• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता



काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल—अमेरिका सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा मन्त्री खड्काले नेपाल–अमेरिकाबीचको ७७ वर्ष लामो सम्बन्धलाई थप प्रगाढ बनाएर अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले ऊर्जा क्षेत्र नेपालको आर्थिक विकासको सबैभन्दा ठूलो क्षेत्र भएकाले यसलाई अगाडि बढाउन अमेरिकाको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । “युएसएआईडीमार्फत अमेरिकाले नेपालको विकासमा ठूलो सहयोग गरेको छ, आगामी दिनमा पनि यस्तो सहयोग हुने विश्वास लिएको छु”, मन्त्री खड्काले भन्नुभयो । ऊर्जा क्षेत्रको विकासमा भएका कानुनी झन्झटलाई हटाएर सरकार अगाडि बढ्ने उहाँको भनाइ थियो ।

भेटमा अमेरिकन राजदूत थम्पसनले नेपालको आर्थिक र सामाजिक विकासका लागि अमेरिका सधैँ सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस