• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

भाषण भन्दा धेरै काम गरेर देखाउनुपर्नेछ: उपप्रधानमन्त्री सिंह



काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकका निराशा चिर्न सरकारले काम गरेर देखाउनुपर्ने समय आएको बताउनुभएको छ ।

काठमाडौंमा सोमवार नेपाल फ्रेट फरवार्डरस एशोसिएशनको आयोजनामा भएको ३० औं कार्गो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको सरकारले धेरै भाषण गर्ने भन्दा काम गरेर देखाउने प्रतिवद्धता जनाउनु भयो । सोही अनुसार मौद्रिक नीति आएको पनि उहाँको भनाइ छ । वर्तमान मौद्रिक नीति व्यवसाय गर्न सहजता प्रदान गर्नेगरी आएको बताउनु भयो । उहाँले ऐन, कानूनको कार्यान्वनय नहुँदा र व्यवस्थित गर्न नसक्दा भोग्नुपरेका समस्या समाधानका लागि सरकारलाई दबाब दिइरहन पनि आग्रह गर्नुभयो । उहाँले सरकारलाई दबाब र सुझाव दिएमात्रै कामहरु छिटो छरितो र व्यवस्थित हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईंहरले काम गर्दाखेरी जुन नीतिगत तवरमा समस्या भोगिरहनुभएको छ, त्यसको लागि अलि खुकुलो पार्ने, व्यवस्थित गर्ने र सरलीकृत गर्ने भुमिका निर्वाह गर्नेछु । काम गर्दैगर्दा तपाईंहरुले भोग्दै आउनुभएका समस्यालाई सरकारलाई बारम्बार घच्घच्याइरहनु पर्छ । एउटा कार्यक्रममा भन्यो, त्यसपछि भइहाल्छ की भनेर बस्नुभयो भने त्यसमा गम्भीर्यता हुँदैन । यसमा तपाईहरुले समय समयमा घच्घच्याइरहनु पर्छ । सरकारले त्यसमा अलिकति सरलीकृत गरेको खण्डमा तपाईंहरुको काममा सहजता आउँछ । अहिलेको सरकारले अहिलेको अर्थतन्त्रलाई अलि अघि बढाउने, जीवन्तता ल्याउनका लागि सरकारले भाषणहरु भन्दा पनि कामबाट देखिरहनुभएको छ । मौद्रिक नीति जुन ल्याएको छ, व्यापार गर्न सहज होस् भनेर सरकारले ल्याएको हो । त्यसलाई पनि त सबैले स्वीकार गर्नुपर्छ नि । लामो र धेरै कुरा गर्नु भन्दा पनि हामीले काम गरेर देखाउनुपर्नेछ ।’

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहले समस्या परेका ठाउँलाई सहज र नीतिगत रुपमा कार्यान्वयन गर्न आफूले सक्ने सहयोग गर्ने पनि बताउनु भयो ।