस्थामा रहेको देखिन्छ ।

बडिमालिका क्षेत्र बाजुराको त्रिवेणी नगरपालिका, बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिकामा, कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिका पर्दछ । अछामको रामारोशन गाउँपालिकाको बीचमा पर्दछ । बडिमालिका धार्मिक तथा पर्यटकीय दुवै दृष्टिबाट चर्चित गन्तव्य, पाँच महिना हिउँ र चार महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार हो । बडिमालिका क्षेत्रबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै जिल्लाको अवलोकन गर्न सकिन्छ ।

बडिमालिकामा पर्ने पाटन क्षेत्रको कूल क्षेत्रफल कति छ भन्ने कुराको आधिकारिक मापन नभएकाले यो क्षेत्रफल कति पर्छ भन्ने अहिलेसम्म पनि मापन नभएको कालीकोट रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताउनुभयो । “यसको क्षेत्रफल कति भन्ने अहिलेसम्म मापन हुन सकेको छैन,” उहाँले भन्नुभयो, “क्षेत्रफल मापनका लागि हामीले पहल गरिरहेका छौँ ।” कर्णाली र सुदूरपश्चिम प्रदेशले बडिमालिका आफ्नो क्षेत्रमा पर्ने भन्दै पर्यटन प्रवद्र्धनका लागि बर्सेनि ठूलो रकम लगानी गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

बाजुरा जिल्लामा रहेको धार्मिक आस्थाको केन्द्र बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना छ । धार्मिक आस्थाको केन्द्र बडिमालिकामा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन विशेष पूजा हुने गर्दछ । त्यस दिन सबै तीर्थालुहरु बडिमालिकाको चुचुरोमा पुगिसकेका हुन्छन् ।

वर्षको दुईपटक गङ्गा दशहरा र जनैपूर्णिमाको अघिल्लो दिन साउने चतुदर्शीका दिन भव्य मेला लाग्ने गरेको छ । गङ्गा दशहराभन्दा साउने चुतदर्शीका दिन दर्शनार्थीको घुइँचो बढी हुने गरेको कालीकोट नरहरिनाथ गाउँपालिकाका–१ का कटकबहादुर विष्टले बताउनुभयो । मालिका देवीको स्वागतका लागि बाजुरालगायत कालीकोट, डोटी, हुम्ला र जुम्ला जिल्लाबाट सयुक्त टाँगो ९पूजापाठमा आवश्यक पर्ने सामग्री० सहितको टोली आउने गरेको छ । बडिमालिका दर्शनका लागि तत्कालीन शाह राजाको दरबारबाट पनि पूजाआजाको सामग्री पुग्ने गरेको छ ।

त्रिवेणी पाटनमा हिउँमा खेलिने स्की खेलका लागि उपयुक्त क्षेत्रका रुपमा रहेको छ । नेपालमा कमै खेलिने स्की खेलका लागि कालीकोटको रास्कोट नगरपालिकाको छेत्तडी र सान्नी त्रिवेणी गाउँपालिकाको त्रिवेणी पाटन स्की खेलका लागि उपयुक्त क्षेत्रका रुपमा रहेको छ । कर्णालीलाई साहसिक खेल पर्यटनको गन्तव्यका रुपमा विकास र स्की खेलाडी उत्पादन गर्ने उद्देश्यले स्कीसम्बन्धी गत फागुन २८ देखि चैत ४ गतेसम्म स्की खेलको तालिमको आयोजना भएको थियो ।

स्कीसम्बन्धी आधारभूत तालिमले कर्णालीको साहसिक खेल पर्यटनमा टेवा पुग्ने पर्यटन व्यवसायी तथा कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायाले बताउनुभयो । “कर्णालीका प्राय: सबै ठाउँमा स्की खेलका लागि उपयुक्त क्षेत्र नै रहेका छन्”, उहाँले भन्नुभयो, “त्यसका लागि सबैभन्दा उपयुक्त ठाउँ बडिमालिका क्षेत्रभित्र पर्ने कालीकोटको रास्कोटमा पर्ने छेत्तडी र सान्नी त्रिवेणीको त्रिवेणी पाटन उपयुक्त रहेका छन् ।”

कर्णालीको साहसिक पर्यटनका क्षेत्रमा स्की खेल पनि एउटा रहेको र स्की खेलका लागि आफूहरुले पहिलोपटक रास्कोट छेत्तडीमा स्की खेलको तालिम सञ्चालन गरेको स्की सङ्घ कर्णाली प्रदेशका सचिव सह–सचिव मनराज सिम्खडाले बताउनुभयो । दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेलको विकास गर्दै पर्यटनसँग जोड्न सहयोग पुग्ने उहाँको भनाइ छ । रासस