एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शीर्ष स्थानको रियल मड्रिड इल्चेसँग बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर रियलले बराबरी खेलेको हो ।
खेलको ३३ औं मिनेटमा करिम बेन्जेमाले पेनाल्टी गोल गर्न नसक्दा रियल अग्रता बनाउन चुकेको थियो । उनले बललाई बाहिर प्रहार गरे ।
यता, खेलको ४२ औं मिनेटमा लुकास बोएले गोल गर्दै इल्चेलाई १-० को अग्रता दिलाए ।
खेलको ७६ औं मिनेटमा पेरे मिल्लाले गोल गर्दै इल्चेलाई २-० को अग्रता दिलाए ।
खेलको ८२ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीको मौकालाई खेर जान दिएनन् । उनले गोल गर्दै रियललाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा इडर मिलिसाओले गोल गर्दै रियललाई २-२ को बराबरीमा ल्याउँदै हारबाट जोगाए ।
बराबरीसँगै रियलले २२ खेलमा ५० अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ ।
इल्चे २२ खेलबाट २३ अंकसहित १५ औं स्थानमा रहेको छ ।











