२५ जेष्ठ २०८३, सोमबार
,
Latest
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराईका चरा पहाड उक्लन थाले- चराविद्



अ+ अ-

काठमाडौँ। तराईका चरा पहाड उक्लन थालेका छन् । झण्डै एक दर्जनभन्दा बढी नयाँ चरा काठमाडौँमा देखिएको चराविद्ले जनाएका हुन् । जाडो बढ्दै गएको यो समयमा काठमाडौँ उपत्यकाको मनोहरा क्षेत्रमा तराईका चराको चाप बढ्दै गएको चराविद् डा. हेमसागर बरालले बताउनुभयो । मनोहरा खोलालाई अहिले मिनी कोसीटप्पु भनेर चराविद्समेत त्यहाँ धाउन थालेका छन् । उहाँका अनुसार समुद्री सतहदेखि तीन सय मिटरभन्दा तलै पाइने चस्मे भारद्वाज चरा एक हजार मिटरको उकालो तय गर्दै दुई दिनअघि मात्र मनोहरा खोलामा आएको छ । “गर्मीको मौसममा आएको भए पनि थोरै चिसो खान आयो भन्नु तर जाडोको समयमा काठमाडौँमा यसरी चस्मे भारद्वाज आउनु अचम्म नै हो”, डा. बरालले भन्नुभयो ।

यो मात्र हैन केही दिनअघि तराईकै नरकट घाँसे चरी मनोहरा घुम्न आइपुगेको थियो । तराईमा पाइने नरकटका घाँसमा रमाउने त्यो चरा काठमाडौँ आउनुले पनि चरा उकालो चढ्न थालेको पुष्टि हुन्छ । यसैगरी तराईकै चुइयाँ चराका विभिन्न प्रजाति पनि यसै वर्ष उपत्यका भित्रिइसकेका छन् । पानी चुइयाँ चराले मनोहरा खोलामा पौडी खेलेको छ । सन् १९९२ ताका पहिलोपल्ट काठमाडौँ उक्लेको लालकण्ठे चुइयाँ चराले दोहोर्याएर यसपालि उपत्यका आएको छ । मालक र सुनजुरे चरा पनि दोहोर्याएर उपत्यका भित्रेका छन् । अहिले चराको स्वर्ग मानिने कोसी टप्पु, कपिलवस्तु र चितवनभन्दा पनि काठमाडौँ उपत्यकामा चराको आवतजावत बढेको छ । पहिले कहिल्यै नआएका चरा पनि काठमाडौँमा रेकर्ड भएका छन् ।

तराईको बाज रातो टाउके पौडाइ र सेता थोप्ला हुने सुन्दर कालो सारौँ पनि काठमाडौँ आइपुगेको छ । भक्तपुरको बोडे गाउँबाट तल झरेपछि आउने मनोहरा फाँट अहिले फिरन्ते चराको मुख्य आकर्षण बनेको छ । सुन्दर चरा आउन थालेपछि स्थानीय चराको फोटो खिच्न र चरा हेर्नकै लागि उहाँ जम्मा हुन थालेका छन् । विगत चार वर्षदेखि मनोहरा खोलामा चरा हेर्न थालेका फोटोग्राफर सञ्जय श्रेष्ठले यसअघि कहिल्यै नदेखिएका चरा मनोहरा खोलामा देखिन थालेको बताउनुभयो ।

“कति राम्राराम्रा चरा आउँछन्, हेर्न र फोटोमा कैद गर्न हरेक दिन मनोहरा पुग्छु”, उहाँले सुनाउनुभयो । श्रेष्ठका अनुसार नेपालका तराई भेगसँगै साइबेरिया र रुसबाट पनि यहाँ फिरुन्ते चरा आउने गरेका छन् । चराविद् बरालका अनुसार कोभिड सङ्क्रमणका कारण मानिसको जमघट उपत्यकामा कम हुँदा पर्यावरणमा परेको सकारात्मक प्रभावले यसरी उपत्यकामा चरा आउन थालेको हो । जलवायु परिवर्तनको असरले काठमाडौँको तापक्रम जाडोमा पनि तातो हुन थालेकाले पनि तराईका चरा आउनसक्ने वातावरण सिर्जना भएको उहाँको ठम्याइ छ । खोला तथा सिमसार छेउमा काँसघारी बन्नु र माथितिर सल्लाको वन हुनाले पनि चराको आकर्षण यस क्षेत्रमा बढेको अनुमान उहाँ गर्नुहुन्छ । काठमाडौँको मनोहरा फाँटको एक हजार मिटर आसपासमै अहिले धेरै सुन्दर चरा देखिने स्थान बनेको छ । गोरखापत्र दैनिक