१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

धादिङमा सवारी दुर्घटना कमी

धादिङमा सवारी दुर्घटना कमी
अ अ+ अ-

मलेखु । पाँच वर्ष पहिलेका तुलनामा धादिङमा सवारी दुर्घटनाको सङ्ख्या ५७ प्रतिशतले घटेको छ । पृथ्वीराजमार्गसहित ग्रामीण सडकहरूमा गुड्ने सवारीको चाप दिनप्रतिदिन बढ्ने क्रममा रहे पनि दुर्घटनाको सङ्ख्यामा भने कमी आएको हो ।

आर्थिक वर्ष २०७६/७७ मा एक वर्षमा चार सय ५८ दुर्घटना भएकामा गत आव २०८०/८१ मा एक सय ९८ मात्र दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङको तथ्याङ्कमा देखिएको छ ।

तथ्याङ्कानुसार पाँच वर्ष पहिलेको दुर्घटना सङ्ख्याको तुलनामा गत आबमा करिब ५७ प्रतिशतले कमी आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । आव २०७६/७७ मा २७ दुर्घटनाको मुद्दा दर्ता भएको र चार सय ३१ दुर्घटना मिलापत्रबाट टुङ्ग्याइएको तथ्याङ्कले देखाए पनि मृतक र घाइतेको सङ्ख्या प्रहरीसँग छैन । आव २०७७/७८ मा भन्दा गत आव मा मृत्यु हुनेको सङ्ख्या पनि २५ प्रतिशतले कमी आएको देखिएको छ । पछिल्लो दुई वर्षमा भने मृत्यु हुनेको सङ्ख्या उस्तै छ । आव २०७७/७८ मा ५९, २०७८/७९ मा ७९, २०७९/८० मा ४३ र २०८०/८१ मा ४४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

दुर्घटनामा संलग्न ठूला तथा मझौला सवारीको सङ्ख्यामा पनि कमी आएको छ । तर दुर्घटनामा संलग्न हुने साना सवारीको सङ्ख्या भने पाँच वर्षयताको तुलनामा खासै घटेको छैन । आव २०७६/७७ मा तीन सय ३७ वटा ठूला सवारी, एक सय ८३ मझौला सवारी र दुई सय २८ साना सवारी दुर्घटनामा संलग्न भएकामा गत आव २०८०/८१ मा ८५ वटा ठूला सवारी, ७५ वटा मझौला सवारी र दुई सय १७ वटा साना सवारी दुर्घटनामा भएको छ । ठूला सवारीको दाँजोमा साना सवारी तीव्रगतिमा हुइकिने र बढी दुर्घटनामा पर्ने गरेको प्रहरीको भनाइ छ ।

तथ्याङ्कानुसार पछिल्लो एक वर्षमा दुर्घटनामा परेर जिल्लामा पुरुष ३५, महिला तीन र बालबालिका छ गरी ४४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार सय ३६ जना घाइते भएका छन् । मृत्यु हुने र घाइते हुने दुवैमा पुरुषको सङ्ख्या बढी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।

आव २०७७/७८ देखि चार वर्षमा भएको एक हजार चार सय एक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या दुई सय २५ जना पुगेको छ । ती दुर्घटनाबाट दुई हजार पाँच सय सातजना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख, प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठका अनुसार सवारीसाधनको चाप दिनानुदिन बढ्दो क्रममा रहे पनि सडक सुरक्षामा प्रहरीको सक्रियता बढेकै कारण दुर्घटनाको सङ्ख्यामा उल्लेख्य रूपले कमी आएको हो ।

“पछिल्ला वर्षहरूमा सवारीसाधनको चाप अद्यावधिक बढेको छ तर दुर्घटना सङ्ख्या घटेको छ । यसलाई हामीले उपलब्धिका रूपमा लिएका छौँ”, प्रहरी निरीक्षक श्रेष्ठ भन्नुहुन्छ, “सवारीको चाप बढेसँगै बढ्न सक्ने सम्भावित दुर्घटनालाई कम गराउन सक्नु ट्राफिक प्रहरीसहित तीनै तहका प्रहरीको उपलब्धि हो ।”

जिल्लामा गत फागुन २३ गते गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको यात्रुबस दुर्घटनामा १२ र भदौ ६ गते गजुरीकै घहरामा भएको यात्रु बस दुर्घटनामा नौजना गरी दुई दुर्घटनामा मात्रै २१ जनाको मृत्यु थियो । यो नै मानवीय क्षति बढी भएको गत वर्षको सबैभन्दा ठूला दुर्घटना हुन् । रासस